दिल्ली पुलिसले समाचार वेबसाइट न्यूजक्लिक सम्पादक प्रवीर पुरकायस्थ र प्रशासक अमित चक्रवर्तीलाई हिजो अक्टोबर ३ मङ्गलवार भारतमा निकै कडा मानिने कानुन गैर कानुनी गतिविधि (रोकथाम) ऐन (युएपीए) अन्तर्गत पक्राउ गरेको छ। यसअघि मङ्गलवार बिहान प्रहरी अधिकारीहरूले उक्त समाचार वेबसाइटसँग सम्बद्ध करिब ५० पत्रकार र लेखकहरूको घरमा छापा मारेको थियो।
युएपीए अन्तर्गत दर्ता भएको एफआईआर नम्बर २२४/२०२३ को सम्बन्धमा कुल ३७ पुरुष र नौ महिलालाई छापा मारेर सोधपुछ गरिएको थियो। पुरुषहरूलाई दिल्ली प्रहरीको विशेष कक्षको कार्यालयमा लगिएको छ भने महिलाहरूलाई उनीहरूको निवासमा सोधपुछ गरिएको थियो। प्रहरीले ‘अनुसन्धान’का लागि केही कागजपत्र, ल्यापटप, मोबाइल फोनलगायतका इलेकट्रोनिक उपकरणसमेत जफत गरेको छ। मङ्गलवार राति विशेष सेल कार्यालयमा लगिएको प्रवीर पुरकायस्थ र अमित चक्रवर्ती बाहेक सबैलाई रिहा गरिएको थियो । इन्डियन एक्सप्रेसले आफ्नो एउटा रिपोर्टमा यो एफआईआर न्यूजक्लिक विरुद्ध १७ अगस्ट २०२३ मा दर्ता भएको बताएको छ।
हालको एफआईआर मूल रूपमा गत अगस्टमा न्यूयोर्क टाइम्सको एउटा रिपोर्टसँग जोडिएको छ। उक्त रिपोर्टमा न्युयोर्क टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै बीजेपी सांसद निशिकान्त दुबेले लोकसभामा कसरी काँग्रेस नेता र न्यूजक्लिकले ‘भारत विरोधी’ वातावरण सिर्जना गर्न चीनबाट पैसा लिएको दाबी गरेका थिए भनेर बताइएको थियो।
न्यूयोर्क टाइम्सको उक्त अनुसन्धानमा प्रविधिका ठुला अमेरिकी व्यापारी नेभिल रोय सिंघमले आफ्नो गैर-नाफामुखी गतिविधिको नेटवर्क मार्फत विश्वव्यापी रूपमा चिनियाँ प्रोपगण्डालाई अगाडि बढाउन मद्दत गरेको भनिएको छ।
न्युयोर्क टाइम्सले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार “म्यासाचुसेट्सको थिंक ट्याङ्क, दक्षिण अफ्रिकाको राजनीतिक दलदेखि भारत र ब्राजिलका समाचार संस्थाहरूसम्म, सिङ्घमसँग जोडिएका छन् र तिनले चिनियाँ सरकारको वकालत गर्न करोडौँ डलर पाएका छन्।”
न्युयोर्क टाइम्सले उल्लेख गरेको संस्था भारतीय समाचार वेबसाइट न्यूजक्लिक भएको आरोप भारतीय सरकारसँग सम्बद्ध सांसदहरूले लगाएका छन्।
चिनियाँ पैसासँग जोडिएकाले पनि यो एफआईआरमा भारतीय दण्ड संहिता (आइपिसी) को धारा १५३ ए (धर्म, जाति, जन्म स्थान, निवासको आधारमा विभिन्न समूहहरू बिच शत्रुता बढाउने) बाहेक कडा कानुन युएपीएका भाषा आदिको सद्भाव कायम गर्न प्रतिकूल कार्यलाई बढवा दिने र गर्ने तथा आपराधिक षड्यन्त्रमा लिप्त भएका प्रावधान अन्तरगत दायर गरिएको छ।
आधिकारिक रूपमा अहिलेसम्म केही भनिएको छैन, तर यो छापाले सन् १९७५ को आपतकालको सम्झना गराएको भारतीय पत्रकारहरूले जनाएका छन्।
पुलिसले भिडियो पत्रकार अभिसार शर्मा, वरिष्ठ पत्रकार भाषा सिंह, दिग्गज पत्रकार उर्मिलेश, न्यूजक्लिक सम्पादक प्रविर पुरकायस्थ र लेखिका गीता हरिहरन, प्रख्यात पत्रकार तथा टिप्पणीकार अनिन्द्यो चक्रवर्ती, मानवअधिकार कार्यकर्ता तथा इतिहासकार सोहेल हाश्मी लगायत व्यङ्ग्यकार तथा स्ट्यान्ड अप कमेडियन सञ्जय राजौराको निवासमा मङ्गलवार बिहान छापा मारेको थियो ।
छापा मारिएकामध्ये उर्मिलेश, परांजय गुहा ठाकुरता, अभिसार शर्मा, प्रविर पुरकायस्थ, अनिन्द्यो चक्रवर्ती र सत्यम तिवारीलाई सोधपुछका लागि विशेष कक्षको मुख्यालयमा लगिएको थियो। न्युजक्लिकका पूर्व प्रबन्ध सम्पादक प्राञ्जललाई पनि पक्राउ गरिएको छ । वकिलहरूलाई राखिएको विशेष कक्ष कार्यालयमा प्रवेश गर्न नदिइएको बताइएको छ ।
साँझ ६ बजे रिहा गरिएका पराञ्जय गुहा ठाकुरले सञ्चारमाध्यमलाई बताएअनुसार प्रहरीले “अमेरिकामा बस्ने बहिनी ज्वाईको अमेरिकी नम्बरमा किन फोन गरेको? सिग्नल मेसेजिङ एप प्रयोग गरेको हो होइन” जस्ता अनौठो प्रश्न सोधेको थियो। उहाँले आफ्ना धेरै सहकर्मीलाई समातेर स्पेसल सेलमा ल्याइएको बताउनुभयो।
न्युजक्लिकका सम्पादक प्रविर पुरकायस्थलाई उनको घरबाट न्युजक्लिकको कार्यालय र पछि स्पेसल सेलमाको मुख्यालयमा लगिएको थियो । बिहान ६:३० देखि ७ बजेतिर उहाँको निवासमा करिब १५ जनाको प्रहरी टोली पुगेका थिए। प्रहरीले उहाँसँगै उहाँकी जीवनसाथी लेखिका गीता हरिहरनको सबै इलेकट्रोनिक उपकरणहरू जफत गरे। भाषा सिंहको घरमा दुई घण्टाभन्दा बढी समयसम्म छापा मारिएको थियो ।
पहिले टाइम्स अफ इन्डियासँग सम्बद्ध र अहिले न्युजक्लिकसँग सम्बद्ध पत्रकार सुबोध वर्माको घरमा पनि छापा मारिएको बताइएको छ । उहाँलाई पनि सोधपुछका लागि लगिएको बताइएको छ । छापा मार्ने क्रममा जफत भएका इलेकट्रोनिक उपकरणहरूमध्ये कसैलाई पनि ह्यास भ्यालु दिइएको छैन। ह्यास भ्यालुले जफतको समयमा यन्त्रमा कति डाटा थियो भनेर देखाउँछ, त्यसैले यो पछि छेड छाड गरिएको छ कि छैन भनेर निर्धारण गर्न सकिन्छ।
यसैबिच प्रहरीले न्युजक्लिक कार्यालयमा ताला लगाएको बताइएको छ । यसबाहेक पत्रकारहरूलाई राखिएको स्पेसल सेलको कार्यालयमा वकिलहरूलाई जान नदिइएको बताइएको छ । वरिष्ठ पत्रकार उर्मिलेशका वकिल गौरव यादवले समाचार एजेन्सी पीटीआईलाई बिहानदेखि आफ्ना क्लाइन्टलाई भेट्न नसकेको बताउनुभयो।
बेलुका ४ बजेभन्दा केही समयअघि उर्मिलेशलाई विशेष कक्षको कार्यालयबाट बाहिर निस्कन दिइयो । अभिसार शर्मा साँझ ६ बजे रिहा गरियो । त्यसपछि साढे ६ बजे पराञ्जय गुहा ठाकुरलाई रिहा गरिएको थियो । सुबोध वर्मालाई पनि साँझ ७ बजे रिहा गरिएको थियो । रिहा हुनेमा बप्पादित्य सिन्हा, सत्यम तिवारी र प्रविर पुरकायस्थका छोरा प्रतीक रहेका छन् ।
यसअघि बिहानै प्रहरीले न्युजक्लिकमा विभिन्न भूमिका र तहमा कार्यरत कर्मचारीहरूको घर–घरमा पुगेर उनीहरूको विद्युतीय उपकरण जफत गरेको थियो । कर्मचारीहरूलाई भारतमा किसानहरूको आन्दोलन र कोभिड-१९ महामारी जस्ता घटनाहरूको रिपोर्ट गरेका थिए भनेर सोधिएको थियो। दिल्ली विज्ञान फोरमसँग सम्बद्ध वैज्ञानिक तथा लेखक डी. रघुनन्दनलाई ‘पुलिसले लगेको’ स्रोतले जनाएको छ । कतिपयले भने आफ्नो यन्त्र, ल्यापटप र टेलिफोन जफत गरिएको बताएका छन् ।
केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरलाई छापा मार्ने विषयमा सोध्दा उहाँले अनुसन्धान एजेन्सीहरू स्वतन्त्र छन् र उनीहरूले नियम अनुसार काम गरिरहेको बताउनुभएको छ। ठाकुरले भन्नुभयो, ‘कसैले गल्ती गरेको छ भने अनुसन्धान एजेन्सीले आफ्नो काम गर्छ । गलत श्रोतबाट पैसा लिएको वा आपत्तिजनक काम गरेमा अनुसन्धान एजेन्सीले कारबाही गर्न सक्दैन भन्ने कतै लेखिएको छैन ।’
प्रेस क्लब अफ इन्डियाले यी छापाहरूप्रति चिन्ता दर्ता गर्दै विस्तृत वक्तव्य जारी गर्ने बताएको छ। विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कको वरियतामा भारत द्रुत गतिमा तल झर्दै गएको र हाल भारत प्रेस स्वतन्त्रता कमजोर भएका २० देशहरूमा समावेश भएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया