अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा (USCIS) ले आजदेखि आप्रवासीहरूको सामाजिक सञ्जालमा यहूदीविरोधी (एन्टि-सेमिटिक) गतिविधि र यहूदी व्यक्तिहरूमाथिको शारीरिक उत्पीडनलाई आप्रवासन लाभ अस्वीकार गर्ने आधारको रूपमा विचार गर्ने घोषणा गरेको छ। यो नीति तत्काल प्रभावकारी रूपमा लागू भएको छ र वैधानिक स्थायी बसोबास (ग्रिन कार्ड) का लागि आवेदन दिने विदेशी नागरिकहरू, विदेशी विद्यार्थीहरू र यहूदीविरोधी गतिविधिसँग सम्बन्धित शैक्षिक संस्थाहरूमा आबद्ध व्यक्तिहरूलाई प्रत्यक्ष प्रभाव पार्नेछ।
यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको यहूदीविरोधी गतिविधि नियन्त्रण, थप सुरक्षात्मक उपायहरू र विदेशी आतंकवादीहरूबाट संयुक्त राज्यलाई सुरक्षित राख्ने सम्बन्धी कार्यकारी आदेशहरूसँग मेल खाने गरी लागू गरिएको USCIS ले जनाएको छ । होमल्याण्ड सेक्युरिटी विभाग (DHS) ले विशेष गरी यहूदीविरोधी आतंकवाद, हिंसात्मक यहूदीविरोधी विचारधारा र हमास, प्यालेस्टाइन इस्लामिक जिहाद, हिजबुल्लाह वा अन्सार अल्लाह (हुथी) जस्ता यहूदीविरोधी आतंकवादी संगठनहरूलाई समर्थन गर्ने व्यक्तिहरूको बारेमा आप्रवास कानुनलाई अधिकतम रूपमा कार्यान्वयन गर्ने बिज्ञप्तिमा भनिएको छ।
होमल्याण्ड सेक्युरिटी विभागकी सहायक सचिव (जनसम्पर्क) ट्रिसिया म्याकलाफलिनले भनिन्, “संयुक्त राज्य अमेरिकामा आतंकवाद समर्थकहरूका लागि कुनै ठाउँ छैन, र हामी उनीहरूलाई यहाँ प्रवेश वा बसोबासको अनुमति दिन बाध्य छैनौँ। सचिव नोएमले स्पष्ट रूपमा भनेका छन्— यदि कसैले अमेरिकामा आएर अभिव्यक्ति स्वतन्त्रताको आडमा यहूदीविरोधी हिंसा वा आतंकवादको वकालत गर्न सकिन्छ भन्ने ठानेका छन् भने, उनीहरूले पुनः सोच्नु आवश्यक छ, उनीहरूलाई यहाँ कुनै स्वागत छैन।”
यस नीति अनुसार, USCIS ले सामाजिक सञ्जालमा यहूदीविरोधी आतंकवाद, आतंकवादी संगठन वा अन्य यहूदीविरोधी गतिविधिलाई समर्थन, प्रचार वा प्रोत्साहन गर्ने सामग्री भेटिएमा आप्रवासन लाभ निवेदनको मूल्याङ्कनमा नकारात्मक रूपमा विचार गर्ने बताएको छ। यस्तो गतिविधिमा संलग्न भएको प्रमाण फेला परेमा ग्रिन कार्ड, विद्यार्थी भिसा वा अन्य आप्रवासन लाभका लागि दिएको निवेदन अस्वीकृत हुन सक्नेछ।
यो नीति अमेरिकी आप्रवासन प्रक्रियामा महत्वपूर्ण परिवर्तनको सङ्केत हो र यसले यस क्षेत्रमा नयाँ बहस सुरु गरेको छ। यस कदमले अमेरिकामा यहूदीविरोधी गतिविधिहरूको नियन्त्रणमा थप कडाइ ल्याउने अपेक्षा गरिएको छ।
यस नीतिको प्रभावकारी कार्यान्वयनका लागि DHS प्राविधिक उपकरण र विशेषज्ञ टोली परिचालन गर्ने तयारीमा छ। यस कदमले अमेरिकी आप्रवासन नीतिमा थप परिवर्तनको सङ्केत गरेको छ र भविष्यमा यस नीतिको प्रभाव कस्तो हुनेछ भन्ने कुरा समयले नै देखाउनेछ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया