spot_img
Monday, November 25, 2024
40.5 F
Washington DC.
spot_img

नेपाली रङ्गमञ्चको बिडोँ थाम्ने पुस्ता 

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया
सरस्वती अधिकारी

“नाटक गर्ने को–को हुनुहुन्छ?” मैले सोधेँ। हलमा भएका सबै विद्यार्थीहरूले एकै स्वरमा “हामी सबै हौं” भनेको सुन्दा त शुरूमा विश्वास नै लागेन, अचम्ममा परेँ। फेरि त्यही प्रश्न दोहोर्‍याएँ, “नाटकमा महोत्सवमा सहभागी हुने को–को हुनुहुन्छ?”, तर उत्तर उही आयो। त्यहाँ त्यस्तो जवाफ दिने विद्यार्थीको संख्या झण्डै २ सय ५० थियो।

यो प्रसङ्ग थियो ‘समता नाटक महोत्सव–२०७८’ को। नाटकप्रति भाईबहिनीहरूको रुचि देखेर मलाई धेरै खुसी लाग्यो र सँगसँगै यति धेरै पात्रहरू सहभागी भएको नाटक कस्तो हुन्छ होला र यीमध्येबाट उत्कृष्ट तीन वटा नाटकको छनौट कसरी गर्न सकिएला भन्ने प्रश्न पनि मनभित्र उठे।

यत्तिकैमा अजय सरले कार्यक्रम शुरू गर्नुभयो। अतिथिहरूको आसन ग्रहण र स्वागत मन्तव्यको औपचारिकता पूरा भएपछि सहभागीहरूले पालै–पालो आफ्नो नाटक प्रस्तुत गर्न थाले। विद्यार्थीहरू प्रस्तुत गरेका नाटकका कथाहरू पृथक–पृथक थिए– कथाको विषयवस्तु, नाटकको सेट, पोशाक, त्यहाँ बोलिएका लवज अनि  पात्रका चरित्र सबै कुराहरू फरक–फरक थिए।

मैले मन–मनै सोचेँ, “समता स्कुल” नाममात्रको समता होइन रहेछ। समताको वास्तविक अर्थ झल्किरहेका पाएँ ती नाटकका कथाहरूमा। विद्यार्थी आफैँले लेखेका, आफैंले निर्देशन गरेका, सेटमा प्रयोग हुने प्रप्स आफैँले तयार गरेका अनि अभिनय पनि आफैँ। उनीहरूको प्रस्तुति ज्यादै उत्कृष्ट थियो भनेर दावी नै गर्न नसकिए पनि उनीहरूभित्र प्रचुर सम्भावना भएको आभाष भयो। अझै समय–समयमा यस्ता अवसर पाउने हो र सिक्ने वातावरण हुने हो भने भोलि नेपाली रङ्गमञ्चको बिडोँ थाम्ने पुस्ताको अभाव कहिल्यै पर्ने थिएन भन्ने विश्वास पैदा भयो।

विद्यार्थीहरू धेरै भएका कारण सबैको नाटक प्रस्तुत गर्दा समय निकै लाग्ने देखियो। कार्यक्रम सकिसक्दा त विद्यार्थी भाइबहिनी धेरै नै भोकाइसक्छन् भनेर एकछिन ‘ब्रेक’ लिने सल्लाह भयो। अजय सरले ‘२० मिनेट ब्रेक, त्यसपछि हामी फेरि भेला हुन्छौं है’ भनेर भन्नुभयो। सरको आवाज भुइँमा खस्न पाएको थिएन होला, विद्यार्थीहरू एकै स्वरमा  “सर, हामीलाई भोक नै लागेको छैन, कार्यक्रम सकिएपछि खान्छौं” भनेर चिच्याए। हामी सानो छँदा त हामीलाई भोक नै प्यारो लाग्थ्यो,  यहाँ पनि भोक नै प्यारो भएको हो, तर त्यो भोक खानाको होईन नाटकको थियो। नाटकप्रति विद्यार्थीहरूको त्यो रुची र उत्साहले हामीलाई पनि थप उर्जा मिलेको अनुभव भयो। तर उनीहरूले अति उत्साहका कारण भोक बिर्सिएका हुन्, पेटमा  भोकै नभएको त कहाँ थियो र  ! हामीले भाइ बहिनीलाई सम्झायौँ, उहाँहरूले हाम्रो कुरा मान्नु पनि भयो। अनि हामीले एकछिन ब्रेक गरेर खाजापछि मात्रै कार्यक्रमलाई निरन्तरता दियौँ।

मैले अघिदेखि अजय सरको नाम त लिइरहेँ तर उहाँको परिचय दिन भने भुलेछु। उहाँको पूरा नाम अजय सुशील अधिकारी हो जो समता स्कुलको प्रधानाध्यापक हुनुहुन्छ। उहाँले नै मलाई यसरी समता स्कूलले पहिलो पटक नाटक महोत्सवको  आयोजना गर्न लागेको कुरा अवगत गराउँदै “म्याम आउनुहुन्छ नि, भाइ बहिनीलाई प्रोत्साहन मिल्ने थियो” भनेर आमन्त्रण गर्नुभएको थियो। मलाई यस महोत्सवसँग जोडिदिने अजय सरलाई हार्दिक धन्यवाद, समताको स्नेहले पुलकित भएको अनुभूति गरेकी छु।

समता नाटक महोत्सव–२०७७

हुन त ज्यादै गर्मी पनि भइसकेको थिएन, तर मान्छेको चाप बढी भएर होला, गर्मी बढेको महसुस हुँदै थियो। विद्यार्थीरूको त्यही भीडमा एकजना छात्रा स्वेच्छाले पटक–पटक पानी ओसारेर सबैलाई पिलाउँदै हुनुहुन्थ्यो। ‘उनलाई पनि अरू साथीहरूसँगै बसेर नाटक हेर्न मन लागिरहेको हुँदो हो’ भन्ने मलाई लागेको थियो। त्यही कुरा अजय सरले पनि याद गरिरहनु भएको रहेछ। कार्यक्रमको अन्त्यमा अजय सरले ती छात्रालाई मञ्चमा बोलाएर उनको सेवाभावको कदर गर्दै रुद्राक्षको माला लगाईदिनु भयो।

समता स्कुलमा पाठ्यक्रममा भएका कुरा मात्र नभएर अन्य थुप्रै मानवीय गुण समेत सिकाइँदो रहेछ भन्ने कुरा मैले थाहा पाएँ। मानवताको भावना प्रस्तुत गर्न धेरै ठूलो घटना हुनुपर्दो रहेनछ। हुन त यो जगत नै सुक्ष्म–सुक्ष्म कुराहरू मिलेर बनेको छ भन्छन्। हामीले सबै नाटक हेर्‍यौँ र तीन उत्कृष्ट नाटकको छनौट पनि गर्‍यौँ। नाटक महोत्सव समापन भएपछि केही समय सहभागीहरूसँग छलफल गरेर म घर फर्किएँ। मेरो तन घरतिर जाँदै थियो तर यो मनभने अझै पनि ती नाटकका पात्रहरूसँगै कतै सल्बलाउँदै थिए।

महिनाको एक सय रूपैयाँमा नर्सरी कक्षादेखि स्नातकोत्तर तहसम्म पढ्न पाइने “समता स्कूल” को बारेमा धेरै सुनेको त थिएँ तर आफैँ प्रत्यक्ष रूपमा त्यहाँको वातावरणमा भिज्ने मौका भने अझैसम्म पाएको थिइँन।  त्यो नाटक महोत्सव मेरा निम्ति समतासँग राम्रोसँग परिचित हुने बहाना बनेर आयो। समता स्कुलमा अध्ययन गरेर विभिन्न क्षेत्रमा सफलता हासिल गरेका र नाम कमाएका धेरै मानिसहरूको अन्तर्वार्ता पढेको, हेरेको र सुनेकै हो। आँट गर्ने हो भने केवल एक सय रूपैयाँ मासिक शुल्कमा पनि गुणस्तरीय र समतामूलक शिक्षा सबैलाई दिनसकिने रहेछ भन्ने कुराको उदाहरण हो समता स्कुल।

मलाई अहिले १२ वर्ष अगाडिको एउटा घटनाको सम्झना भइरहेको छ। ‘१२ वर्षमा बगेको खोला त फर्किन्छ’ भन्थे, साँच्चै कहिलेकाहीँ त्यस्तै हुँदोरहेछ। हामी त्यतिबेला लालबन्दी मै थियौं। म त्यहाँ एउटा विद्यालयमा पढाउँथे। एक दिन मेरो घर नजिकैको एकजना भाइ मलाई घरबाट झट्ट आईहाल्नु भन्ने खबर लिएर स्कूलमै आइपुग्यो। म पनि ‘के भएर होला? यसरी स्कुलमै बोलाउन पठाछन्, केही अशुभ त भएन?’ भनेर आत्तिएर दौडादौड गर्दै घर पुगेँ। घरमा बाबा पनि बिरामी भइरहनु हुन्थ्यो। घर पुग्दा त सबैजना हँसिलो मुद्रामा गफ चुटिरहेका पो देख्छु ! म त एकछिन जिल्ल परेँ।

‘किन यसरी बोलाउनु भएको’ भनेर आमालाई सोध्दा “उहाँ सरहरूलाई भेट्न” भन्नुभयो। म थच्चक्कै गुन्द्रीमा बसेछु, दौडी–दौडी घर पुगेकी थिएँ नी त। मलाई पाहुना छन् भन्ने यादै भएन। पछि आमाले “लौ यो त थपक्क बसी ! यहाँ हामी सबै एउटा कुराको छलफल गर्न भनेर उठिरहेको छौँ” भन्नुभयो। “म काममा गएको मान्छेलाई के गफ गर्न भनेर आत्तिने गरी बोलाउन पठाको त?” भन्न मन थियो,  तर मान्छेको अगाडि केही बोलिनँ।

“बसि त हालेँ, बसेर सल्लाह नै नहुने होईन होला त, बस्नु त सबैजना” यति चाहिँ भने। मैले नचिनेका दुईजना सरहरू हुनुहुन्थ्यो। बुझ्दै जाँदा उहाँहरू लालबन्दीमा पनि समता स्कुल स्थापना गर्नका लागि भनेर आउनु भएको रहेछ र त्यसका लागि आवश्यक जग्गाको खोजी गर्दै हुनुहुँदो रहेछ। त्यही क्रममा कसैले उहाँहरूलाई हामी जमिन्दारको परिवारबाट भएको, हामीलाई त्यसबारेमा धेरै थाहा भएको र  हामीसँग भेट्दा काम बन्छ भनेर हाम्रो घर पठाईदिएका रहेछन्।

हामीले स्कुलका लागि आवश्यक जमीन मिलाउन उहाँहरूलाई सहयोग गर्‍यौँ र स्कुलको शिलान्यास हुने बेलामा त्यसको व्यापक प्रचार–प्रसार समेत गरिदियौँ।

लालबन्दीमा समता स्कुलको शिलान्यास गर्न काठमाडौंबाट विजयकुमार पाण्डे, हरिवंश अचार्य, उपेन्द्र महतो लगायत धेरै ख्यातिप्राप्त व्यक्तिहरू आउनुभएको थियो। ती हस्तीहरूलाई देख्नमात्र पाउँदा पनि हामी दङ्ग थियौँ।

त्यही वर्ष मेरो बाबाको निधन भयो, त्यसपछी हामी लालबन्दी बसेनौँ। हाम्रो परिवार बसाइँ सरेर काठमाडौं आयो। त्यसपछि समता स्कुलसँग कुनै किसिमको सम्वन्ध हुन पाएन। त्यस घटनाको झण्डै १२ वर्षपछि एक दिन अचानक समता स्कुलका फाउन्डर उत्तम सन्जेल सरको फोन आयो। “म्याडम हामीसँग सहकार्य गर्नुपर्‍यो, म फिल्म बनाउँदैछु। हाम्रो टिममा तपाईं आउनुपर्‍यो। फोनमा बोलिरहेका उत्तम सन्जेल सरलाई थाहा थिएन कि म त्यही सरस्वती हुँ, अनि मलाई पनि कुनै जानकारी थिएन कि उहाँ त्यही समता स्कुलको उत्तम सर हुनुहुन्छ। मानिसको एउटा मात्र पहिचान कहाँ हुँदोरहेछ र !

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

जिममा भन्दा घरको काममा श्रीमतीलाई सहयोग गर्दा पुरूषले पाउछ धेरै स्वास्थ लाभ

दिनको कामको थकानले भरिएका उनीहरू, आयुष र प्रीति, साँझ घर फर्किए। दुवै एकअर्काको साथमा समय बिताउन चाहन्थे, तर उनीहरूको...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img