spot_img
Monday, September 23, 2024
67.7 F
Washington DC.
spot_img

महिला फुटबलः नेपाल स्तब्ध, बंगलादेशले रच्यो इतिहास 

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आशुतोष अधिकारी, काठमान्डौ- साफ च्याम्पियनसिप महिला फुटबलको फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेश नयाँ इतिहास रच्न सफल भएको छ। आज दशरथ रङ्गशालामा भएको खेलमा घरेलु टोली नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै बंगलादेशले पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि आफ्नो नाम गराउँदै नयाँ इतिहास रचेको छ।

यसअघि सम्पन्न पाँचै संस्करणको उपाधि जितेको भारतलाई सेमिफाइनलमा पराजित गर्दै प्रतियोगिताको अन्तिम दुईमा स्थान बनाएको नेपाली टोलीसामु यसपटक साफ च्याम्पियनसिपको उपाधि जित्दै राष्ट्रलाई ऐतिहासिक सफलता दिलाउने एकदमै राम्रो अवसर प्राप्त थियो। तर नेपाली टोली त्यो अवसरलाई सदुपयोग गर्न पुन: एकपटक असफल भएको छ। यसअघि चारपटक फाइनलमा पुगेर चारैपटक भारतसँग पराजित भएको नेपाल पाँचौ फाइनलमा बंगलादेशका सामु घुँडा टेक्न वाध्य भएको छ।

काठमाडौंको दशरथ रङ्गशालामा १५ हजारभन्दा बढी घरेलु समर्थकको साथ पाएको नेपाली टोलीले फाइनलमा सोचेअनुरूप खेल प्रदर्शन गर्न सकेन। फाइनलमा नेपालको सुरुवात नै सन्तोषजनक रहन सकेन। खेलमा राम्रोसँग तालमेल मिलाउने प्रयास गरिरहेको नेपाली टोलीले १३औँ मिनेटमा पहिलो गोल ब्यहोर्नुपरेको थियो। बंगलादेशकी मोनिका चक्माले दुई नेपाली डिफेन्डरलाई छक्याउँदै मैदानको दायाँ कुनाबाट निकालेको सटीक पासलाई उत्कृष्ट तरिकाले फ्लिक गर्दै समसुनहार जुनियरले बंगलादेशलाई अग्रता दिलाएकी थिइन्।

खेलको शुरुमै गोल खाएपछि दबाबमा आएको नेपालले पहिलो हाफमा केही राम्रा मुभ बनाए पनि फिनिसिङमा चुक्दा खेल बराबरीमा ल्याउन असफल भएको थियो। खेलको ४२औँ मिनेटमा नेपालको कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै बंगलादेशकी कृष्णरानी सरकार टोलीका लागि अर्को गोल थप्न सफल भएकी थिइन्।

पहिलो हाफमा नेपाल २–० गोलले पछाडि रह्यो। पहिलो हाफमा नेपालकी अनिता बस्नेतले प्रहार गरेको फ्रि किक बंगलादेशकी गोलकिपर रुप्ना चक्माले उत्कृष्ट बचाउ गरेकी थिइन् भने त्यसपछि गरेको अर्को प्रहार पोस्टमा लागेर फर्किएको थियो।

डेँगुको संक्रमणका कारण प्रतियोगिताका यसअघिका केही खेल गुमाएकी नेपालकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारीलाई नेपालका प्रशिक्षक कुमार थापाले खेलको दोस्रो हाफमा मैदानमा उतारेको थियो। दोस्रो हाफमा नेपालले एकमाथि अर्को आक्रमण बुन्दै विपक्षीमाथि दबाब सिर्जना गरे पनि बंगलादेशको बलियो रक्षापंक्तिले नेपाली आक्रमणलाई निस्तेज बनाएका थिए।

खेलको ७० औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेकी थिइन्। तर लगातार आक्रमण गर्ने धुनमा कमजोर बनेको नेपाली रक्षापंक्तिको फाइदा उठाउँदै बंगलादेशकी कृष्णरानी सरकारले खेलको ७७औँ मिनेटमा अर्को गोल थपेपछि नेपाल ३–१ ले पछि पर्न पुग्यो। खेलको अन्त्यतिर थप गोल खान पुगेको नेपाल त्यसपछि सम्हालिन सकेन र पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि जित्दै इतिहास रच्ने अवसरबाट वञ्चित हुनपुग्यो।

घरेलु मैदानमा सम्पन्न फाइनलमा पराजित भएलगत्तै नेपाली टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षक पद त्याग गरेको घोषणा गरेका छन् भने राष्ट्रिय टोलीका तीन सिनियर महिला खेलाडीले समेत सन्यासको घोषणा गरेका छन्। नेपाली टोलीकी डिफेन्डर पुनम जर्घामगर एवम् मिडफिल्डरहरू दिपा राई र इन्दिरा राईले फाइनल खेल लगत्तै औपचारिक रुपमा राष्ट्रिय टोलीबाट सन्यास लिएको घोषणा गरेका थिए।

पाँचौ पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाली टोली पाँचै पटक पराजित हुन पुगेको छ भने दोस्रोपटक फाइनलमा पुगेको बंगलादेशी महिला टोली आफ्नो पहिलो प्रमुख उपाधि जित्न सफल भएको छ। प्रतियोगितामा ८ गोल गरेकी बंगलादेशकी सविना खातुन प्रतियोगिताकी उत्कृष्ट खेलाडी चुनिइन् भने पूरा प्रतियोगिताभर १ गोलमात्र ब्यहोरेकी बंगलादेशकी गोलकिपर रुप्ना चक्मा प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक घोषित भइन्। उपाधि विजेता बंगलादेशले प्रतियोगिताको ‘फेयर प्ले अवार्ड’ समेत आफ्नो नाम गरायो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img