रोमन क्याथोलिक चर्चका २६६औँ धर्मगुरु पोप फ्रान्सिसको ईस्टर सोमबारको बिहान ७:३५ बजे भ्याटिकन सिटीको कासा सांता मार्तामा निधन भएको छ। उनी ८८ वर्षका थिए। पोपको निधनबारे ९:४५ बजे कार्डिनल केभिन फ्यारेलले आधिकारिक घोषणा गरेका थिए।
“प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, अत्यन्त दुःखका साथ म हाम्रो पवित्र धर्मगुरु फ्रान्सिसको निधन भएको घोषणा गर्दछु। आज बिहान ७:३५ बजे रोमका धर्मगुरु, फ्रान्सिस, परमपिताको घरमा फर्कनुभयो,” कार्डिनल फ्यारेलले आधिकारिक घोषणा गरेको Vatican News ले जनाएको छ।
पोप फ्रान्सिस फेब्रुअरी १४, २०२५ मा केही दिनदेखि ब्रोंकाइटिसको समस्याबाट पीडित भएपछि रोमस्थित अगोस्टिनो जेमेली अस्पतालमा भर्ना भएका थिए। फेब्रुअरी १८ मा चिकित्सकहरूले उनलाई फोक्सोमा निमोनिया (bilateral pneumonia) भएको पुष्टि गरेका थिए। ३८ दिन अस्पतालमा बसेपछि उनी आफ्नो वासस्थान कासा सांता मार्तामा फर्किएर त्यहीँ उपचाररत रहँदा निधन भएको थियो।
पोप फ्रान्सिसको जन्म डिसेम्बर १७, १९३६ मा अर्जेन्टिनाको ब्यूनस आयर्समा भएको थियो। उनी जर्ज मारियो बेर्गोलियोका रूपमा जन्मिएका थिए। सन् २०१३ मार्च १३ मा पोप बेनेडिक्ट १६औँ को राजीनामापछि पोप पदमा चयन भएका थिए। उनी पहिलो जेस्विट पोप, पहिलो ल्याटिन अमेरिकी पोप, र १२०० वर्षपछि युरोपबाहिरबाट चयन हुने पहिलो पोप थिए।
१२ वर्षे आफ्नो पोप पदको कार्यकालमा फ्रान्सिसले चर्चको छविमा महत्वपूर्ण परिवर्तन ल्याए। उनले गरिब, उत्पीडित र सीमामा परेका समुदायको पक्षमा आवाज उठाए, जलवायु परिवर्तनविरुद्ध बोल्दै Laudato Si’ नामक धर्मशिक्षात्मक दस्तावेज जारी गरे, र धर्महरूबीच संवाद तथा सहिष्णुताको अभ्यासलाई प्रोत्साहन गरे।
उनी आफ्नो सादगीपूर्ण जीवनशैलीका लागि परिचित थिए। पोप पदमा रहे पनि उनले पारम्परिक एपोस्टोलिक महलमा नबसी सादा गेस्टहाउसमा बस्न रुचाए। उनले क्याथोलिक शिक्षा प्रणालीमा दया, सहिष्णुता र सेवालाई केन्द्रमा राखे।
उनको कार्यकालमा चर्च सुधारका प्रयास, यौन दुर्व्यवहार मुद्दामा हस्तक्षेप, आप्रवासी र शरणार्थीको संरक्षण जस्ता विषयहरूमा ध्यान दिइएको थियो। साथै, उनले युद्ध, आर्थिक विषमता र वातावरणीय विनाशको कडा आलोचना गरे।
उनको अन्त्येष्टि र आगामी पोप चयन प्रक्रिया (कन्क्लेभ) सम्बन्धी विवरण भ्याटिकनले केही दिनभित्र सार्वजनिक गर्नेछ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया