चीनको दुर्गम तिब्बत क्षेत्रमा मंगलबार बिहान आएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन्। उक्त भूकम्प बिहान ९:०५ बजे (स्थानिय समय) १० किलोमिटर गहिराइमा गएको थियो। यसको केन्द्र तिब्बतको शिगात्से सहर नजिक रहेको, अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले जनाएको छ।
भूकम्पका कारण तिंग्री, ल्हात्से र सागा जिल्लामा ३,६०० भन्दा बढी घर ध्वस्त भएका छन्। तापक्रम -१८ डिग्री सेल्सियससम्म झरेको र चिसो मौसमले उद्दार कार्यमा थप समस्या उत्पन्न गरेको स्थानिय संचारमाध्यमले जनाएका छन। चीनको सरकारी प्रसारणकर्ता सिसिटिभी ले सार्वजनिक गरेको भिडियोमा भूकम्पले भित्तामा चिरा परेर घरहरू भत्किएको देखाइएको छ।
छिमेकी देशहरूमा पनि कम्पन महसुस
भूकम्पको कम्पन नेपाल, भारत, भुटान र बंगलादेशसम्म महसुस गरिएको थियो। नेपालका काठमाडौँ, तराई र पूर्वी पहाडी क्षेत्रमा भूकम्पको प्रभाव देखिएको छ। नेपालमा १३ जना घाइते भएका छन्, जसमा बारा जिल्लाका ११ जना, काभ्रेको एक जना र काठमाडौंका एक जना रहेका छन्। केही घर, प्रहरी चौकी र संरचनामा क्षति पुगेको नेपाली सञ्चारमाध्यमहरू ले जनाएका छन्।
उद्धार प्रयास र राहत कार्य
चिनियाँ राष्ट्रपति सी जिनपिङले तत्काल उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएका छन्। १,५०० भन्दा बढी उद्धारकर्मी, आपतकालीन सवारीसाधन, खोजी कुकुरहरू, र न्यानो कपडाहरू सहितको राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। चीन सरकारले ¥१०० मिलियन (करिब $१३.६ मिलियन) राहत कोषको व्यवस्था गरेको चिनियाँ संचारमाध्यमले जनाएका छन।
यद्यपि दुर्गम पहाडी भूगोल र चिसो मौसमका कारण उद्धार कार्यमा समस्या भइरहेको छ। उद्दार टोलीले जीवित व्यक्तिहरूको खोजी र पीडितलाई सहयोग पुर्याउन प्रयास गरिरहेको संचारमाध्यमले जनाएका छन्।
दक्षिण एशियामा व्यापक प्रभाव
भूकम्पको असर तिब्बत बाहिर पनि परेको छ। भारतको गुवाहाटी, पटना, नेपालको काठमाडौं, र बंगलादेशको ढाका लगायतका स्थानहरूमा कम्पन महसुस गरिएको थियो। प्रभावित स्थानहरूमा मानिसहरू डरले घरबाहिर निस्किएको र खुला ठाउँतर्फ भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
सुरक्षाको कारणले सगरमाथा क्षेत्रलाई केही समयका लागि बन्द गरिएको, स्थानीय अधिकारीहरू ले जनाएका छन्।
हिमाली क्षेत्रमा भूकम्पको जोखिम
यस भूकम्पले हिमालय क्षेत्रको भूकम्पीय जोखिमको ताजा सम्झना गराएको छ। यो क्षेत्र प्रमुख भूकम्पीय दोषरेखामा अवस्थित छ र प्रायः विनाशकारी भूकम्पको सामना गर्नुपर्छ। विज्ञहरूले भविष्यका जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, मजबुत पूर्वाधार र प्रभावकारी आपतकालीन व्यवस्थापन आवश्यक रहेकोमा जोड दिएका छन्।
(स्थानीय सञ्चारमाध्यमहरूको सहयोगमा)
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया