Wednesday, June 10, 2026
72.7 F
Washington DC.

पौरखी किसनराम: जुत्ताचप्पल सिलाएरै महिनामा ७० हजार कमाउछन्

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कल्पना गर्नुस् त ! तपाईं काम विशेषले कतै जाँदै हुनुहुन्छ र अचानक बाटोमा जुत्ताको सोल उप्किन्छ या चप्पल चुँडिन्छ। एउटा मनस्थिति बनाएर काममा हिँडेको तपाईं पक्कै छट्पटिनुहुन्छ। तपाईंसँग नयाँ जुत्ता–चप्पल किन पर्याप्त पैसा नहुन पनि सक्छ। अनि यस्तो बेला कोही जुत्ताचप्पल सिलाउने कोही छ कि भनेर यताउति हेर्नुहुन्छ वा यसबारे कसैलाई सोध्नुहुन्छ। यस्तै समस्याको समाधान हुनुहुन्छ किसनराम चमार।

सर्लाही जिल्ला रामनगर गाँउपालिका वडा नं ४ बहुहारवामा जन्मिएका किसन ४१ वर्षका हुनुभयो। उहाँका किसान बुवा मडु महरा चमारले साहुहरूको खेती कमाउँदै परिवार पाल्दै आउनुभएको थियो। तर उहाँ अहिले ८३ वर्षको हुनुभो। खेतीपाती गर्न सक्नुहुन्न। बुवाले गरिआएको कृषि पेसा मन नपरेर आफैं केही गर्छु भनी १५ वर्षको उमेरमा किसन काठमाडौँ आउनुभएको थियो।

‘घरको जेठो छोरा भएपछि जिम्मेवारीले पोल्न थाल्यो,’ किसन सुनाउनुहुन्छ, ‘अरुको खेतबारी कमाएर वर्षमा एक–दुई बाली भित्र्याएर मात्रै भएन, आफूले पाँचभन्दा बढी कक्षा नपढे पनि भाइबहिनीलाई चाहिँ पढाउनुपर्छ भन्ने सोच जाग्यो। त्यसैले सानै उमेरमा काठमाडौँ आएर संघर्ष गर्न थालें।’

किसन पहिलोपटक काठमाडौं आँउदा खानबस्न समस्या भएन। पहिल्यैदेखि साथी गगनदेव चमार आएर बस्नुभएको थियो। किसन उहाँसँगै बस्नु थाल्नुभयो। एकाध दिन बसेपछि सधैँ बसेर खान पाइने थिएन। संघर्षका दिन बल्ल सुरु भए।

‘गगनले बिहानैदेखि जोरपाटी, मेडिकल कलेज, सुन्दरीजल, आरुबारी, कपन, चाबहिल, चुनीखेलमा जुत्ता सिलाउने काम सिकाउन लग्यो,’ किसन भन्नुहुन्छ, ‘आफू दुब्लोपातलो थिएँ। त्यसैमाथि १५ वर्षे ठिटो। आवश्यक सामान बोकेर हिँड्न कठिन हुन्थ्यो। सुरु–सुरुमा लाज पनि लाग्थ्यो।’

यसरी दुई जनाले दुःख गर्दा दिनमा डेढ सयदेखि दुई समयसम्म कमाइ हुन्थ्यो। गल्लीगल्लीमा गएर ‘जुत्ताचप्पल सिउने आयो’ भन्दै हिँड्नुभयो। कतिले गाली पनि गरे। ‘धोती’ भनेर अपहेलना पनि गरे। तर बिस्तारै बानी पर्दै गयो। ‘बानी परेपछि जे भने पनि चुप लागेर बस्ने र आफ्नो काम गर्न थालेँ,’ किसनले सुनाउनुभयो।

काठमाडौँ आएको तीनदेखि चार महिनाभित्र काम सिक्नुभएछ। ‘ऋणको भारी र घरपरिवारको कमजोर आर्थिक अवस्था भएपछि काम पनि छिटो सिकिने रहेछ,’ किसनले भन्नुभयो, ‘काम सिकेपछि केही आशा जाग्यो।’

काम सिकेर यसैमा भविष्य देख्नुभएका किसनले समय बित्तै पत्तै पाउनुभएन। काठमाडौँ आएको ९ वर्षपछि रौतहटकी गंगाजल देवी चमारसँग मागी बिहे गर्नुभयो। दुई छोरा जन्मिए। उनीहरूलाई हुर्काउँदा, बढाउँदा र पढाउँदा ऋण लाग्यो। त्यही ऋण तिर्न फेरि काठमाडौँ आउनुपरेको कथा किसनले सुनाउनुभयो।

वर्षौंको मिहिनेत र लगावले हिजोआज कमाइ पनि राम्रै हुँदै गएको छ। ‘अहिले दिनको एक हजार देखि १५ सयसम्म हुन्छ,’ उहाँ सुनाउनुहुन्छ, ‘असोजदेखि माघसम्म जाडो याममा मासिक ६० देखि ७० हजारसम्म कमाइ हुन्छ। अरु बेला ३५ देखि ४० हजारसम्म हुन्छ।’

दुई दशक लामो यो पेसामा किसनले अहिलेसम्म सबैभन्दा धेरै दिनको २७०० र सबैभन्दा कम ७० रुपैयाँ कमाउनुभएको छ।

सामान्यतय पाँच हजारको लगानीबाट यो काम सुरु गर्न सकिने किसनको अनुभव छ। यही दुःख गरेर छोराहरूको अध्ययन सकेसम्म पूरा गरिदिने किसनुको धोको छ। नत्र विकल्पमा विदेश पठाइदिने सोच राख्नुभएको छ। ‘तर छोराहरूलाई आफूले गरेको काममा हात पनि लगाउन दिन्नँ,’ किसन भन्नुहुन्छ।

कागेश्वरी मनोहरा–८ किरातचोकमा बस्दै आहिरहेका किसनको जीविकोपार्जन यही सिलाइ पेसाले गरिरहेको छ। छोराले पनि यसकै आधारमा पढिरहेका छन्। सबै खर्चको स्रोत पनि यही हो।श्रोत: रूपेश आचार्य /आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img