नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराएको छ। नेपालले यो जीतसंगै एसिया कपमा स्थान बनाएको छ ।
युएईलाई हराएर नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ। अब नेपालले आगामी सप्टेम्वरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग भिडने छ। नेपालले २१ बर्ष अधि सन् २००२ मा पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो ।
एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ए मा नेपाल र पाकिस्तान हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
जितको लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालको तर्फबाट जितमा गुलशन झा ले ८३ बलमा ३ चौका र ६ छक्कासहित ६७ रन जोडदै नटआउट रहे । भीम सार्की ७२ बलमा ४ चौकासहित ३६ रनमा क्रिजमा रहे । चौथो विकेटका लागि गुलशन झा र भीम सार्कीले ९६ रनको अविजित साझेदारी गरेका थिए । गुलशनको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो ।
नेपालले सुरुवात राम्रो गर्न सकेको थिएन । नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एक रनमा गुमाएको थियो।
युएईका तर्फबाट स्पिनर रोहन मुस्तफाले १० ओभरमा ३ मेडनसहित १३ रन खर्चेर २ विकेट लिएका थिए ।अर्का बलर आयन खानले ९.३ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर १ विकेट लिएका थिए ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अल आउट भएको थियो । सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा मंगलबार ११ रन जोड्दै युएई १ सय १७ रनमा अल हुन पुगेको थियो ।
युएईका आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । स्पिनर ललित नारायण राजवंशीको २८ औं दोस्रो बलमा आसिफ खान एज लागेर आरिफ शेखबाट क्याच आउट भएका थिए ।
नेपालको जितमा स्पिनर ललितनारायण राजवंशीले ७.१ ओभरमा २ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर २ विकेट लिए । करण केसीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र गुलशन झाले सामान एक विकेट लिए ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया