(यो सामाग्रीका लेखक नारायण गाउलेज्यूको अनुमतीबाट प्रकाशन गरिएको छ।)
हेर्दै कलात्मक र भव्य देखिने यो संरचना पशुपतिस्थित धर्मशालाको हो जुन हाम्रो आग्रहमा भारतले बनाइदिएको रहेछ । काठमाडौंमा लग्जरी होटलको कमी भयो, एउटा बनाइदिनुस् भनेर यो मागिएको थिएन । विश्वभरका हिन्दुको आस्था-केन्द्र रहेको पशुपतिमा एउटा पनि गतिलो धर्मशाला हामीले बनाउन नसकेपछि सहयोग मागिएको थियो । माग्ने बेला कसरी तीर्थयात्रीलाई होटलभन्दा धर्मशालाले सात्विक र सहजतापूर्वक सुलभ बास दिन्छ भनेर मिठो निबन्ध नै लेखिएको थियो । होटलमा क्यासिनोदेखि माछामासुसम्म पाक्ने हुनाले किन तीर्थयात्रीहरू सकेसम्म होटलमा बास बस्न रुचाउन्नन् भनेर सानोतिनो अध्ययन-रिपोर्ट नै त्यसमा हुँदो हो।
तर दुर्भाग्य के भने हामीसँग धर्मशाला मात्र नभएको होइन, धर्मशालाको अर्थ र यसलाई चलाउने ज्ञान र योजना केही पनि रहेनछ ! जब यो बन्यो र हस्तान्तरण भयो, हामी आत्तियौं । यस्तो सफासुघ्घर र शानदार संरचनामा ‘नाथे’ तीर्थयात्रीलाई मात्रै राख्ने कुरो भएन। धर्मशाला भनेर मागेको संरचनामा तात्तातै पार्टीको अफिस खोल्ने कुरो पनि भएन । समग्र पशुपति क्षेत्रको विकास र सम्बर्धन गर्न खोलिएको समितिसँग एउटा धर्मशाला बनाउने होइन, चलाउन सक्नेसम्म योजना र खुबी पनि रहेनछ । जबकि भारतका सबैजसो मुख्य तीर्थ र धार्मिक क्षेत्रमा हजारौं यस्ता धर्मशाला पूर्णतः निःशुल्क चलेका छन् । यतिसम्म कि तिनमा खाना पनि निःशुल्क छ ।
पशुपतिनाथको आम्दानीले यस्ता एक दुई दर्जन धर्मशाला निःशुल्क चलाउन सकिनुपर्ने हो । कम्तिमा न्यूनतम शुल्कमा गैरनाफामूलक ढङ्गले यस्ता धर्मशाला चलाउन कुनै मुश्किल नहुनुपर्ने हो ।
हस्तान्तरण भएको लामो समयसम्म यो यत्तिकै बस्यो । जब भारतीय दूतावासले तीर्थयात्रीले सुविधा पाउने शर्तमा यो बनेको र यत्तिकै खालि हुँदा त्यो सुविधा गुमेको भनेर चिठी नै लेखेर झकझक्यायो, अनि हामीले केही त गर्नै पर्ने भयो ।
तर, यो बनेपछि हाम्रो सातो गयो या चोरदृष्टि खड़ा भयो, भगवान् जानून् । हामीले निजी क्षेत्रलाई होटल खोल्ने गरी यो भवन भाड़ामा दियौं । यतिसम्म कि धर्मशालाको नाम नै हटाएर ‘फलानो होटल’ भनेर यो व्यावसायिक रूपमा सञ्चालनमा आयो । कम्पनीका अफिसदेखि गाड़ीका सोरूम सम्म त्यहाँ अटाए ! कोठा र पाहुनाको सङ्ख्या उल्लेख्य रूपमा घटाइयो । झन्डै चार सय यात्री अटाउने गरी सम्झौता भएर बनेको धर्मशालामा जम्मा १५० जति बेड राखेर बाँकी अरू निया उद्देश्यका लागि उपभोग भयो । केही कोठा सहुलियत दरमा देखाएर बाँकीमा सम्झौताविपरीत महँगो शुल्क लिने कुरा बाहिर आए ।
होटल चलाउन भाड़ामा दिएपछि त निजी कम्पनीले हेर्ने भनेको नाफा नै हो । भित्रभित्रै सेटिंगमा साइन गरेर दिइसकेपछि सड़कमा हिरोगिरी देखाउँदै म रद्द गर्छु भनेर हुने कुरो भएन, ऊ अदालत जान्छ, स्टे अर्डर ल्याउँछ, सकेको गर्छ।
एउटा पनि अन्तर्राष्ट्रिय स्तरको सभासम्मेलन गर्ने ठाउँ भएन, लौ न भनेर चीनसँग राजाले मागेर बनाएको बानेश्वरको सम्मेलन केन्द्रमा अहिले सम्मेलन हुँदैन । अग्रगामी छलाङ्का नाममा २०५ बाट सांसद सङ्ख्या बढ़ाएर ६०० बढ़ी बनाएपछि सिंहदरबारमा नअटाएर त्यही सम्मेलन केन्द्र कब्जा गरेको बर्षौ भयो । त्यसको नामबाट वीरेन्द्र भन्ने पनि हटाइएको रहेछ।
नारायण गाउलेज्युको निजी फेसबुकमा प्रकाशित यो सामाग्रीकालागि यहाँ क्लिक गर्नु होला।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया