Thursday, April 23, 2026
83.6 F
Washington DC.

नयाँ वर्ष २०८२ को पहिलो दिन: नेपालीहरूले उल्लासपूर्वक मनाउँदै

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आज विक्रम संवत् २०८२ सालको वैशाख १ गते, नेपालभरिका नागरिकहरूले आपसमा शुभकामना साटासाट गरी नयाँ वर्ष उल्लासपूर्वक मनाइरहेका छन्।

यो दिन विशेष मानिन्छ, किनभने आज सूर्यले मीन राशिको यात्रा समाप्त गरी मेष राशिमा प्रवेश गर्छ—यही कारणले आजलाई वैशाख संक्रान्ति वा मेष संक्रान्ति भनिन्छ। साथै, आजबाट नयाँ वर्षको शुभारम्भ पनि हुने भएकाले सांस्कृतिक र खगोलशास्त्रीय रूपमा दुबै दृष्टिले महत्वपूर्ण दिन हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईका अनुसार, विक्रम संवत् सूर्यको गति अनुसार चल्ने भएकाले यसलाई शाश्वत (चिरस्थायी) संवत् मानिन्छ। उनले बताए, “विक्रम संवत् आदित्य अर्थात् सूर्यसँग सम्बन्धित संवत्सर हो। यसले शक संवत्का विशेषता र ईश्वी संवत्का व्यावहारिकता समेटेको छ।”

वैज्ञानिक दृष्टिले पनि यो संवत् सार्थक मानिन्छ, किनभने सूर्यको राशिचक्रमा मेष प्रवेशसँग नयाँ वर्षको थालनी हुन्छ भने मीन राशि पार गरिसकेपछि अघिल्लो वर्ष समाप्त हुन्छ। यस संवतमा सौरमान (सौर वर्ष) र चान्द्रमान (चन्द्र वर्ष) दुवैको समन्वय पनि गरिएको छ। इतिहासअनुसार कलियुग सुरु भएको ३,०४४ वर्षपछि विक्रम संवत्को प्रारम्भ भएको हो।

आजको दिन, नेपालीहरूले पुरानो वर्षका उपलब्धि र कमजोरीको मूल्याङ्कन गरी नयाँ वर्षका लागि लक्ष्य निर्धारण र सङ्कल्प गर्ने परम्परा छ। विहानै उठेर स्नान गर्ने, घरको सरसफाइ गर्ने, मठ–मन्दिरमा पूजा गर्ने, मिठा खानेकुरा खाएर साथीसंगी तथा इष्टमित्रसँग शुभकामना साटासाट गर्ने चलन छ।

विदेशमा रहेका नेपालीहरूले पनि वैशाख १ लाई आफ्ना सांस्कृतिक जरा सम्झिने र नयाँ वर्षको उत्सव मनाउने अवसरका रूपमा लिन्छन्।

यता, चान्द्रमान अनुसार नयाँ संवत्सर भने चैत्र शुक्ल प्रतिपदाबाट सुरु भइसकेको छ, जुन यस वर्ष चैत १७ गते परेको थियो। त्यस दिनदेखि सिद्धार्थी नामक नयाँ संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए।

वैदिक सनातन परम्पराअनुसार कुल ६० संवत्सरहरू छन्, जुन परिक्रमा शैलीमा क्रमशः परिवर्तन भइरहन्छन्। प्रभव पहिलो संवत्सर हो भने हाल चलिरहेको सिद्धार्थी ५३औं संवत्सर हो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img