वि.सं. २०५६ सालमा नायव सुब्बाबाट निजामती सेवामा प्रवेश गर्नुभएकी नम्रता चुडाल विगत १० वर्षदेखि शाखा अधिकृतको रूपमा निर्वाचन आयोगमा कार्यरत हुनुहुन्छ । आमाको सपना पूरा गर्न बाल्यअवस्थामै झापाबाट काठमाडौ आउनुभएकी चुडालले निजामती सेवाभित्रका विभिन्न चुनौतीलाई छिचोल्दै यहीं आफ्नी आमा, सन्तान तथा आफ्नो खुशी खोज्नुभएको छ । दाजुहरूको प्रेरणा र सहयोगका साथै आफ्नो मेहनत र क्षमताले सेवामा छिर्नुभएकी चुडाल कहिले काममा कठिन परिस्थिति सामना गर्नुपर्यो त कहिले केही अवसरबाट बञ्चित हुनुपर्यो । आत्मबल र हौसला भने कम हुन नदिई इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरी सेवाग्राही र सहकर्मीमाझ सुमधुर सम्बन्ध स्थापित गर्न सफल हुनुभएको छ । विभिन्न सरकारी कार्यालयमा रहेर थरीथरीका अनुभव बटुल्नुभएकी चुडाल आफ्ना भोगाइहरू यसरी सुनाउनुहुन्छ:
बुबाको दोस्रोबिहेपछि आमाको काँधमा ८ छोराछोरीको जिम्मेवारी
मेरो जन्म झापा जिल्लाको विर्तामोड नगरपालिकास्थित मध्यमवर्गीय परिवारमा भएको हो । आमा कृषि र बुबा व्यापारमा संलग्न हुनुहुन्थ्यो । म संयुक्त परिवारमा हुर्किएँ । बुबा, २ जना आमाहरू ५ दाजुभाइ र ५ दिदीबहिनीको ठूलो र रमाइलो परिवार छ- मेरो । बुवाले मेरी आमा छँदै कान्छी आमा ल्याएपछि हाम्रो परिवार अलग भएको हो । बुवासँग कान्छी आमा २ जना भाइबहिनी अनी हामीतर्फ आमा र ४ / ४ जना दाजुभाइ दिदीबहिनी बस्न थाल्यौं । मेरो बुवा निडर, आँटिलो, जोखिम लिन सक्ने, सहयोगी र स्नेही स्वभावको हुनुहुन्थ्यो । दोस्रो विवाह भएपछि बुवाले आफूसँग भएको सम्पत्तिको फजुल खर्च गर्ने गर्नुभयो । उहाँले गर्ने व्यवहार फरक हुन थाल्यो । हामी तर्फको परिवारको माया एवं जिम्मेवारीमा कमी आयो । मेरी आमा अत्यन्त विवेकशील, शालीन, सहनशील र जिम्मेवार हुनुहुन्छ तर बुबाको व्यवहार आफू अनुकूल नभएपछि आमाले बुवासँग अंश लिएर हामी सबैको जिम्मेवारी एक्लै उठाउनुभयो । उहाँले स्वतन्त्रपूर्वक हामी सबैको पालनपोषणदेखि हाम्रो शिक्षा र व्यक्तित्व विकासको लागि अहोरात्र खटिनुभयो । हामीलाई उच्च तहको जागिर खान योग्य बनाउनको लागि आमाले हरसम्मभव प्रयास गर्नुभयो । हामीले पनि उहाँको सपना र चाहना बमोजिम राम्रो पढ्दै गयौं । अहिले मेरो ठूलो दाजु सर्वोच्च अदालतको न्यायाधीश हुनुहुन्छ । हामी सबै दाजुभाइ दिदीबहीनी आआफ्नो क्षेत्रमा कृयाशील छौं । मैले कक्षा ५ देखि एसएलसीसम्म काठमाडौको विजय स्मारक स्कूलबाट अध्ययन गरें भने पद्मकन्या क्यापसबाट अर्थशास्त्रमा स्नातक गरेकी छु ।
अस्थायी जागिर छोडी स्थायीमा पहल
मेरो श्रीमान् तथा दाजुहरू निजामती सेवामा कृयाशील हुनुहुन्थ्यो । मैले पनि करारमा ना.सु.को जागिर गर्न थालेकी थिएँ । विहेपछि अस्थाइ जागिर छोडेर पारिवारिक भूमिकामा केन्द्रित रहेँ । गृहीणीको भूमिका त छँदै थियो तर मनमा लोकसेवा लडेर स्थायी जागिर खाने धोको पनि थियो । आमा दाजुहरू र श्रीमान्को पनि यही चाहना थियो । उहाँहरूको मार्गदर्शन, सहयोग र प्रेरणाले मैले गृहीणी र लोकसेवा प्रतियोगी दुवैको जिम्मेवारी सँगसँगै लगें। निरन्तरको अध्ययन र मेहनतपछि २०५६ सालमा नायब सुब्वामा नाम निकाली सरकारी सेवामा प्रवेश गरेँ । सरकारी सेवाको अनुभव त पहिले अस्थायी जागिर गर्दा पनि भएको थियो । तर आफैंले प्रयास गरेर स्थायी जागिर शुरु गर्दा मनमा छुट्टै आनन्द र गर्व महसुस भएको थियो । तत्कालीन स्थानीय विकास मन्त्रालयबाट जागिरे जीवन शुरु गर्दा निकै उत्साहित थिएँ ।
बच्चाकोलागि हाकीमसँग समय मागिरहुनुपर्यो
सेवा प्रवेशपछिको केही वर्ष त सहजतापूर्वक नै बित्यो तर समयसँगै चुनौती तथा जिम्मेवारीहरू बढ्दै गए । श्रीमान्को पनि विभिन्न जिल्लामा काम पर्न थाल्यो । दुईजना बच्चाको जिम्मेवारी, कार्यालयको काम र अन्य पारिवारिक भूमिकाकै बीच आफ्नो पढाइ र व्यक्तित्व विकास अघि बढाउनु उत्तिकै चुनौतीपूर्ण थियो । एक्लैले सो सबै जिम्मेवारी बहन गर्न सम्भव पनि थिएन । त्यसैले म माइती गएर आमासँगै बसी परिवारिक र पेशागत दायित्व पूरा गर्दै गएँ । साना बच्चाको हेरचाह र अन्य जिम्मेवारीको कारण माथिल्लो तहको पदको लागि अध्ययन गर्ने पर्याप्त समय भने मिलेन । कार्यालय जाँदा बच्चालाई सँगै लिएर जाने र फर्कदा सँगै लिएर फर्कनुपर्ने बाध्यता थियो । कार्यालय समयभन्दा बच्चाको स्कूल छुट्टी हुने समय छिटो भएको कारण मैले हाकिसँग छिटो घर जान पाउने व्यवस्था मिलाइदिन अनुरोध गरिहनु पर्थ्यो । पूरै समय कार्यालयको काम गर्न नसक्दा धेरैखाले सुविधाबाट समेत बञ्चित हुनुपर्यो । समय सँधै एकनास हुँदैनथ्यो, न त कार्यालयका हाकिम र सहकर्मीहरू एकै स्वभावका हुन्थे । कहिले पारिवारिक जिम्मेवारी पूरा गर्दा पेशागत जिम्मेवारीबाट हात झिक्नुपर्ने हुन्थ्यो भने कहिले हाकिम र सहकर्मीसँगको सम्बन्ध बिग्रेलाकी कि भन्ने डर रहन्थ्यो । महिलालाई मात्र आइपर्ने यस्तै दोहोरो तेहेरो जिम्मेवारी पूरा गर्ने क्रममा निकै कठिन परिस्थितिको सामना गर्नुपरेको छ । जसले गर्दा वृत्तिविकासमा पनि बाधाहरू आएका छन् ।
विदेशी खेलाडीसँग प्रतिस्पर्धा
यस क्षेत्रमा प्रवेश गरेपछि मैले स्थानीय विकास, पर्यटन, संस्कृति, युवा तथा खेलकुद र निर्वाचन सम्बन्धी गतिविधिहरूलाई नजिकबाट बुझेँ । पर्यटन मन्त्रालयमा रहँदा केही वर्ष पर्यटन शाखामा काम गर्ने अवसर मिल्यो । हिमाल आरोहणका लागि आउने विदेशी पर्यटकको प्रत्येक टोलीसँग एकजना सम्पर्क अधिकृत जाने व्यवस्था भएकाले मैले पनि केही टोलीसँग हिमालको वेसक्याम्पसम्म जाने अवसर पाएकी छु । पर्यटकसँग नेपालको वर्णन गर्न पाउँदा रमाइलो लाग्थ्यो ।
पुरुषवादी प्रवृत्ति हावी भएकाले सरकारी क्षेत्र भएर पनि महिलाहरू विभेदमा पर्ने गरेका छन् । यस क्षेत्रमा चुनौतीको साथै अवसरहरू पनि घेरै छन् । यस क्षेत्रका अवसर लिनको लागि महिलाले आफ्नो क्षमता प्रमाणित गर्दै निरन्तर प्रयास गरेर आफ्नो जिम्मेवारीमा खटिन सक्नुपर्छ ।
त्यस्तै युवा तथा खेलकुद मन्त्रालयमा हुँदा युवाहरूको सशक्तिकरणको लागि विभिन्न कार्यक्रम निर्माण तथा सञ्चालन गरियो । सो मन्त्रालयमा हुँदा राष्ट्रिय खेलाडीको रूपमा भारतको कोलकत्ता गई चेस च्याम्पियनमा भाग लिई विभिन्न देशका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिएँ । महिलातर्फ प्रथम स्थान हासिल गर्न सफल भएकी थिएँ । त्यो क्षण जीवनकै अविष्मरणीय क्षण भएको छ । निर्वाचन आयोगमा विगत १० वर्षदेखि कृयाशील छु । दोस्रो संविधानसभा चुनावदेखि विभिन्न तहको चुनाव तथा २०७९ को स्थानीय चुनावका विभिन्न प्रक्रियामा कार्य गरेँ । निर्वाचनको अनुगमन मूल्यांकन, पर्यवेक्षण, लैंगिक सहभागिता जस्ता प्रक्रियामा सक्रिय रहेँ । निर्वाचनमा निष्पक्षता, विश्वसनीयता, पारदर्शिता एवं स्वच्छता कायम गर्न सहयोगीको रूपमा भूमिका निर्वाह गर्दै आएकी छु ।
थरीथरीका हाकिम
अन्य क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि सबै मानिस एकैनासका हुँदैनन् । कसैले काम हेरेर क्षमताको मूल्याकंन गर्ने हुन्छन् भने कोही आफ्ना मान्छे ल्याएर राम्रा अवसर र सुविधा दिने प्रवृत्तिका हुन्छन् । कोही हाकिमहरू पुरुषलाई मात्र योग्य ठानेर जिम्मेवारी र सुविधा दिने सोच भएका हुन्छन् भने कोही महिलाको क्षमताको पनि कदर गर्दै समान सेवा सुविधा र जिम्मेवारी दिने प्रवृत्तिका हुन्छन् । काम गर्दै जाँदा धेरैथरी सोच र प्रवृत्ति भएका व्यक्तिहरूसँग काम गर्नुपर्यो । म भन्दा माथिल्लो तहका हाकीमहरूले भने मलाई व्यक्तिको आधारमा नभइ काम र क्षमताको आधारमा व्यवहार गर्ने गरेकाले खासै असहज परिस्थिति झेल्नुपरेन । विभिन्न माहोलका बीच मैले आफ्नो सोच सकारात्मक राखी इमान्दारीपूर्वक काम गर्दै गएँ । आफूलाई तोकिएको जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुका साथै आफ्नो व्यवहारबाट सेवाग्राहीलाई कुनै कष्ट नहोस् भन्ने चाहन्थेँ । त्यसैले पनि हालसम्म सेवाग्राही र सहकर्मीसँग भने असल सम्बन्ध कायम गर्न सफल भएकी छु ।
महिला भएकै कारण वैदेशिक भ्रमणबाट बञ्चित
काम र जिम्मेवारीको हिसाबले विभेद खेप्नुरेको छैन तर अवसरमा भने विभेद भएको छ । निर्वाचन आयोगको ४ जनाको टोली एकपटक अमेरिका भ्रमणमा जाँदै थियो । मेरो पनि जान पाउने पालो परेको थियो तर मलाई मनोनयन गरिएन । एकपटक मेरो मनोनयन स्वीकृत भएर पनि अन्तिममा मलाई जान अनुमती दिइएन । किन यस्तो गरियो भनेर माथिल्लो तहका पदाधिकारीसँग प्रश्न गर्दा तपाइँ महिला भएकाले हामीलाई भ्रमणमा असहज हुन्छ भनेर पारिएन भन्ने जवाफ आयो । धेरै पुरुष सहकर्मीहरू दोहोर्याई तेहेर्याई विदेश भ्रमणमा जान्छन् तर महिलालाई लान चाहँदैनन् । आफू निर्णायक तहमा नभएकै कारण र महिला भएकै कारण यस्ता अनेकौं अवसरहरू गुमाउनुपरेको छ । हुन त महिलाको लागि निजामती सेवा नै उत्तम र सुरक्षित छ । यो विना सोर्सफोर्स आफ्नो क्षमता देखाउने क्षेत्र हो तर आफ्नो क्षमता हुँदाहुँदै पनि कहिलेकाहीं अवसर तथा सुविधाबाट पछि पारिएको हुन्छ । पुरुषवादी प्रवृत्ति हावी भएकाले सरकारी क्षेत्र भएर पनि महिलाहरू विभेदमा पर्ने गरेका छन् । यस क्षेत्रमा चुनौतीको साथै अवसरहरू पनि घेरै छन् । यस क्षेत्रका अवसर लिनको लागि महिलाले आफ्नो क्षमता प्रमाणित गर्दै निरन्तर प्रयास गरेर आफ्नो जिम्मेवारीमा खटिन सक्नुपर्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया