अमेरिकाको डेनभरमा मंगलबार सामूहिक गोली प्रहारको घटना भएको छ । डेनभरमा भएको सामूहिक गोलीकाण्डमा १० जना घाइते भएको र ९ जनाको पहिचान भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बास्केटबलका फ्यानहरू डेनभर नगेट्सको पहिलो एनबीए उपाधि जितको उत्सव मनाइरहेका थिए। यसै क्रममा सामूहिक गोली प्रहारको घटना भएको थियो । शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
डेनभर प्रहरी विभागले जारी गरेको एक विज्ञप्ति अनुसार गोलीबारी लगभग १२ : ३० बजे भएको थियो। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । पुलिसका अनुसार गोलीबारी बल एरिनाबाट करिब एक माइलको दूरीमा भएको थियो, जहाँ डेनभर नगेट्सले सोमबार राती मियामी हीटलाई हराएर आफ्नो पहिलो एनबीए उपाधि जितेको थियो।
प्रहरी प्रवक्ता डग सेपम्यानले गोली चलाउनुको कारण पत्ता नलागेकोले बताएका छन् । हाल प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
प्रहरी प्रवक्ताका अनुसार गोली चलेको समयमा उक्त क्षेत्रमा मानिसहरुको भीड थियो । खेलपछि मनाउन धेरै मानिस जम्मा भएको क्षेत्रमा गोली हानाहान भएको सेपम्यानले बताए । प्रहरीले प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको छ ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया