बेलायतको राजनीतिमा पारदर्शिताको उच्च मापदण्डका कारण फेरि एकपटक मन्त्रीले आफ्नो पद त्याग गर्नुपरेको छ। यसपटक राजीनामा दिने नेतृ हुन् टुलिप सिद्दिक, जो बङ्गलादेशका संस्थापक राष्ट्रपति मुजीबुर रहमानकी नातिनी र पूर्वप्रधानमन्त्री शेख हसीनाकी भतिजी हुन्।
बङ्गलादेश र बेलायतबीच टुलिपको पहिचान
टुलिपको जन्म बेलायतमा भए पनि उनको परिवारको जरो बङ्गलादेशको राजनीतिमा गहिरो छ। उनकी आमा शेख रिहाना बङ्गलादेशको सक्रिय राजनीतिमा रहँदै आएकी छिन्। तर टुलिपले आफ्नो शिक्षा र करियर बेलायतमै निर्माण गरिन्। किङ्ग्स कलेज लण्डनबाट स्नातकोत्तर गरेकी टुलिप सन् २०१५ मा लण्डनबाट सांसद निर्वाचित भएकी थिइन्।
बेलायतको राजनीतिमा उचाइ र विवाद
लेबर पार्टीकी टुलिपले छायामन्त्रीको भूमिकामा उल्लेखनीय योगदान गरेपछि २०२४ मा मन्त्रीको पद सम्हालेकी थिइन्। तर, उनको परिवार बङ्गलादेशसँग जोडिएको सम्पत्तिको विषयले विवाद सिर्जना गर्यो। विशेष गरी लण्डनमा रहेको एउटा फ्ल्याट, जुन शेख हसीनासँग सम्बन्धित व्यक्तिबाट उपहारमा पाएको आरोप लागेको थियो। टुलिपले यो सम्पत्ति आफ्नो आमाबाबुले किनिदिएको दाबी गरिन्।
बेलायतमा कुनै पनि प्रकारको भ्रष्टाचारप्रति शून्य सहनशीलता भएकाले, सिधा प्रमाण नभए पनि, उनको छवि संकटमा पर्यो। छानबिनले दोष प्रमाणित नगरे पनि राजनीतिक जिम्मेवारीलाई प्राथमिकतामा राख्दै उनले राजीनामा दिने निर्णय लिइन्।
राजनीतिमा पारदर्शिताको मापदण्ड
बेलायतको लोकतन्त्रमा योग्यता र पारदर्शितालाई विशेष महत्त्व दिइन्छ। टुलिपले आफ्नो राजीनामा सार्वजनिक गर्दै भनेकी छिन्, “सरकारको काममा बाधा नपुगोस् भनेर मैले यो कदम उठाएकी हुँ।”
अब टुलिपको भविष्य
राजनीतिबाट अलग भए पनि टुलिपको ज्ञान र क्षमताले उनी जुनसुकै क्षेत्रमा सफल हुन सक्छिन्। बेलायतमा राजनीति सेवालाई महत्त्व दिने संस्कार भएकाले, उनी मेवा नभई सेवामा केन्द्रित भइन्।
यस घटनाले फेरि एकपटक बेलायतको राजनीतिमा पारदर्शिता र उत्तरदायित्वको मापनलाई उजागर गरेको छ।
(श्रोतः नारायण गाउॅले)
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया