न्यूयोर्कको अदालतले राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई २०१६ को राष्ट्रपतीय निर्वाचनका क्रममा हश मनी सम्बन्धी ३४ फौजदारी मुद्दामा दोषी ठहर गरेको छ। डोनाल्ड ट्रम्पले २०१६ को राष्ट्रपतीय निर्वाचनमा चुप लगाउन वयस्क चलचित्रकी कलाकारलाई दिएको रकम सम्बन्धको फोजदारी मुद्वामा दोषी ठहर गरिएको हो। ट्रम्पलाई दोषी ठहर गरेतापनि अदालतले अनकन्डिसनल डिस्चार्ज (बिना शर्त रिहाई) को आदेश सुनाइएको छ ।
न्यायाधीश जुआन मर्चानले ट्रम्पलाई “अनकन्डिसनल डिस्चार्ज” को सजाय दिएका हुन। यसको अर्थ, ट्रम्प जेल जानु पर्ने छैन र कुनै जरिवाना समेत सामना गर्नु पर्ने छैन, तर उनी अब दोषी फौजदारी अभियुक्तको हैसियतमा रहने भएका छन।
ट्रम्पको कानूनी टोलीले सजायलाई स्थगित गर्न विभिन्न अपीलहरू गरे पनि अदालतले यो प्रक्रिया निर्धारित समयमा सम्पन्न गरेको थियो।
न्यायाधीश मर्चानले जूरीको निर्णयलाई सम्मान गर्नुपर्ने बताए, तर राष्ट्रपतिको हैसियतमा सजाय तोक्नुको जटिलता पनि स्वीकार गरे।
ट्रम्पले आफू कुनै गलत कार्यमा संलग्न नरहेको भन्दै सम्पूर्ण प्रक्रिया राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेका छन्। उनका वकिलहरूले यस फैसलाविरुद्ध पुनरावेदन गर्ने योजना बनाएको बताएका छन्।
राज्य मुद्दाहरूमा राष्ट्रपतिले क्षमादान दिन सक्ने अधिकार लागू नहुने हुँदा यो विषयमा न्यूयोर्कका गभर्नरले मात्र क्षमादान दिने अधिकार राख्छन्।
यो घटना कुनै पनि अमेरिकी राष्ट्रपति निर्वाचित भएका व्यक्तिलाई फौजदारी मुद्वामा दोषी ठहर गरिएको पहिलो घटना हो, जसले ट्रम्पका कानूनी चुनौतीहरूको सूचीमा नयाँ अध्याय थपेको छ।
हश मनी भनेको के हो? डोनाल्ड ट्रम्पको सम्बन्धमा यसले के अर्थ राख्छ?
हश मनी भन्नाले कसैलाई चुप गराउन वा गोपनीयता कायम राख्नका लागि दिइने पैसा हो। यो पैसा प्रायः विवादास्पद वा गोप्य जानकारी सार्वजनिक हुन नदिन व्यक्तिलाई तिर्ने गरिन्छ। हश मनी सामान्यतया कुनै कानूनी सम्झौताका रूपमा दिइन्छ, तर यसको उद्देश्य कानूनी, सामाजिक, वा नैतिक रूपमा विवादास्पद हुन सक्छ।
डोनाल्ड ट्रम्पको सम्बन्धमा हश मनीको विवाद सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अघिको घटनासँग जोडिएको छ। उनले आफ्नो पूर्व वकिल माइकल कोहेनमार्फत दुई महिलालाई उनीहरूसँगका कथित अफेयरलाई सार्वजनिक नगर्ने सहमतिमा हश मनी तिरेको आरोप थियो। ती महिलाहरूमा वयस्क फिल्म अभिनेत्री स्टोर्मी ड्यानियल्स र पूर्व प्लेब्वाय मोडल करेन म्याकडुगल रहेका थिए।
ट्रम्पको कानूनी समस्या
यी हश मनी भुक्तानीहरू डोनाल्ड ट्रम्पको व्यापार र क्याम्पेन खाताहरूबाट गरिएको आरोप थियो। यी भुक्तानीलाई व्यापार रेकर्डहरूमा गलत रूपमा देखाइएको थियो। यसरी व्यापार रेकर्डहरूमा हेरफेर गर्नु न्यूयोर्क राज्यको कानूनअनुसार फौजदारी अपराध मानिन्छ।ट्रम्पमाथि लगाइएको आरोप अनुसार, उनले ३४ वटा फौजदारी अपराध गरेका थिए।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया