काठमाडौं — तिनकुनेमा चैत १५ गते (मार्च २८) भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य अभियुक्त मानिएका दुर्गा प्रसाई र उनका अंगरक्षक दीपक खड्कालाई नेपाल प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको छ।
प्रसाई र खड्का भारतको आसाम हुँदै झापाको भद्रपुरमा पक्राउ परेका हुन्। दुबैजनालाई बुद्ध एयरको विमानमार्फत भद्रपुरबाट शुक्रबार बिहान राजधानी ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौं लगिएको थियो भने पछि भद्रकालीस्थित प्रहरी हिरासतमा राखिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले दुर्गा प्रसाई र दीपक खड्कालाई भद्रपुरबाट पक्राउ गरिएको पुष्टि गरेका छन्। भारतसँग नेपालबीच प्रत्यर्पण सन्धि नभएकाले भारतीय सुरक्षाकर्मीले उनलाई काकडभिट्टा नाकाभन्दा कम निगरानी हुने गल्गलिया–भद्रपुर नाका हुँदै नेपाल प्रहरीले जिम्मा लिएको बताइएको छ।
प्रसाईलाई भद्रपुरस्थित जिल्ला प्रहरी कार्यालयमा केही समय राखिएको थियो र त्यसपछि बिहान ११ बजे काठमाडौं ल्याइएको हो। प्रसाईले आफैले गिरफ्तारी दिएको बताएका छन ।
प्रसाई र खड्काविरुद्ध राज्यविरुद्धको अपराध अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर कम्तीमा १२ दिनको म्याद थपको माग गरेको छ। सरकारी वकिलको कार्यालयमा आवश्यक कागजपत्र तयारीपश्चात उनीहरूलाई पुनः अदालतमा पेश गरिने छ।
चैत १५ गते तिनकुनेमा भएको प्रदर्शनमा दुर्गा प्रसाई र नवराज सुवेदीको नेतृत्व रहेको थियो। सो घटनामा दुई जनाको ज्यान गएको थियो भने झण्डै ४६ करोड ६० लाख रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा क्षति पुगेको प्रहरीको दाबी छ।
प्रहरी स्रोतका अनुसार प्रसाईमाथि सार्वजनिक सुरक्षामा गम्भीर क्षति पुर्याउने, हिंसा भड्काउने, ज्यान मार्ने प्रयासलगायत मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। उनीहरूलाई कडा कानुनी कारवाही गर्ने तयारी गरिएको छ।
यसअघि पनि यस्ता आरोपमा केही राजनीतिज्ञहरू—रविन्द्र मिश्र र धवल शमशेर राणा—विरुद्ध अनुसन्धान भएको थियो। प्रसाई भने प्रदर्शनपछि फरार रहँदै आएका थिए।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया