INS | १९ चैत्र २०७८, शनिबार (–सिहर अनिज, कोलम्बो (थमसन रोयटर्स फाउन्डेसन)
श्रीलंकामा वेटरका रूपमा काम गर्दै आएका अब्दुल रजकले साथीको मोटरसाइकल प्रयोग गरेर ‘उबर इट्स’ का लागि खाद्य सामग्री ढुवानीको काम गर्ने सोच बनाएका थिए।
तर, सोचेजस्तो भएन।ढुवानी गरेर पैसा कमाउनुको सट्टा उनी इन्धनका लागि लामो लाइन बस्नमै व्यस्त भए।
सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका नागरिक अहिले इन्धन अभाव, विद्युत कटौती र खाद्यवस्तुको मूल्यवृद्धिका कारण सहायक पेसाको खोजीमा छन्।
‘यस्तो आर्थिक संकट हामीले कहिल्यै झेल्नुपरेको थिएन’, ५३ वर्षीय रजक भन्छन्।
‘कहिलेकाहीँ हाम्रा बालबच्चालाई दुई छाक खुवाउन म र मेरी श्रीमती भाकै बस्छौँ।पहिले उनीहरूलाई हामी तीन छाक सजिलै खुवाउँथ्यौँ’, उनले भने।
सरकारको इतिहासकै सबैभन्दा कमजोर वित्तीय अवस्था, समयको सन्तुलन नभएको कर छुट र कोभिड–१९ महामारीका कारण महत्वपूर्ण पर्यटन व्यवसाय धाराशायी बनेपछि अर्थतन्त्र असफलताको बाटोमा लागेको छ, जसका कारण मौद्रिक संकट भई इन्धन आपूर्तिमा समस्या हुनुका साथै खाद्यान्नमा भारी मूल्यवृद्धि भएको छ।
‘हामी यहाँ बाँच्न सक्ने अवस्था अब छैन’, ४३ वर्षीय इन्दिका पेरेराले भने।एक निजी कम्पनीमा सेक्युरिटी गार्डका काम गरिरहेका पेरेराको वार्षिक आम्दानी ४० हजार श्रीलंकाली रुपैयाँ (१ सय ५५ डलर हाराहारी) छ।
खाद्य सामग्रीका लागि मासिक १० हजार श्रीलंकाली रुपैयाँ खर्च गरे पुग्ने पेरेराले अहिले आफ्नो तलबको आधा खर्च गर्नुपरेको छ।
आफ्ना तीन सन्तानलाई दिनको एक छाक सादा भात बाहेक अरू केही खुवाउन नसकेको उनको गुनासो छ।दिन धेरै राम्रो छ भने उनले उनको परिवारका लागि प्रोटिनको एक मात्र स्रोतका रूपमा एउटा राम्रो माछा भेट्टाउने थोमसन रोयटर्स फाउन्डेसनलाई बताए।
‘कहिलेकाहीँ म र मेरी श्रीमती भोकले ग्रस्त हुन्छौँ’, पेरेराले भने।पेरेराले राति वेटरका रूपमा काम गर्न त खोजे, तर दिउँसोको काममा निदाउन थालेपछि उनले रातिको काम छाडे।
अभावका कारण सिर्जना भएको हतासका कारण इन्धन र अन्य अत्यावश्यक सामग्री किन्ने स्थानीयबीच द्वन्द्व नै हुने गर्छ।
सवारीसाधन प्रयोगकर्ता इन्धनको लागि एकाबिहानै लाइन बस्छन् र घन्टौँ कुर्न बाध्य हुन्छन्।
प्रहरीका अनुसार मार्च २१ मा तीनपाङ्ग्रे गाडीका एक चालकले इन्धनको निहुँमा अर्का मानिसलाई छुरा प्रहार गरे भने अघिल्लो हप्ता मात्रै गर्मीमा इन्धन किन्न लाइन बसेका चार वृद्धहरूको मृत्यु भयो।
प्रभावकारी रूपमा वितरण नभएको भन्दै मार्च २२ बाट सयौँ इन्धन बिक्री केन्द्रमा सेना परिचालन गरिएको छ।उता किसान र माझीहरू पनि आन्दोलनमा उत्रिएका छन्।
कागज र मसीका लागि बजेट नभएपछि सम्बन्धित निकायले लाखौँ विद्यार्थीको परीक्षा नै सारेका थिए।
‘यो अभूतपूर्व छ।सबैजना संकटबाट कुनै न कुनै प्रकारले प्रभावित भएकाले पहिलेजस्तो सहयोगको आह्वान हामीले गर्न सक्दैनौँ’, गरिबहरूलाई दान दिएर सहयोग गर्दै आएको श्रीलंकाली मुस्लिम परिषद्का अध्यक्ष एन.एम अमिनले भने।
जीवन वा मृत्यु
वैदेशिक ऋण र सुस्त आर्थिक वृद्धिका कारण कोभिड–१९ महामारी शुरू हुनुअघि पनि श्रीलंकाको अर्थतन्त्र समस्याग्रस्त भए तापनि लगातार लकडाउन हुनु देशको ६० प्रतिशत जनशक्ति निर्भर रहेको अनौपचारिक क्षेत्रका लागि घातक हुन पुग्यो।
रोजगारमा कमी र आयमा गिरावट आएका कारण २ करोड २० लाख जनसंख्या भएको देशमा गरिबी चुलिएको छ।
श्रीलंकामा ३.२० अमेरिकी डलरको दैनिक आम्दानीमा बाँचिरहेका गरिबहरूको अनुपात सन् २०१९ मा ९.२ प्रतिशत रहेकोमा सन् २०२० मा ११.७ प्रतिशत पुगी ५ लाखभन्दा बढीले बृद्धि भएको विश्व बैंकले जनाएको छ।
केन्द्रीय बैंकको तथ्याङ्कका अनुसार कोभिड–१९ लकडाउनका बेला सरकारले ५० लाख घरपरिवारलाई ‘कमजोर आर्थिक अवस्था भएका निम्न आय परिवार’ भनी पहिचान गरेर ती सबै परिवारलाई ५ हजार रुपैयाँ उपलब्ध गराएको थियो।
तर, त्यो सहयोग लामो समयसम्म काम लागेन।पछिल्लो समय रुस–युक्रेन युद्धको परिवेशमा बढिरहेको इन्धनको मूल्यका कारण आर्थिक मन्दी आएपछि श्रीलंकालाई अर्को झट्का लागेको छ, जसका कारण निराशा एवम् तनाव बढेको छ ।
श्रीलंकाले विश्व बैंक र अन्तराष्ट्रिय मुद्राकोषबाट यही वर्षभित्र सहयोग पाउनेबारे पनि यस महिना बहस हुनेछ।चीन र भारतबाट श्रीलंकाले केही सहयोग पाइसकेको छ।
मनोरञ्जन लगायतमा खर्च कटौती गर्दै सस्तो खानेकुरामा आफू आकर्षित भएको केही श्रीलंकालीहरूले बताएका छन्।केहीले भने बालबच्चाको शैक्षिक खर्च कटौती गरेको जनाएका छन्।
डाक्टरकहाँ जानु धेरै महँगो भएपछि धेरैले आफ्नै इच्छाअनुसार औषधि प्रयोग गर्न थालेका छन्, जुन विश्व स्वास्थ्य संगठनका अनुसार मृत्युदर बढाउन सहयोगी हुने गर्छ ।
अनुवाद– छत्र कार्की, श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया