भारतीय सेनामा अंग्रेजकालदेखि नै नेपाली गोर्खाहरु भर्ती हुँदै आएका छन् । त्यसबेला गोर्खा सैनिकका विषयमा सुगौली सन्धि पनि भएको थियो। बेलायती सेनामा नेपाली जनजाति युवाहरुलाई गोर्खा भर्तिका नाममा पठाउने चलन नै छ। यसै बिच भारतको अग्निपथ योजनामा बिबाद भए पछि नेपालले गोर्खा सैनिक भर्ती रोकेको थियो । त्यस पश्चात नेपाली युवाहरु विकल्पकारुपमा विदेशी सेनामा भर्ती हुन थालेको बताइन्छ।
बिदेशी सेनामा नेपाली युवाहरुको आकर्षण : सहज नागरिकता
युक्रेन युद्धका लागि विदेशी नागरिकलाई आकर्षित गर्न मस्कोले नागरिकतामा छुट दिएपछि नेपाली नागरिक रुसी सेनामा भर्ना हुन थालेको बताइन्छ । रूसी सेनामा सेवा गर्ने विदेशी नागरिकहरूले सरलीकृत प्रक्रिया अन्तर्गत रूसको नागरिकता प्राप्त गर्न सक्षम हुने भएपछी गरिव मुलुकका नागरिकहरुको आकर्षण बढेको हो।
रुसी राष्ट्रपतिले गत वर्ष सेप्टेम्बरमा रुसी सेनामा कार्यरत विदेशी सैनिकले रुसी नागरिकताका लागि आवेदन दिन आवश्यक सैन्य सेवाको अवधि घटाउने आदेशमा हस्ताक्षर गरेका थिए। मे महिनामा कानुनमा परिणत भएको बिधेयक अनुसार विदेशी करार सैनिक र तिनका परिवारका सदस्यहरूले अघिल्लो तीन बर्षको तुलनामा एक वर्ष सेवा गरेपछि रुसी नागरिकताका लागि आवेदन दिन सक्नेछन्। आवेदकलाई पनि निवास अनुमति चाहिँदैन। यसबाट समेत धेरै नेपाली युवाहरु रूसी सेनामा भर्ना हुन् आकर्षित भएको बताइन्छ।
राम्रो तलब सुबिधा
रुसले उक्रेन संगको लडाईका लागि धमाधम सेना भर्ती सुरुगरेको एक बर्ष भन्दा बढी नै भयो। युक्रेन युद्धका लागि विदेशी नागरिकलाई आकर्षित गर्न रुसले नागरिकता, बसोबास , इन्सुरेन्स र आकर्षक तलब सुबिधा प्रदान गर्ने भएपछी धेरै नेपाली युवाहरु त्यसतर्फ आकर्षित भएका छन्।
रुसको स्टेट युनिभर्सिटीमा पढाइ सकेर रुसी सेनामा भर्ना भएका एक नेपाली युवाले नेपाल प्रेससंग सम्बाद गर्दै भनेका छन् :
“पढाइ सकेपछि मसँग दुईवटा विकल्प थिए। पहिलो नेपाल फर्किएपछि बेरोजगार बस्नु र दोस्रो रुसी सेनामा भर्ना हुनु थियो,’ देशको कोशी प्रान्तका ती अज्ञात व्यक्तिले नेपाल प्रेसलाई भने।
युक्रेन सिमाना नजिकै तालिम लिइरहेका ती युवकले बेलारुस र अफ्रिकी देशका विदेशी नागरिकसँग एक दर्जनभन्दा बढी नेपालीलाई पनि अज्ञातस्थलमा तालिम दिइरहेको नेपाल प्रेसलाई बताए ।
“हामीलाई आधुनिक हतियार कसरी प्रयोग गर्ने भनेर सिकाइन्छ। प्रशिक्षण दिनभरि र कहिलेकाहीँ रातमा पनि हुन्छ, ” उनले खुलासा गरे।
तालिमका क्रममा आफूलाई ५० हजार नेपाली रुपैयाँ (३८१ डलर) र बिमा समेत दिइँदै आएको उनले नेपाल प्रेससंग सम्बादमा बताएका छन् ।
रुसको तर्फबाट भाडामा वा नियमित सेनामा गएका नेपालीको यकिन संख्या भने थाहा भएको छैन।
विदेशी सेनामा नजान नेपाली नागरिकलाई नेपाल सरकारको चेतावनी
युग्दग्र्स्त उक्रेन र रसियाका सेनामा नेपाली नागरिक भर्ना भएको खबर आएपछि नेपाल सरकारले द्विपक्षीय सम्झौता भएका बाहेक अन्य कुनै विदेशी सेनामा नजान नेपाली नागरिकलाई आग्रह गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै युद्धग्रस्त मुलुकमा नेपाली नागरिकलाई विदेशी सेनाले भर्ती गरेको भन्दै सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली नागरिक युक्रेनी सेनामा भर्ना भएको खबर आएको छ भने कतिपयले रुसी सेनामा भर्ती भएको सामाजिक सञ्जालमा स्वीकार गरेका छन् । मन्त्रालयले आफ्ना नागरिकलाई गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजान पनि आग्रह गरेको छ । दुबै सेना र भाडा समूहमा कति नेपाली नागरिकहरू सामेल भएका छन् भन्ने तुरुन्तै थाहा छैन।
परराष्ट्र मन्त्रालयले भर्तीसम्बन्धी परम्परागत सम्झौताअनुसार नेपाली सेनामा भर्ती गर्ने केही मित्र राष्ट्र बाहेक नेपाली नागरिकलाई विदेशी सेनामा भर्ती गराउने सरकारको कुनै नीति नभएको पनि औंल्याएको छ । नेपालले भारत र बेलायतका सेनासँग औपचारिक सम्झौता गरेको छ । त्यस्ता गतिविधिमा पर्न सक्ने जोखिम र उद्धार कार्यमा पर्न सक्ने कठिनाइप्रति सचेत रहन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ।’
विज्ञप्तिमा कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजान पनि मन्त्रालयले सबैमा अनुरोध गरेको छ।
साथै, यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्दारमा हुने कठिनाइ प्रति सजग रहन समेत परराष्ट्र मन्त्रालयले सूचित गराइएको छ।
देशमै युवाहरुलाई आकर्षण गर्न सरकार किन सक्दैन ?
नेपालको इतिहास अनुसार धेरै वर्ष पहिले देखि नेपालीहरू विदेशी सैनिक सेवामा भर्ती हुन थालेका हुन्। पहिले नेपाली सेनालाई बेलायती सेना र भारतीय सेनामा भर्ती हुन पठाइएको थियो। सन् १८१५ देखि नेपाली सेनालाई ‘ब्रिटिस गोर्खा’ नामले बेलायती सेनामा भर्ती गर्न थालिएको हो।
भारत स्वतन्त्र भएपछि भारतमा ‘इन्डियन गोर्खा’ नाममा भर्ती हुन थाल्यो। सन् १९४९ देखि सिंगापुर प्रहरीमा पनि नेपालबाट युवाको भर्ती हुँदै आएको छ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सबैभन्दा धेरै सैनिक पठाउने नेपाल विश्वको दोस्रो राष्ट्र हो। यद्यपि नेपालका सैनिक संयुक्त राष्ट्रको मिसन बाहेक अन्त जाँदैनन्।
बेरोजगारी, कम तलब, नेपाली सेनामा जागिरको अभाव जस्ता समस्याका कारण धेरै युवा अहिले ज्यानै जोखिममा पारेर युद्धग्रस्त देशमा काम गर्न बाध्य छन्।
गोर्खा भर्ति बेलायतमा मात्र नभएर पहिलेका बेलायती उपनिवेशजस्तै भारत, ब्रुनेई, हंगकंग, सिंगापुरहरुले समेत कायम राखेका छन् । मलेसिया, मकाऊदेखि बैदेशिक रोजगारीमा जाने अधिकांश ठाउँहरुमा नेपालीलाई सेक्युरिटी गार्डका रुपमा मात्रै चिन्ने गर्छन् ।
सगरमाथाको देश नेपाल , ऋषिमुनिहरुको तपोवनभूमी नेपाल , भगवान् गौतमवुद्धको जन्मस्थल नेपाल , पशुपतिनाथ , जनकपुरधाम, मुक्तिनाथ, आदी पूर्वीय संस्कृतिको खानीले चिनिने देश नेपाल र यंहाका भिर पाखा, नदीनाला, वनजंगल, बिबिध संस्कार र संस्कृतिको धनी एव मनमोहक हावापानीमा जन्मिएका नेपाली नागरिकहरु कसरी चिनिए – सेक्युरिटी गार्डका रुपमा? यस बिषयलाई नेपाल सरकारले गम्भीरताले सम्बोधन गर्नु पर्दछ ।
विदेशी सेनामा नेपाली नागरिकलाई भर्ना नहुनु भन्ने नेपाल सरकारको बिज्ञप्ति अपर्याप्त छ। सरकारले जनतालाई आफ्नै देशमा सम्मानपूर्बक सेवा गर्ने अवसर दिनु पर्दछ। यसका लागी देशमा रोजगारी सृजना गरी युवाहरुलाई देशसेवा गर्ने अवसर दिनु नै जनतालाई आकर्षण गर्ने उत्तम उपाय हो
देशमा भनसुन प्रथाको अन्त्य गर्दै ठुला आयोजनाहरुको निर्माण, कृषि बिकास कार्यक्रम , गाउ गाउमा उद्योग धन्दा खोली रोजगारी सृजना गर्दै निस्पक्ष रुपमा रोजगारी प्रदान गर्नु पर्दछ।
यसैगरी, प्रतेक गाउमा सीपमूलक तालिम दिई योग्य जनशक्ति तयार गर्दा श्रम बजारमा युवाहरुलाई माग बढन गै सहज रुपमा युवाहरुले रोजगारी प्रात गर्ने अवसर पाउछन।
लाखौ नेपाली युवाहरु बिदेशमा रोजगारी गर्दै छन्। विदेशबाट फर्कन चाहने युवाहरूलाई उनीहरुलाईको ज्ञान र सीपका आधारमा श्रम बजारमा भित्राउन सकिन्छ। यसका लागी उनीहरुको अनुभवलाई पहिचान गरी बिभिन्न निर्माण परियोजना, कृषि , लगायतका क्षेत्रमा उपयोग गर्न सकिन्छ।
सात वटै प्रदेशमा स्थानीय सरकारले अनिवार्यरुपमा युवा रोजगारीका कार्यक्रमहरू सञ्चालन गरेमा युवाहरु विदेश पलायन हुने लगायत विदेशमा श्रम गर्न जाने बाटोको अन्त्य हुनेछ र विदेशबाट फर्केका युवाहरूको सीप र ज्ञानलाई देशको बिकासमा लगानी गर्न सकिने छ।