spot_img
Friday, November 22, 2024
41.8 F
Washington DC.
spot_img

स्तनपानसम्बन्धी १४ मिथ्या कुरा

स्तनपान गराइरहँदा सादा खाना मात्र खानुपर्छ: सत्य कि भ्रम?

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

१. मिथ्या कुरा : स्तनपान गराउन सहज छ।

शिशुहरू आफ्नी आमाको स्तनको खोजी गर्ने प्रवृत्तिसहित जन्मिएका हुन्छन्। यद्यपि,  धेरै आमाहरूलाई स्तनपान गराउँदा उनीहरूका शिशु सही तरिकाले बोकिएको र स्तनसँग सही तरिकाले जोडिएको छ भन्ने सुनिश्चित गर्न व्यावहारिक सहायता चाहिन्छ। स्तनपानका लागि आमा र शिशु दुवैलाई समय र अभ्यास चाहिन्छ। स्तनपान गराउन समय पनि लाग्दछ,  त्यसैले आमाहरूलाई घरमा र काममा उचित स्थान र सहायता आवश्यक हुन्छ।

२. मिथ्या कुरा : स्तनपान गराउँदा दुख्नु सामान्य कुरा हो – मुन्टो पक्का दुख्छ।

धेरै आमाहरूले शिशुको जन्मेपछि स्तनपान गराउन सिक्दै गर्दा सुरुका केही दिन असहज अनुभव गर्दछन्। तर स्तनपानका लागि शिशुलाई सही तरिकाले बोक्न र स्तनसँग शिशु सही तरिकाले जोडिएको सुनिश्चित गर्न सही सहयोग हुने हो भने स्तनको मुन्टोमा हुने दुखाइ हटाउन सकिन्छ। यदि आमाले स्तनपान गराउँदा स्तनको मुन्टो दुख्ने जस्ता चुनौती सामना गरिरहेकी छन् भने त्यसबाट छुटकारा दिलाउन स्तनपान सल्लाहकार वा अन्य दक्ष व्यक्तिले सहयोग गर्न सक्दछन्।

३. मिथ्या कुरा : स्तनपान गराउनुअघि स्तनको मुन्टो धुनु पर्छ।

स्तनपान गराउनुअघि स्तनको मुन्टो धुनु आवश्यक छैन। शिशुहरू जन्मदा नै उनीहरूसँग आफ्नी आमाको गन्ध र आवाजसँग परिचित हुन्छन्। स्तनको मुन्टोबाट एउटा यस्तो पदार्थ उत्पादन हुन्छ,  जसलाई शिशुले सुँघ्दछ। साथै यसमा राम्रो गर्ने ब्याक्टेरिया हुन्छन्,  जसले जीवनभरका लागि शिशुको प्रतिरक्षा प्रणाली विकासमा मदत गर्दछ।

४. मिथ्या कुरा : आमालाई आराम दिन नवजात शिशु र आमालाई अलग राख्नुपर्छ।

डाक्टर,  नर्स र सुडेनीहरूले प्रायः शिशु जन्मनासाथ प्रत्यक्ष छालामा छाला जोडेर छातीमा टाँस्ने अभ्यासलाई प्रोत्साहित गर्दछन्। यस्तो अभ्यासलाई कङ्गारुको जस्तो हेरचाह पनि भनिन्छ। आमाको छालामा शिशुको छाला जोडेर शिशुलाई प्रत्यक्ष सम्पर्कमा ल्याउने कार्य निकै महत्वपूर्ण अभ्यास हो,  यसले शिशुलाई स्तन भेट्न र त्यससँग जोडिन मदत गर्दछ। तपाईंले शिशु जन्मेको एक घन्टाभित्र र त्यसपछि पटक पटक यो अभ्यास गर्नुभयो भने यसले स्तनपानका लागि आमा र शिशुको सम्बन्ध स्थापित गर्दछ। आमा यस्तो गर्न असमर्थ रहेमा पति वा परिवारका अन्य सदस्यहरूले यसप्रकारको कदम उठाउन सक्नुहुन्छ।

५. मिथ्या कुरा : स्तनपान गराइरहँदा सादा खाना मात्र खानुपर्छ।

अरू सबैले जस्तै स्तनपान गराइरहेका आमाहरूले पनि सन्तुलित भोजन खान आवश्यक छ। सामान्यतः आफ्नो खानपानका बानी व्यवहारमा परिवर्तन गर्न आवश्यक हुँदैन। गर्भमा हुँदाको समयदेखि नै शिशुलाई आफ्नी आमाको भोजनसम्बन्धी प्राथमिकताबारे थाहा भइसकेको हुन्छ। आमालाई आफुले खाएको कुनै खास खानामा आफ्नो शिशुले कुनै खालको प्रतिक्रिया जनाउँछ की भन्ने लाग्छ भने यस्तोमा कोही विशेषज्ञको सेवा लिनु उत्तम हुन्छ।

६. मिथ्या कुरा : शारीरिक व्यायामले दुधको स्वादमा असर गर्दछ।

स्तनपान गराउने आमाहरूका लागि पनि शारीरिक व्यायाम स्वस्थ कुरा हो। शारीरिक व्यायामले दुधको स्वादमा असर गर्दछ भन्ने केही पनि प्रमाण छैन।

७. मिथ्या कुरा : तुरुन्तै गर्नु भएन भने स्तनपान गराउन सक्नुहुन्न।

शिशु जन्मिएको पहिलो एक घन्टामा सुरु गर्नुभयो भने स्तनपान सजिलो हुन्छ किनकि यस समयमा शिशुमा प्रतिक्रिया जनाउने प्रवृत्ति मजबुत हुन्छ। उनीहरू स्तनपान गर्ने कुरा सिक्नका लागि तयार हुन्छन्। यदि तपाईंले शिशु जन्मनसाथ बोक्न सक्नु भएन भने आफ्नो परिस्थितिअनुसार सक्दो चाँडो  स्तनपान सुरु गर्नुहोस्। तपाईंलाई आफ्नो शिशुलाई स्तनपान गराउन सहयोगको आवश्यकता छ भने स्तनपान सल्लाहकार वा अन्य दक्ष मानिससँग सहयोग माग्नुहोस्। पटक पटक शिशुको छालामा आफ्नो छाला जोडेर बोक्नाले साथै शिशुलाई स्तनसँग टाँस्नाले स्तनपानलाई अगाडि बढाउन मदत मिल्दछ।

८. मिथ्या कुरा : स्तनपान गराउन चाहनुहुन्छ भने कहिल्यै पनि फर्मुलाको (शिशुको पोषणका लागि तयार पारिएका धुलो दुध) प्रयोग नगर्नुहोस्।

स्तनपान जारी राखेर पनि कतिपय बेलामा यस्ता फर्मुलाहरूको उपयोग गर्न आवश्यक छ भनी आमाहरूले निर्णय गर्न सक्दछन्। आफ्नो स्तनबाट आउने दुधको सट्टामा प्रयोग गरिने फर्मुला र अन्य उत्पादनहरूका बारेमा निष्पक्ष जानकारी प्राप्त गर्नु महत्वपूर्ण छ। आफ्नो स्तनबाट आउने दुधको उत्पादन भइरहोस् भन्नका लागि जति सम्भव हुन्छ,  त्यति पटक आफ्नो शिशुलाई स्तनपान गराइरहनुहोस्। स्तनपानलाई जारी राख्ने गरी आफ्ना लागि उपयुक्त योजना बनाउने काममा मदत लिन स्तनपान विशेषज्ञ वा दक्ष मानिसलाई सम्पर्क गर्नु आमाहरूका लागि उपयोगी कुरा हुनसक्छ।

९. मिथ्या कुरा : धेरै आमाहरूको पर्याप्त दुध नै आउँदैन।

लगभग सबै आमाहरूले आफ्नो शिशुका लागि उचित मात्रामा दुध उत्पादन गरिरहेका हुन्छन्। शिशुलाई स्तनमा कति राम्रोसँग टाँसिएको छ,  कति समयमा कति पटक दुध खुवाइएको छ र प्रत्येक स्तन चुसिरहँदा शिशुले कति दुध निकालिरहेको छ भन्ने कुराले आमाको दुध उत्पादन क्षमतालाई निर्धारण गरिरहेको हुन्छ। स्तनपान महिला एक्लैको काम होइन,  आमाहरूलाई सहयोग चाहिन्छ। स्वास्थ्य सेवा प्रदायकहरूबाट जारी स्तनपान मार्गदर्शनअनुसार घरमा सहयोग प्राप्त गर्नुहोस् साथै राम्रोसँग खानपान गरी स्वस्थ रहनुहोस्।

१०. मिथ्या कुरा : बिरामी हुँदा स्तनपान गराउनु हुँदैन।

बिरामी वा रोगको प्रकृतिका आधारमा बिरामी हुँदा पनि आमाहरूले सामान्यतः स्तनपान गराइरहन सक्छन्। तपाईंले सही उपचार,  आराम र राम्रो खानपान पाउने सुनिश्चित गर्न आवश्यक हुन्छ। धेरै अवस्थामा तपाईंको शरीरले रोगसँग लड्न बनाउने रोग प्रतिरोधी तत्वहरू तपाईंको शिशुमा सरेर उसको शरीरका लागि आवश्यक प्रतिरक्षा प्रणाली विकास गर्न सक्दछ।

११. मिथ्या कुरा : स्तनपान गराइरहनुभएको छ भने कुनै प्रकारका औषधी खान हुन्न।

तपाईंले स्तनपान गराइरहनुभएको कुरा डाक्टरलाई जानकारी गराउनुका साथै पसलबाट सिधै किन्न पाइने औषधीहरूमा भएका निर्देशनहरू पढ्नु महत्वपूर्ण हुन्छ। औषधी निश्चित समयमा लिने वा निश्चित मात्रामा खाने वा वैकल्पिक औषधी सेवन गर्नुपर्ने हुन सक्दछ। शिशुलाई हेरिरहेका डाक्टरलाई पनि के औषधी तपाईंले लिइरहनुभएको छ भनी बताउनु पर्दछ।

१२. मिथ्या कुरा : स्तनपान गराइरहेका शिशुहरू आमासँगै टाँसिइरहने हुन्छन्।

सबै शिशुहरू फरक हुन्छन्। जसरी जे खुवाएको भए पनि कोही शिशु टाँसिइरहने हुन्छन् भने कोही हुँदैनन्। स्तनपानले शिशुहरूलाई उत्तम पोषण मात्र प्रदान गर्दैन,  यो त उनीहरूको विकासशील मस्तिष्कका लागि पनि महत्वपूर्ण हुन्छ। स्तनपान गराइने शिशुहरूलाई धेरै बोकिएको हुन्छ,  जसका कारण स्तनपानले शिशुहरूको आमासँगको सम्बन्ध प्रगाढ बनाएको पाइन्छ।

१३. मिथ्या कुरा : एक वर्षभन्दा बढी स्तनपान गराउँदा शिशुलाई दुध छुटाउन गाह्रो हुन्छ।

स्तनपान एक वर्षभन्दा बढी गराएपछि दुध छुटाउन गाह्रो हुन्छ भन्ने कुनै प्रमाण छैन। तर,  दुई वर्षसम्म स्तनपान गराउनु आमा र शिशु दुवैका लागि लाभदायक हुन्छ भन्ने चाहिँ प्रमाणहरू छन्। सबै आमा र शिशुहरू फरक हुन्छन् र उनीहरूले कहिलेसम्म स्तनपान गर्ने र गराउने भन्ने कुरा आफ्ना चाहनाअनुसार आपसमा निर्धारण गर्न आवश्यक हुन्छ।

१४. मिथ्या कुरा : काममा फर्कनु छ भने शिशुलाई दुध छुटाउनु पर्छ।

धेरै आमाहरूले काममा फर्किएपछि पनि स्तनपान जारी राख्छन्। सबैभन्दा पहिले आफ्नो देश र कार्यस्थलका नीतिहरू हेर्नुहोस्। तपाईंसँग कार्यालय समयमा स्तनपान गराउने समय र स्थानको अधिकार छ भने घर गएर स्तनपान गराउन,  परिवारका सदस्य वा सहयोगी साथीलाई तपाईंको शिशुलाई तपाईं भएको ठाउँमा ल्याउन वा तपाईंको दुध निकालेर घरसम्म पठाउन सक्नुहुन्छ। कार्यालय समयभित्र स्तनपान गराउने विकल्प छैन भने दिनको समयमा दुध निकालेर पठाउने र घरमा भएको समयमा शिशुलाई प्रत्यक्ष स्तनपान गराउनुहोस्। तपाईंले केही पटकको खानामा आफ्नो दुधको सट्टामा अरू केही खुवाउने निर्णय गर्नुभएको छ भने पनि तपाईं शिशुसँगै भएको समयमा स्तनपानलाई निरन्तरता दिनु धेरै राम्रो हुन्छ।

#युनिसेफले यो लेख विद्यावारिधि प्राप्त गरेकी डा. मिसेल ग्रिसवोल्डसँगको सहकार्यमा तयार पारिएको हो। ग्रिसवोल्डले जनस्वास्थ्य विषयको अध्ययन गर्नुभएको छ साथै उहाँ रजिष्टर्ड नर्स तथा अन्तर्राष्ट्रिय बोर्डबाट मान्यताप्राप्त स्तनपान परमर्शदाता हुनुहुन्छ। उहाँ स्तनपानसम्बन्धी अध्येता एवम् अभियन्तासमेत हुनुहुन्छ। उहाँले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) र युनिसेफले नेतृत्व गरेको ग्लोबल ब्रेस्टफिडिङ कलेक्टिभ  (स्तनपानका लागि सामूहिक विश्वव्यापी पहल) मा स्तनपान परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्थाको प्रतिनिधिका रूपमा कार्य गरिरहनुभएको छ। यस पहलले सरकारहरू र समाजलाई स्तनपानका लागि आमाहरूलाई आवाश्यक पर्ने समग्र सहयोगहरू उपलब्ध गराउन आह्वान गर्दै आएको छ।

#यो लेख हामीले युनिसेफको वेवसाइटबाट साभार गरेका हौ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भर्जिनियाको साउथ राइडिङमा भयानक गाडी दुर्घटनामा दुईजनाको मृत्यु, चालक पक्राउः मदिरा सेवनको शङ्का

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत साउथ राइडिङमा शुक्रबार बिहान भएको एक भयानक गाडी दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने दुईजना...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img