spot_img
Sunday, September 22, 2024
66 F
Washington DC.
spot_img

काठमाण्डौले मनपराएको बालेन – सुनिताको युवा जोडी

सम्बन्धित समाचार

काठमाण्डौ महानगरपालिकाका अधिकांश बासिन्दाहरुले बालेन शाहलाई खासै चिनेका थिएनन्। तर, उनी यस्तरी उदाएकी प्रतेक घरका युवाहरुले आफ्ना बा, आमा तथा छर छिमिकीहरुलाई समेत बालेनको पक्षमा भोट हाल्न हौसाए। धेरैले युवाहरुको आग्रहलाई पालना गरेको निर्वाचनको हालसम्मको परिणामबाट अनुमान गर्न सकिन्छ।

यसका पछाडीको मूल कारण थियो – पुराना दलहरुको कार्यशैली प्रतिको वितृष्णा !

युवाहरुले नयाँ प्रयोग रुचाउदै परम्परागत कार्यशैलीलाई रुपान्तरण गरी काठमाण्डौको विकास गर्न चाहेको र त्यसलाई मूर्तरूप दिन बालेनको उम्मेदवारीलाई काठमाण्डौका मतदाताहरुले ग्रहण गरेको देखिएको छ।

चुनावी प्रचारका दौरानमा समेत ३२ बर्षे युवा र्यापरको क्रेज बनाई त्यसमार्फत युवा पंक्तिको रोजाई बन्न सक्नु लगायत उनको स्ट्रक्चरल इन्जिनियरको पेशागत पहिचान तथा उनले काठमाण्डौको बिकासकालागी आफ्नो प्राबिधिक अनुभव अनुरुप उठान गरेका योजनाहरुले बालेनको पक्ष दिन प्रतिदिन मजबुत हुदै गयो।

उता, उदयमान र्यापर युवाको परिचय भएका बालेनका समर्थकहरु यसरी बढे की उनले काठमाण्डौमा खासै भोट माग्नु नै परेन। सङ्गठितरुपले युवाहरुलाई आफु तर्फ आकर्षण गर्न सफल बालेनका समर्थकहरुले सामाजिक संजालको प्रचूर प्रयोग गर्दै उनकालागी चुनावी प्रचार क्याम्पेन चलाए।

बालेनले मिडिया मार्फत होस वा सार्वजनिक भेटघाटमा, कसैलाई पनि विझाउने र रुझाउने भनाई राखेनन् बरु आफ्ना प्रतिस्पर्धी स्थापितले गरेको आलोचना तथा विरोधलाई सालिनताका साथ पचाउदै स्थापित आफ्ना बुवा समान भएका र आफुलाई सुधार्ने बिचार राखेको नै बताए। उनको सालिन व्यक्तित्वले समेत काठमाण्डौका मतदातालाई परम्परागत मत परिवर्तन गरी स्वतन्त्र उम्मेदवार बालेनको लठ्ठी चिन्हमा मत जाहेर गर्न प्रेरक बन्यो।

अहिलेसम्म काठमाडौं महानगरको ४८,३०१ भोट गणना भएको छ । यतिबेला सम्म बालेन १८,८७८ मतका साथ आफ्ना प्रतिस्पर्धी एमालेका केशव स्थापित भन्दा झन्डै दोब्बर मतले अगाडि छन्।

उता , एमालेबाट उपमेयरमा उम्मेदवार बनेकी युवा सुनिता डंगोलले बालेन सरहको लोकप्रिय मत बटुल्न सफल भएकी छन्। उनले यतिबेला १८,०४१ मत ल्याएकी छन्। मत गणनाको ठुलै अंश बाकि नै रहेको अवस्थामा समेत उनलाई बधाईको ओइरो लाग्न थालिसकेको छ । प्रतिस्पर्धी उम्मेदवारसँग सुनिताको भीमकाय अन्तराल भएकाले उनको जित निश्चितप्रायः देखिएको छ।

सत्ता गठबन्धन तथा नेपाली कांग्रेसका तर्फबाट मेयर उम्मेदवार सिर्जना श्रेष्ठ/सिंह भने चुनावी दौडमा बालेन भन्दा धेरै पछाडी छन्।

सन् २०११ मा मिस नेवाःको ताज पहिरिन सफल लोकप्रिय युवा हुन् सुनिता डंगोल। अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने रन्जना लिपीलाई नवीन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउँदै आएकी एक प्रतिभाशाली युवाको रुपमा समेत सुनितालाई चिनिन्छ ।

एमालेबाट उपमेयरमा सुनिताले पाएको मतलाई हेर्दा काठमाण्डौका मतदाताले एमालेलाई नभएर एक युवालाई छनौट गरेको देखिन्छ। सुनिताले उपमेयरमा उल्लेखनीय भोट पाउदा एमाले कै मेयरका उम्मेदवार केशव स्थापितले भोट पाउन सकेनन। यसबाट भन्न सकिन्छ कि बालेनले स्थापितको भोट आफ्नो तर्फ तान्न सफल भएका छन् । आफ्नै भन्नेले समेत पार्टीलाई भोट नहालेको एमाले पक्षको भनाईले पनि यस कुराको पुष्टि गर्दछ। महानगरका भित्री वडाहरु ११ देखि २८ सम्म गणना गर्दा मेयरमा आफूहरुले लिड गर्ने र चुनाव जित्ने दाबी अहिले पनि एमाले पक्षले गर्दै आएको छ। तर, एमालेको गढ मानिएको वडा र क्षेत्रमै मेयरमा भोट नआए पछि भने एमाले पक्ष निराश भएको छ।

दुई युवाहरुले बटुलेको मतबाट के स्पस्ट हुन्छ भने काठमाण्डौका मतदाताले परम्परागतको राजनीतिक परिपाटीलाई यसपाली खारेज गर्दै परिवर्तन र विकासका लागि नयाँ पिडीको खोजीमा बालेन र सुनिताको युवा जोडीलाई रोजेका छन्।

चुनावी अभियानका क्रममा सुनिताले बालेनको विषयमा गरेको टिप्पणी अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । उनले एउटा भाषणमा आफूले चुनाव जितेपछि काठमाडौंमा एमफी थियटर बनाउने र बालेनलाई गाउन निम्त्याउने बताएकी थिइन् । अब बालेन नै मेयर बन्ने सम्भावना बढेपछि सुनिता आफ्नो टिप्पणीको बचाउ गर्दै भन्न थालेकी छन् कि र्याप राम्रो कुरा भएको र संगीतको एउटा विधा भएकाले बालेनले मेयर जितेमा र्याप गाउन छोडनु हुदैन। बालेनले भोलि मेयरकै पदमा बसेर पनि एमफी थिएटरमा र्याप गाउन सक्ने उनको भनाई आएको छ । अरु देशमा पनि विभिन्न उच्च ओहदामा रहेका व्यक्तिहरुले आफ्नो विशेष कलाहरु स्टेजमा देखाउदै आएकाले र्याप नराम्रो नभएको उनको भनाई छ ।

बालेन लगायतका निर्वाचित भएमा आफुले टिमवर्क गरेर काठमाण्डौका बासिन्दाको हितमा काम गर्न प्रयास गर्ने सुनिताले बताएकी छन। उता, प्राविधिक ज्ञान बटुलेका बालेनले भक्तपुरको विकासबाट आफु प्रभावित भएको र काठमाण्डौको विकासमा राम्रा मोडलहरु लागू गरिने बताएका छन्।

महानगर चल्ने कार्यपालिकाले हो, कार्यपालिका सदस्यमा सबै वडा एमालेले जित्छ, अनि बालेन एक्लैले कसरी काम गर्न सक्छ भन्ने एमाले पक्षको टिप्पणीलाई दलगत पहिचान नभएको एउटा स्वतन्त्र उम्मेदवारलाई काम गर्न गाह्रो हुदैन भन्ने जिज्ञासामा उनले आफ्ना बैठक लगायत प्रतेक गतिविधिहरुलाई समुदाय समक्ष लाईभ कार्यक्रमगरी जानकारी गराउने र राम्रा कामहरुलाई सबैले सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताएका छन्।

बिगतमा एमालेको गढ मानिएको काठमाण्डौको भित्री क्षेत्रको ठुलो मत गणना बाकि नै रहेको अवस्था एकातर्फ छ भने अर्का तर्फ काठमाण्डौबासीको युवा र नयाँ परिवर्तनको रोजाई अन्तर्गत बालेन र सुनिताको लहर , नतिजा जे आए पनि यसपालिको काठमाण्डौको निर्वाचनको परिणाम भने चर्चित तथा रोमाञ्चक हुने पक्का छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img