काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ। पछिल्ला केही दिनयता लगातार बढिरहेको सुनको मूल्य शुक्रबार एकैदिन तोलामा ३ हजार ९ सय रुपैयाँले वृद्धि भई ऐतिहासिक विन्दुमा पुगेको हो।
हाल तोलाको छापावाला सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनको १ लाख ८१ हजार १ सय रुपैयाँभन्दा धेरै हो। यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। अघिल्लो दिन १ हजार ९ सय रुपैयाँमा रहेको चाँदी शुक्रबार तोलामा ५ रुपैयाँले बढेर १ हजार ९ सय ५ रुपैयाँ पुगेको छ।
सुनचाँदीको मूल्यवृद्धिको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिलाई मानिएको छ। विश्लेषकहरूका अनुसार, विश्व बजारमा आर्थिक अनिश्चितता र लगानीकर्ताको ध्यान बहुमूल्य धातुतर्फ मोडिँदा यसको असर नेपाली बजारमा पनि परेको हो।
बढ्दो मूल्यले सुनचाँदी व्यवसायीहरूमा उत्साह देखिए पनि उपभोक्ताहरू भने दैनिक उपभोग्य गरगहनाको खरिदमा प्रभावित हुन थालेका छन्।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया