spot_img
Thursday, November 21, 2024
52 F
Washington DC.
spot_img

साझा पर्व –‘माघे संक्रान्ति’ र यसको महत्व

सम्बन्धित समाचार

नेपाली भाषीहरुले मनाउने विभिन्न धार्मिक सांस्कृतिक चाडपर्वहरु मध्ये मकर संक्रान्ति अर्थात माघे संक्रान्तिको विशेष महत्व रहेको छ । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ । यसैले नेपालीहरुले माघे संक्रान्तिलाई एक साझा तथा  ठूलो चाडको रुपमा मनाउँदै आइरहेका छन्।

संक्रान्तिको अर्थ हो एउटा ठाउँबाट अर्को ठाउँमा जानु अर्थात एउटाबाट अर्कोमा मिल्नु । जुन दिन सूर्य एउटा राशिदेखि अर्को राशिमा प्रवेश गर्छ त्यस दिनलाई संक्रान्ति भनिन्छ । 

ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघ १ गतेदेखि सूर्य राशि मकर राशिमा प्रवेश गर्ने हुँदा माघे संक्रान्तिलाई मकर संक्रान्ति भनिएको हो । मकर संक्रमण अर्थात सूर्य जुन दिन मकर राशिमा प्रविष्ट हुन्छ त्यस दिनदेखि प्रकाशको अन्धकार माथि र घामको शीतमाथि विजय यात्रा आरम्भ हुन्छ। असार महिनादेखि अन्धकार रुपी रातका अवधि लामो र प्रकाशरुपी दिनको अवधि छोटो भई सूर्यको दक्षिणायनकाल हुन्छ । तर माघ १ देखि सूर्यको उत्तरायणकाल प्रारम्भ भई दिनमान बढन गई रात्रीमान घट्न जान्छ । यसैलाई मकर संक्रमण अर्थात माघे संक्रान्ति भनिन्छ ।

माघे संक्रान्तिमा तयार पारिएका परिकारहरु

यस दिनदेखि सूर्य उत्तरायण हुने हुँदा दिन न्यानो र लामो हुन्छ भने रात छोटो हुँदै जान्छ । वर्षको दशौ महिना हो माघ । पूर्विय ज्योतिषिशास्त्र अनुसार संक्रान्ति संस्कृत शब्द हो जसको अर्थ हुन्छ सूर्य एक राशिबाट अर्को राशिमा स्थानान्तर हुनु । वर्षमा जम्मा बाह्र वटा संक्रान्ति हुन्छन् । यसरी बाह्र संक्रान्ति परेतापनि पनि  तिनवटा संक्रान्तिको मात्र महत्व विशेष रहेको देखिन्छ । पहिलो वर्षारम्भ वैशाख १ गतेको संक्रान्ति, साउन १ गतेको साउने संक्रान्ति, र माघ १ गतेको माघे संक्रान्तिलाई नेपालीहरुले विशेष संक्रान्तिको रुपमा मान्दछन् । मकर संक्रान्ति सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्नु हो ।

यस चाडलाई मौसमको परिवर्तनको रुपमा मनाइन्छ । पौष महिनाको उराठीलोपनलाई हटाएर अगाडि आउँछ माघे संक्रान्ति । मकर संक्रान्ती भनेको जाडोको समाप्ति तथा नयाँ ऋतु प्रारम्भ अथात वसन्त ऋतुको आगमन तथा खेतिपातिको मौसम मानिन्छ । भनिन्छ कुनै पनि शुभकार्य मकर संक्रान्तिको दिन गर्न सकिन्छ। यस दिनलाई वर्षको सबभन्दा चिसो दिन भन्ने पनि विश्वास गरिन्छ। हुनत माघे संक्रान्ति चाडलाई सम्पूर्ण हिन्दुहरुले मनाउने भएतापनि काठमाण्डौका नेवार, तराईका थारु तथा मगर जातीमा अझ विशेष रुपमा मनाउने गर्दछन्।

मगर जाति :      

मगर समूदाय

मगर समूदायमा लोकप्रिय चाड माघे संक्रान्तिलाई मगरहरुले आफ्नो राष्ट्रिय पर्वको रुपमा धुमधाम सॅग मनाउने गरेका छन् । मगर समुदायको भनाई अनुसार नेपाली समाजले मनाउने थुप्रै चाड पर्वहरु मध्ये मगर समूदायले आफ्नो उदय र सामाजिक अभ्याससंगै तमाम मौलिक चाडपर्वहरु मध्ये पृर्थक र मौलिकपन भएको महत्वपुर्ण चाड हो माघे संक्रान्ति ।

अर्को हिसावले मगर समूदायले यो पर्वमा मावली अथवा माइतीले छोरी चेली अथवा चेली पक्षलाई बोलाउने खाना खुवाउने चेली पुज्ने चलन पनी रहेको छ । यो संगसंगै आर्थिक रुपमा पनी यसको महत्व छ । माघे संक्रान्ति पर्वको समयमा खेतीपाति गर्ने समय पनी शुरु हुन्छ अर्थात अब शुरु हुँदैछ, खेतीपाती गर्नको लागी। यो समय  योजना बनाउने, योजना तर्जुमा गर्ने वर्ष भरिको खेतीपाती कसरी गर्ने, खेतीहरु कसरी लगाउने भन्ने कुरा गरिने भएको हुनाले र आगामी दिनको खेती गर्ने कृर्षकहरुको खेती गर्ने योजना तर्जुमा हो ।

मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सङ्क्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ। माघे सङ्क्रान्तिलाई मगर जातिले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ। बालकहरू धनु काँड खेल्दै माघे सङ्क्रान्तिको रौनकका सुरू गर्छन्।वन-तरुलबिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाइ भाइ जिरेलतिर लाग्छन्। घरमा बसेकाहरू धान कुट्दै, सक्खर तथा घर-तरुल खनेर तयारी गर्छन्। अबेर वन-तरुल लिएर फर्केका पाइहरू रात भरर तरुलपकाउने देखिखि पुरी बनाउने अधिष्ठान्न भोजपकाउनुमामा व्यस्त हुन्छन्।

मगर समूदाय

पहिलो दिन

माघे सङ्क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खाली पेटमा कुल-कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई ‘निस्रो’ले पुज्ने गर्छन्। पूजा गर्दा थालमा अलिकति चामलका साथ विभिन्न तरुल, पुरी, मिठाई आदि खानेकुरा र दक्षिणा राखेर दिने चलनलाई ‘निस्रो’ भनिन्छ। त्यसपछि वंशजका साथै विवाह गरेर छिमेकी गाउँ-ठाउँमा पुगेका दिदीबहिनीलाई ‘निस्रो’ बाँड्दै घर-घरमा पुग्छन्।

दोस्रो दिन

दोस्रो दिन युवतीहरू ‘माघ खान’ (वनभोज जस्तै) समूह-समूहमा बाँडिएर गाउँभन्दा टाढा बर्खे गोठतिर लाग्छन्। दाजुभाइले निस्रोमा टक्राएको चामल र विभिन्न खानेकुरा बोकेका उनीहरू साथमा खाना पकाउने भाँडाकुँडा पनि लान्छन्। निस्रोमा आएको खानेकुरा र चामल त्यही दिन सिध्याउने चलन रहेकाले उनीहरू दिनभरिमा ५/६ पटकसम्म त भातको विभिन्न परिकार बनाएर खान्छन्। गाउँमा धान नहुने भएर पनि होला, चामलको भात ‘चिज’ हुन्छ, त्यसैले त्यो दिन युवतीहरू अमन लाग्नेगरी भातबाट बनेका परिकारको स्वाद लिन्छन्। कहिलेकाहीं घरबाट धनुकाँड खेल्दै ‘माघ खान’ गएका युवतीहरूकहाँ पुगेका युवाहरूले पकाएको खाना खाइदिँदै थप रमाइलो र ठट्टा गर्ने पनि गर्छन्।

दिन छिप्पिँदै गएपछि ती गाउँको चौतारामा भेला भएर ‘होम्पई’ (परम्परागत जातीय नृत्य) नाच्छन्। यसमा डोकोलाई सारी-चोलो लगाइदिएर पोते-तिलहरी र चुरा लगायतका गहनाले सजाइन्छ। होम्पई नाँच्दा केटी डोकोभित्र रहेर काठबाट बनाइएका टाउको, हात हल्लाउँदै, जिस्कँदै फन्फनी घुमेर नाच्छन्। जुनसुकै उमेरका पनि यो नृत्य र मेला हेर्न गाउँको चौतारीमा भेला हुन्छन्। मेलामा कसैले पिङ खेल्छन्, कैसैले धनुकाँड खेल्छन्, कसैले नाँच हेर्छन् भने कोही दोहोरी गाएर रमाइलो गर्छन्। युवतीहरू होम्पई नाचिसकेपछि युवा र बूढापाकाको ‘पैसारु/पैचारु’ नाच सुरू हुन्छ। यो गोलो आकार बनाएर झिली, मादल, पैजन, छिनछिनेजस्ता विविध बाजागाजाको धुनमा नाच्ने गरिन्छ। युवा सिकारुहरूले नाइकेलाई पछ्याउँदै पैचारुको बाइस चाला (नाचको प्रकार) नाच्छन्, जसको बीचबीचमा तालसँगै स्वरको लय मिलाएर उत्साहित पार्ने पनि गरिन्छ।

अन्तिम दिन

माघे सङ्क्रान्तिको अन्तिम दिन गाउँभरिका पुरुष भेला भएर ‘तारो हान्ने’ चलन छ। विभिन्न स्थानमा धनुषकाँडले तारो हान्ने गरे पनि झुम्लाबाङमा काठको फ्ल्याकमा अंगारले लगाइएको गोलो चिन्हलाई बन्दुकको निसाना बनाइन्छ। पर्वको रमझममा हल्लिँदै निसाना ताकेकाहरूमध्ये जसले गोलो चिन्हमा लगाउन सक्छ, त्यसलाई तितेपाती लगाई सम्मानसाथ काँधमा बोकेर गाउँ घुमाउने र खानेकुरा खुवाइन्छ। साँझतिर स-साना केटाकेटी जम्मा भएर घर-घरमा गई ‘बासी आन्द्रा पाई कि नपाई’ भन्दै सोध्ने गर्छन्। उनीहरूलाई पर्वमा बचेखुचेका खानेकुरा दिइन्छ। यसरी मगर जातिको बहुलता रहेको गाउँ झुम्लाबाङमा ‘माघे सङ्क्रान्ति’ हर्षोल्लासपूर्वक मनाइन्छ।

नेवार जाती :

नेवार समूदाय

नेवार समूदायमा यो संक्रान्तिलाई नेवारी भाषामा ‘घ्यूचाकु सँल्हु’ भन्दछन । यस दिन उनीहरू चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने काम गर्दछन्।  वर्षभरि आउने चाड तथा धार्मिक कार्यहरुमा विभिन्न खाद्य परिकारको स्वाद लिनु नेपालीहरुका लगि ठूलो हिस्सा नै बनेको छ । हरेक चाड पर्वमा विशेष भोज खानै पर्ने चलन पनि छ । यसै अन्तर्गत माघे संक्रान्ति पनि खाद्य पदार्थसंग जोडिएको एक विशेष चाड हो । विश्वभरि नै धर्म तथा संस्कृतिको नाममा खाद्य परिकारलाई विशेष महत्व दिइएको छ ।माघे संक्रान्ति पनि यसै अन्तर्गत पर्दछ ।

बिहानै उठेर स्नान गरी घरको सम्पूर्ण भाग सरसफाई गर्ने, देवी देवताको पूजा गर्ने, चोखोनितो गरी विभिन्न परिकारहरू तयार पार्दछन् र घरपरिवारका सम्पूर्ण मानिस जम्मा भएर मिठामिठा परिकारको स्वादमा रमाउँदै, घाम ताप्दै एक आपसमा दुःखसुखका गफमा रमाउँदै, भजनकिर्तन गर्दै यस पर्वलाई मनाउने गर्दछन् । यसै दिन भक्तपुर जिल्लाको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ । तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले नुहाइधुवाइ गरी शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास गरिन्छ । माघे सङ्क्रान्तिका दिन नारायणको मूर्तिभरि घिउ दलेर तिल चढाउने र उक्त घिउ–तिल चार दिनपछि झिकेर मन्दिरमा आउने भक्तजनलाई प्रसादका रूपमा वितरण गर्ने परम्परा छ । त्यस्तै उपत्यका नजिकैको पनौतीमा मकर मेला लाग्छ । लिच्छविकालीन राजा मानदेवको पालादेखि नै सुरू भएको अनुमान रहेको यो मेलामा असङ्ख्य भक्तजनको जमघट हुने गर्दछ ।

यसदिन बनाइने सबै खाद्य परिकारहरु न्यानोको लागि बनाइएका हुन्छन् । यसरी संक्रान्तिमा खाइने सबै खानेकुराहरु गरम प्रकृतिका हुन्छन । भनिन्छ चाकु, घ्यू, शखरखण्ड, तरुलले जाडो भगाउनुका साथै यससंग लड्ने शक्ति प्रदान पनि गर्दछ तथा शरीरको तापक्रम बढ्ने र शरीरलाई स्वस्थ्य तथा तन्दुरुस्त बनाउँछ।

संक्रान्तिको लागि आवश्यकीय वस्तुहरुमा घ्यू, चाकु, तिलको परिकार, तरुल, शखरखण्ड, पालुंगो आदि नै हुन् । तिलको लड्डु खास गरेर अरु बेलाभन्दा खास माघे संक्रान्तीको बेला नै खाइन्छ । यो दुइ प्रकारबाट बनाइन्छ । चाकुमा सेतो तथा कालो तिल राखेर चाकुसला बनाइन्छ । यसमा घ्यू, दुध, नरिवल बदाम राखेर पनि बनाइन्छ । तरुललाई पनि खास परिकारको रुपमा मानिन्छ । तरुल माघे संक्रान्तीको खास खाना हो । यो मौसममा थरीथरीका तरुलहरु बजारमा देखिन्छन्।

यस्ता तरुलहरुमा घर तरुल, हात्तीपाइला तरुल, वन तरुल आदि । तरुललाई उसिनेर बिना मसला तातो गरेर खान योग्य बनाइन्छ । अरु खाद्य परिकारसंग यसलाइ पनि मिलाएर राखिन्छ साथै यसदिन खिंचडी पनि खाइन्छ । यस्ता खानाले त्रिदोष नाश हुन्छ भन्ने धर्मशास्त्रको मान्यता रहेको छ ।  

यस दिन तेल मालिस गर्नाले शरीरको सम्पूर्ण दूषित पदार्थ बाहिर निस्कन्छ भने शरीरका नाडी तथा स्नायुमण्डल र हयी समेत तेल मालिसबाट सुदृढ र स्वस्थ्य राख्न मद्दत गर्दछ । यसदिन नेवार समुदायले टाउको तथा शरीरमा तिलको तेलले मालिस गर्दछन् । विश्वास गरिन्छ यसदिन तिलको तेलले मालिस गर्दा तथा घ्यू, चाकु तरुल, पालुगो खानाले शरीरलाई स्वस्थ्य बनाउनुका साथै जाडोको मौसममा न्यानो गराउँछ । त्यसैले यस दिनलाई घ्यू, चाकु, शखरखण्ड तथा तरुलको दिन पनि भनिन्छ । यस दिन मृत्यु भएकाहरु सीधै स्वर्ग जान्छन् भन्ने विश्वास पनि गरिन्छ । यस दिन विभिन्न जातिहरुले आ–आफ्नो तरिकाबाट यो चाड मनाउँछन् ।

नेवार समुदायमा यस दिन आमाहरुले आफ्नो परिवारको सदस्यहरुको सुस्वास्थ्यको कामना गर्दै आफ्ना बच्चाहरुको टाउको तथा शरीरमा तोरीको तेलले मालिस गरिदिन्छिन्, कानमा तेल हालि दिन्छिन् । यसै विश्वासका साथ कि यसले उनीहरुको शरीर बलियो तथा भित्रबाट न्यानोका साथै स्वथ्य गराउँछ । आफ्ना परिवारका सदस्यहरु तथा आफ्ना ज्वाई, छोरी आफ्न्तीहरु सबैलाई बोलाई आशिर्वाद दिने चाकु, घ्यू, शखरखण्ड, तरुल, खिचडीका साथै अन्य विभिन्न मिठा–मिठा खानेकुरा साथै भोज खुवाउने चलन छ

थारु जाती :

माघीमा थारू समूदाय -रासस

थारु समुदायको माघे संक्रान्तीलाई माघी भन्दछन् साथै यसलाई नयाँ वर्षको रुपमा मनाउँछन् । भनिन्छ माघ महिनाबाट उनीहरुको नयाँ चाडपर्व सुरु हुन्छ । थारुहरुले यसलाई जाडोको समाप्ती तथा न्यानोको आरम्भको रुपमा पनि मान्दछन् ।

चाडको तयारी पुष महिनाको अन्तिम साताबाट नै सुरु हुन्छ। माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ। यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ। यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ। माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर घरमा सुँगुर काट्ने चलन छ,जसलाई ‘जिता मरना दिन’ भनिन्छ। पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी -पिठोको एक परिकार), माछा लगायतको परिकार बनाएर खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ।

यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई ‘धमार’ भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकपि्रय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ । यसलाई ‘माघ लहान’ भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई ‘खिचरहवा’ भनिन्छ ।

माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ । यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ। माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किनेबेला निसराउ लिएर जान्छन् ।

थारु समूदाय

माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ । दाङ-देउखुरीमा पर्ने धार्मिकस्थल रिहार थारू समुदायको परम्परागत देवथानको रूपमा रहेको छ, त्यहाँको तातो कुण्डमा स्नान गर्न माघीको दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ । त्यहाँ भारतबाट समेत ठूलो सङ्ख्यमा तीर्थालुहरू आउँछन् । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने धार्मिक विश्वास छ । यसैगरी दाङ-देउखुरीकै गोबरडिहाको जङ्गलवा कुट्टीमा पनि माघे सङ्क्रान्तिमा मानिसहरू रातभरि जाग्रम गरी पूजाआजा गर्छन्। यसलाई बाघनाथ बाबा कुट्टी भनिन्छ। त्यस्तै, दाङ-देउखुरीको कालापानीको कुण्डमा स्नान गरी पूजा गर्नाले लुतोलगायतका रोग निको हुन्छ भन्ने जनविश्वास छ। यो ठाउँ स्थानिय थारू भाषामा खौराबाबाको नामले प्रख्यात छ।खौराबाबालाई शिवजीको अर्को रूप मानिन्छ।

यसरी विभिन्न जातजातीहरुले माघे संक्रान्तीलाई आ–आफ्नो तरिकाबाट मनाई हिन्दु संस्कृति तथा धार्मिक परम्परालाई जगेर्ना गर्दै आएका छन्।

 स्रोत : विभिन्न ई पत्रपत्रीका, फोटो: विकिपिडिया तथा सामाजिक संजाल

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img