spot_img
Wednesday, March 12, 2025
51.2 F
Washington DC.
spot_img

‘ठूला घर’ की ‘ठूली मुखिनी’

सम्बन्धित समाचार

आज सपनामा ठूला घर र त्यस घरकी ठूली मुखिनीलाई देखें। दिनभरी मन बेचैन भयो। अतीतले झस्कायो, सम्झायो र रूवायो मलाई। त्यसैले, केही अपूर्ण शब्दहरू कोर्दैछु। वाकी अर्को भागमा लेख्नेछु।

ओखरबोटे, मादी, संखुवासभाको त्यो घरलाई सबैले ‘ठूला घर’ भनेर चिन्थे। त्यस घरकी मुली थिइन् मेरी हजुरआमा, जसलाई सबैले ‘ठूली मुखिनी’ भनेर सम्मान गर्थे। २३ वर्षको उमेरमा विधवा भएकी हजुरआमाले पाँच सन्तानको लालनपालन र घरको जिम्मेवारी एक्लै सम्हाल्नुभयो। हजुरबुवा बित्दा मेरो बुवा ६ महिनाको गर्भमा हुनुहुन्थ्यो, अर्थात् मेरो बुवा ‘गर्भे टुहुरो’।

हजुरआमाको संघर्ष र समर्पणको कथा शब्दमा उतार्न कठिन छ, तर सम्झनामा आएका केही अंश यहाँ प्रस्तुत गर्दैछु।

हाम्रो घरमा प्रशस्त खेतबारी थियो। हजुरआमा मिलनसार दयालु स्वभावकी थिइन् र समाजमा सबैले उहाँलाई आदर गर्थे। विधवा भएपछि कठोर सनातनको नियममा रहनु पर्ने, समाजले विधवालाई गर्ने व्यवहार र अनेकौं अपमान सहदै, लड्दै पड्दै उहाँ उठनु भएको थियो। बच्चाहरू केही काखे र केही साना थिए, खेतवारी गर्न सक्ने अवस्था थिएन। उहाँले एउटा सानो कपडा पसल सञ्चालन गरेर परिवारको जीविका चलाउनुभयो। गरिब गुरूवाहरूलाई निशुल्क सामान दिनु हुन्थ्यो। उधारोमा सामान किन्ने गाउँलेहरूलाई उहाँले निःस्वार्थ सहयोग गर्नुहुन्थ्यो। तर, धेरै उधारो र नगद कर्जा भएपछि पसल बन्द गरेर खेतीतर्फ ध्यान दिनुभयो।

हाम्रो जमिन पारिलो, उर्वर र मलिलो थियो। लेकको जमिनमा स्याउ, भेडा, च्याङ्ग्रा, चौरी पालन गरेर स्थानीयहरूले आम्दानी गर्थे, आधि हामीलाई दिन्थे। बीचमा रहेको हाम्रो घर र टारबारीमा सुन्तला, नासपाती, कागती, ज्यामिर, हरिया तरकारी, तोरी, धान, मकै आदि उत्पादन हुन्थ्यो। लेकदेखि नदीसम्म फैलिएको हाम्रो जमिनको नदीतर्फ उखु खेती पनि थियो, जुन मोहीहरूले कमाउँथे। प्रशस्त अन्नबाली उत्पादन भएर वर्षभरि पुग्थ्यो र बाँकी बेचिन्थ्यो। बाहिरी जिल्लाबाट अन्न किन्न हाम्रो गाउँमा आउँथे। नून, लुगाफाटा, मट्टितेल, चप्पल जुत्ता जस्ता सामान बाहेर प्रायः सबै सामान हाम्रो गाउँले नै उत्पादन गर्थ्यो र उपभोग गरी विक्रिसमेत गर्थ्यो।

आहा… गोरूका हलले जोतेर फलाएको अन्न, कुलोबाट लगेको पानी, गोरूकाहल घुमाएर धान निकाल्ने विधि—दाही गरेको र माना पाथी लिएर धान नाप्न लस्करै खेताला र सहयोगी लिएर खेतमा गएको दिन अचम्मै रमाइलो हुन्थ्यो।

हजुरआमालाई समस्या थियो सन्तानको शिक्षादीक्षा र खेताला खोज्ने र खेतवारी हेर्ने चटारो। विधवा महिलाले पाँच सन्तानको लालनपालन, घरको काम र खेती सम्हाल्नुपर्थ्यो। यो थियो ठूली मुखिनीको दिनचर्या।

जेठी छोरी (मेरी फुपु) १२ वर्ष पुगेपछि भाइबहिनीहरूलाई स्याहार्ने र आमालाई घरको काममा सहयोग गर्न सक्ने भएपछि हजुरआमाले सास फेर्न पाउनुभयो।

समयसँगै सन्तानहरू हुर्किए, सबैको विवाह भयो। म गर्भे टुहुरोको छोरो। मेरी आमाले हजुरआमालाई घरको सम्पूर्ण काममा सघाउनुभयो। त्यसबेला खेतीबारीको काममा छिमेकीलाई सहयोग गर्न प्रत्येक घरबाट मान्छे जाने चलन थियो। तर, मेरो हजुरआमाले आमालाई कहिल्यै पठाउनुभएन, बरू अन्न दिएर अरू खेतालालाई पठाउनुभयो। दाउरा काट्ने, स्याउला बोक्ने, घर लिप्ने, ढिकी जातो गर्ने र पधेराबाट बिहानै पानी बोकेर ल्याउने चलन थियो। आमालाई यी सबै काममा अरूले नै सघाए। तर आमाले नित्य खेतालालाई खाजा, खाना र हजुरआमालाई चोखो फलार बनाएर खुवाउनु हुन्थ्यो। विस्तारै आमाले ठूला घरलाई थाम्न सक्ने हुनु भयो।

आमाले घर थाम्न सुरु गरेपछि हजुरआमाले बल्ल फुर्सत पाउनुभयो। म जन्मिएँ र उहाँले मलाई तिर्थ गर्न विराटनगर हुँदै बनारस लिएर जानुभयो। केही समय बस्ने अनि फेरि मादी घरमा फर्कने क्रम जारी रह्यो। बुबा शिक्षक र प्रधानाध्यापक हुनुहुन्थ्यो। आमाले घर थाम्नुभयो, सबैले उहाँलाई ‘कान्छी मुखिनी’ भन्थे। ठूलोवुवा अध्ययनका लागि बनारसमा आफ्ना मामाहरूसँग हुनुहुन्थ्यो।

भाग्यको खेल र कर्मको फलस्वरूप, २३ वर्षको विधवाको जेठो छोरो पीएचडी डिग्री लिएर प्राध्यापक हुनुभयो र बाबु नै देख्न नपाएका ६ महिने गर्भे टुहुरो कान्छो छोरो न्यायाधीश भए। तीन छोरीहरू आ-आफ्नो घर धान्ने भए। म विराटनगरमा जन्मिएँ। मेरा दुई दाजुभाई र बैनी उतै पाहाडमा जन्मिए। विस्तारै हामी सबै मधेस झर्यौं। मादीका केही जग्गा बेचियो, विराटनगरमा केही जग्गा जमिन किनियो, घर बनाइयो र खेती गरियो।

फोटोः बायांबाटः म, हजुरआमा, स्यामा दिदि र काखमा भान्जा समिर मैले लगाएको पेन्टः ली (यो पहिले पटक काठमान्डौमा आएको रहेछ र मेरो पनि पहिलो जिन्सको रहर)

सानो थिएँ, बुबाको जागीरमा एक जिल्लाबाट अर्को गरी बथान सरेझैं सरियो र कक्षा नौमा पुगेपछि फेरि विराटनगरमा पढेँ। यसबीच मादी जाने र आउने क्रम जारी थियो। हामीले स्थायी रूपमा पुर्खाको माटो छोडेका थियौं तर आत्मा सँगै थियो। मेरा हजुरबुवाले बडो मेहनतले जोडेको र जतन गरेको त्यस भूमिको सम्झना सधैं आउँछ। २०३७ तिर पुन मादी जाने अवसर पाएँ। त्यसबेला गाउँलेहरूले आफ्नो लेखको पानी जोहो गरेर बिजुली बत्तीले गाउँ झिलिमिली बनाइसकेका थिए। घरको टारबारीको पुछारमा नेपाल बैंकले शाखा खोलेको थियो र छेउमै भेटनरी, स्वास्थ्य र प्रहरी चौकी बनेका थिए। मादी हाईस्कूल पनि कलेज भएको थियो।

ठूला घरको विशाल आँगन, छेउको टारबारी, पाहुना आउँदा बास दिने मतान घर, तलपट्टि ढिकी र जाँतो, ओरीपरि बसेर जाडोमा आगो ताप्ने अग्निको स्थान- अदेनो, ठूलो भान्सा, कुनामा हजुरआमाको चोखो पकाउने चुलो, फोहोर फ्याल्ने रच्छ्यानको ढोका, माथ्लो तलामा ३ बेडरूम, अन्न भण्डार गर्ने बुइकल र मान्द्रोले बेरेर बनाएको (?) अन्न भण्डार, बारीमा आसपास खेल्न मिल्ने ठूला ठूला कोपी र फक्रेका रायोका साग, सुन्तला, ज्यामिर, कागती, मेल, ओखर, ऐसेलु, सिस्नो त विर्सनै सक्दिन।

त्यसपछि पढाइ र जागिर दुबैले हामीलाई काठमाडौं तान्यो। त्यस दौरान मैले नेपालको धेरै कुनाकाप्चा, पूर्व-पश्चिमका धेरै जिल्ला र गाउँ घुम्ने अवसर पाएँ, विगत १७ बर्ष देखि अमेरिकामा छु तर मैले मेरो मादीको जस्तो उर्वर भूमि कहिँ कतै पाइँन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -spot_img

ताजा समाचार

भारतले जित्यो आईसीसी च्याम्पियन्स ट्रफी २०२५ , न्युजिल्यान्ड चार विकेटले पराजित

दुबई इन्टरनेशनल स्टेडियममा भएको उच्च-स्तरीय फाइनलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गर्दै आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि आफ्नो...

अन्य समाचार

- Advertisement -spot_img