टोरन्टो, क्यानडा – मिनियापोलिसबाट टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आएको डेल्टा एयरलाइन्सको एउटा विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर उल्टो पल्टिएको छ। सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरहरूमा उक्त विमान हिउँले ढाकिएको रनवेमा पल्टिएको देखिन्छ।
डेल्टा फ्लाइट ४८१९, जुन एन्डेभर एयरद्वारा सञ्चालित बम्बार्डियर CRJ900 हो, स्थानीय समयअनुसार बिहान ११:४७ बजे टोरन्टो पियरसनमा अवतरण गरेको थियो। विमान दुर्घटना भएपछि तत्काल उद्धार टोली परिचालित गरिएको थियो, र सबै यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित रूपमा बाहिर निकालिएको विमानस्थल प्रशासनले पुष्टि गरेको छ।
“टोरन्टो पियरसन विमानस्थल मिनियापोलिसबाट आएको डेल्टा एयरलाइन्सको विमान अवतरणका क्रममा भएको घटनाबारे अवगत छ। उद्धार टोली घटनास्थलमा खटिएको छ। सबै यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित छन्,” विमानस्थलले X (पूर्व ट्विटर) मा पोस्ट गरेको छ।
स्थानीय रिपोर्टहरू अनुसार कम्तीमा ८ जना घाइते भएका छन्, तर उनीहरूको अवस्था हालसम्म स्पष्ट भएको छैन।
यस घटनाको कारणबारे आधिकारिक पुष्टि नभए पनि खराब मौसम तथा हिउँ परिरहेको अवस्थाले दुर्घटनामा भूमिका खेलेको हुनसक्ने अनुमान गरिएको छ। विमानस्थल तथा विमानन सुरक्षा अधिकारीहरूले विस्तृत अनुसन्धान गरिरहेका छन्।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया