Saturday, April 12, 2025
50.1 F
Washington DC.

दृष्टिकोणः अमेरिकी व्यापार युद्ध र विश्व अर्थतन्त्रको कम्पन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

लेखक: नारायण गाउॅले (फेसबुक पोस्टबाट साभार)

अमेरिकी शेयर बजारले एकै हप्तामा ६ ट्रिलियन डलरभन्दा बढी मूल्य गुमायो भन्ने समाचार पढ्दा, हामी नेपालीका लागि यो अङ्क कल्पनाभन्दा बाहिरको कुरा हो। भारत र रसियाको वार्षिक जिडीपीलाई जोड्दा पनि त्यो अङ्क नपुग्ने ! त्यो चीनको झन्डै दुई वर्षको कुल राजश्व बराबर ! नेपालले त यस्तो अङ्कको गन्ती गर्नै जरुरी छैन—कहिल्यै काम नलाग्ने !

विश्वभर शेयर बजारको हालत दयनीय छ। अमेरिकाले सुरु गरेको व्यापार युद्धले ‘इमरजेन्सी’को अवस्था सिर्जना गरिदिएको छ। हिजो १०% घट्यो भने ठूलो भन्ने अवस्था थियो, आज ३०%, ५०% वा १००% गिरावट सामान्यजस्तै भएको छ। न नीति, न तर्क, न बहस, न तयारी—भोलिदेखि लागू भन्दै रातारात निर्णय भइरहेको छ। बिहानको समाचार बेलुकासम्म पुरानो हुन्छ, यति छिटो गतिमा चलिरहेको छ यो युद्ध।

विश्वका प्रणाली, संस्था, नियमकानुन सबै निरीह देखिएका छन्। एकातिर शासकहरू व्यापार युद्धको जुवा खेलिरहेका छन्, अर्कातिर जनताले द्रौपदीझैँ नतिजा हेरेर बस्नुपरेको छ।

अमेरिकाको व्यापार घाटा वास्तवमै डरलाग्दो छ—जापानको जिडीपी जत्रो ! भियतनामसँग मात्रै १०० अर्ब डलरभन्दा बढी घाटा ! नेपालले १० वर्षमा संकलन गर्ने राजश्वभन्दा ठूलो यो घाटा हो। अमेरिका यति परनिर्भर रहेछ कि नेपालजस्ता देशसँग पनि व्यापार नहुँदा ठूला कम्पनीहरूको नाफा मात्र होइन, अस्तित्व नै संकटमा पर्न सक्छ।

अझ अचम्म त के भने—हिजोसम्म सबैभन्दा कम कर उठाउने देश पनि अमेरिका नै थियो। हामी जस्तो देशमा मोटरसाइकलमा १००%भन्दा बढी भन्सार हुन्छ, तर अमेरिकामा कारमा केवल २.५% ! अहिले त्यो दर २५% बनाउँदा नै त्यहाँको पूरै कार उद्योग हल्लिएको छ। सोच्नुस्, हामीजस्तो कर प्रणाली लागू गरिएमा के हालत होला ?

अमेरिकाले नेपालजस्ता विकासशील देशहरूलाई ‘शून्य भन्सार दर’को सुविधा दिएको रहेछ। हामीले त्यसको फाइदा खासै उठाउन नसकिए पनि अरूले पक्कै उठाएका थिए।

ट्रम्पसँग वार्ता र समाधानको अपेक्षा पनि कमै देखिन्छ। ऊ औंला देखाएर धम्क्याउने शैलीमा उत्रिएको छ—ऊ एक औंला देखाउँछ, प्रतिपक्षले दुई, ऊ फेरि चार ! यो त निरन्तर द्वन्द्वकै शैली भयो। उसले प्रयोग गर्ने भाषा यति अशिष्ट र अपमानजनक छ कि धेरैजसो अमेरिकी पत्रिकाले जस्ताको त्यस्तै छाप्न पनि सक्दैनन्।

यो युद्धमा एक विशेष कुरा देखिन्छ—सशस्त्र युद्धमा जो बलियो, त्यो विजयी, तर व्यापार युद्धमा जो घाटामा छ, उसैको हात बलियो ! अमेरिकी घाटा सबैभन्दा ठूलो भएकाले, त्यो अरूसँग जति लड्छ, आफूले झनै नोक्सानी बेहोर्छ।

भन्सार बढाउँदा पहिलो असर आम उपभोक्तामा पर्छ। चीनबाट आउने दैनिक उपभोग्य वस्तुहरूको मूल्य दोब्बर हुन सक्छ। आइफोनजस्ता उपकरण पनि महँगिनेछन्, किनभने तिनीहरू चीनमै बनाइन्छन्। बहुराष्ट्रिय कम्पनीहरूले विकल्प खोज्न थाल्नेछन्—यही प्रक्रियाले विश्व बजार अस्थिर बनाउने निश्चित छ।

हामीले हेर्दा यस्तो व्यापार घाटा र असन्तुलन रोकिनुपर्ने हो। तर प्रक्रियागत सुधार चाहिएको हो—ट्रम्पले झैं रातारात आँधी चलाउनु समाधान होइन। उसले भनिएअनुसार अमेरिकामै उत्पादन फर्काउने र लागत घटाउने योजना ल्याएको छ—तर यसको प्रभाव तत्काल सस्तो हुनेछ भन्न सकिन्न।

नेपालको अवस्था पनि फरक छैन। हाम्रो व्यापार घाटा कुल राजश्वभन्दा झन्डै दोब्बर छ। जोसँग व्यापार गर्‍यो, उसैसँग घाटा ! न त हाम्रो उत्पादन क्षमतामा सुधार छ, न त पूर्वाधार। जग्गा त लण्डनभन्दा महँगो ! उद्योग खोल्न भन्छौं, तर बजेटले प्लट पनि आउँदैन। यस्तो स्थितिमा के उत्पादन सस्तो होला र ? अनि त्यत्रो घाटा कसले चासो राख्ला ?

साँच्चै भन्ने हो भने, हरेक समस्याको समाधान हुन्छ। यो व्यापार युद्धको पनि हुनेछ। तर यसले दिने घाउ भने लामो समयसम्म रहिरहने छ—सस्तो उत्पादन, खुला बजार र साझा नियममाथि प्रश्नचिह्न उठाउने खालको पीडा !

(नारायण गाउॅलेको व्यक्तिगत फेसबुक पोष्टबाट साभार )

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img