रुसको राजधानी मस्कोमा फेरि ड्रोन आक्रमण भएको छ । आक्रमणको दोष युक्रेनमाथि लगाइएको छ । आक्रमण आइतबार बिहान भएको हो। आक्रमणबाट दुईवटा भवनमा क्षति पुगेको छ । ड्रोन आक्रमणको भिडियो पनि सार्वजनिक भएको छ, जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मस्कोका मेयरले पनि आक्रमणको पुष्टि गरेका छन् ।
रुसले सावधानीका रूपमा आफ्नो नुकाभो विमानस्थल बन्द गरेको छ । मिडिया रिपोर्टका अनुसार मस्कोको आइक्यू क्वार्टर नामक अग्लो भवनमा हमला भएको थियो । भवनमा आवासीय अपार्टमेन्ट र सरकारी कार्यालयहरू भएको बताइएको छ । उक्त हमलामा एक जना घाइते पनि भएको समाचारमा जनाइएको छ ।
मस्कोको अर्को भवनमा पनि ड्रोन आक्रमण भएको खबर छ। एउटा सार्वजनिक भएको भिडियोमा एक महिला आफ्नो अपार्टमेन्टमा सुतिरहेको देख्न सकिन्छ जब ड्रोन उनको भवनमा ठोक्किन्छ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले पनि मस्कोका दुईवटा भवनमा ड्रोन आक्रमण भएको पुष्टि गरेका छन्। तर, आक्रमणमा खासै क्षति नभएको उनले बताएका छन् । रुसको रक्षा मन्त्रालयले रुसको एयर डिफेन्सले पश्चिमी मस्कोमा युक्रेनी ड्रोन खसालेको जानकारी दिएको छ । गत हप्ता पनि मस्कोमा दुईवटा ड्रोन आक्रमण भएको खबर आएको थियो । त्यस आक्रमणमा पनि युक्रेनमाथि आरोप लगाइएको थियो ।
रुसको राजधानी मस्कोमा पछिल्ला महिनाहरूमा धेरै ड्रोन आक्रमणहरू भएका छन्। मे ३ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा ड्रोन आक्रमण भएको थियो । मिडिया रिपोर्टका अनुसार यो वर्ष रुस र रुसको नियन्त्रित क्षेत्रहरूमा सयभन्दा बढी ड्रोन आक्रमण भएका छन्। रुसले जुलाई ४ मा राजधानी मस्कोका विभिन्न स्थानमा पाँचवटा ड्रोन आक्रमण भएको जनाएको छ ।
बेलायती थिंक ट्याङ्क रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटले हालै एक प्रतिवेदन सार्वजनिक गर्दै रुस–युक्रेन युद्धमा ठूलो संख्यामा ड्रोन प्रयोग भइरहेको बताएको छ । प्रतिवेदनका अनुसार युक्रेनले अहिले युद्धक्षेत्रमा हरेक महिना करिब १० हजार ड्रोन प्रयोग गरिरहेको छ । युक्रेनले युरोपेली देश, अमेरिका र अन्य देशबाट ठूलो संख्यामा ड्रोन प्राप्त गरिरहेको छ । अहिले रुसी सेनाले पनि ठूलो परिमाणमा ड्रोन खरिद गरिरहेको छ । रुसले इजरायल र इरानबाट ड्रोन खरिद गरिरहेको बताइन्छ ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया