पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अन्तत मन्त्री पदबाट राजीनामा दिने भएका छन् । शुक्रबार बसेको नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा आलेले राजीनामा दिने जानकारी गराएका हुन ।
बागमती प्रदेशका मुख्यमन्त्री एवं एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने बताएका छन् ।
पोलिटब्युरो बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूको प्रश्नको जवाफ दिदै पाण्डेले मन्त्री हेरफेरको निर्णयले पार्टीमा केही विवाद देखिए पनि शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने र पुराना मन्त्री फिर्ता हुने जानकारी दिएका हुन् ।
एकीकृत समाजवादीले ६ महिनाका लागि गठबन्धन सरकारमा मन्त्रीहरु पठाएको थियो । यसैबीच , आफ्ना मन्त्रीहरुको काम कारवाही र आचरणप्रति सर्वत्र आलोचना भए पछि गत जेठ २२ मा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेको भए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन ।
हिजो मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई मन्त्री पदबाट हटाउन माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमा भनिएको छ – ” निज सो पदमा बसिरहन असक्षम रहेको प्रस्ट छ। निजको गैरजिम्मेवार अभिव्यक्तिले समाजलाई अपुरणीय क्षति पुगेको विषयमा यस सम्मानित अदालत जानकार छ । निज सो पदमा रहिरहँदा थप सिंगो समाज, देश, विदेशमा नकरात्मक प्रभाव पर्ने र थप क्षति पुग्ने भएकाले निजलाई मन्त्री पदमा आजकै मितिदेखि मुद्दाको अन्तिम किनारा नहुन्जेलसम्म काम नगर्नु, गर्न नदिनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीको नाममा सुविधा सन्तुलनको रोहमा अन्तरिम आदेश जारी गरी पाउँ’।”
सर्वोच्चले रिटमाथि शुक्रबार सुनुवाइका लागि पेशी तोकेको छ।
केहि महिना अगाडि मन्त्री आलेले भारतमा बसोबास गर्ने अछामका एक व्यक्तीलाई फोन संवादमा अश्लिल शब्दहरु प्रयोग गर्दै गाली र धम्कि दिएको अडियो सार्वजनिक भएको थियो । त्यस पश्चात, मन्त्री आलेले पून नेपाल बायु सेवा निगमका तत्कालिन कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लिल गाली गरेको अडियो भाइरल भएको थियो।
मन्त्री जस्तो सार्वजनिक पदमा रहेका आलेले पटक पटक अस्लिल शब्द बोलेका कारण उनको सर्वत्र आलोचना हुदै आएको छ।।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया