नेपाली परम्परामा पनि जडभरत जस्तै भनेर उदाहरण दिने चलन छ। के हो त जडभरत भनेको ? को हुन् त्यस्ता पौराणिक पात्र जसको नाम बारम्बार लिइन्छ नेपाली समाजमा पनि र ज्ञान बुद्धि र विवेकको कुरामा ? प्रसङ्गमा आउने उदाहरण बनेका जडभरतको प्रसङ्ग विभिन्न पुराणहरूमा आउँछ, महाभारतमा आउँछ। यो प्रसङ्गमा जडभरतसँग सम्बन्धित आख्यानको चर्चा गर्न लागिएको विष्णु पुराण र नारद पुराणको आधारमा हो। त्यसो त हामीसँग सनातन धर्मको पौरस्त्य दर्शनभित्र पनि विभिन्न मत र तिनका आधारमा विभिन्न सम्प्रदायहरू अस्तित्वमा पाइन्छन् र तिनले बढी मान्ने देव, देवीहरूको क्षमता र गुणका आधारमा रचना गरिएको र तिनको गायनमार्फत स्मृतिमा राखी पुस्तौपुस्तासम्म कण्ठस्थ गरिएको हुनुपर्छ र जब लिपिको विकास भयो, अनि ती कण्ठस्थ कविता या गद्यहरूलाई लिपिबद्ध गरी आजको अवस्थामा हामीसमक्ष आइपुगेको छ। विभिन्न मत र सम्प्रदायको प्रतिनिधित्व गर्ने गरी र तिनले दिने मानवीय संस्कारहरू लागि विभिन्न वेद जनित उपनिषद्, पुराण तथा उपपुराणहरूको रचनाको रूपमा संग्रिहत गरिएको छ। त्यसैले खास देवताका रूपमा पूजित ब्रह्मा, विष्णु र शिवका नाममा पुराणहरू छन् जबकि सनातनी संस्कारमा यी तीन देवताहरू अभिन्न छन्, यिनको मानसिक रुपमा समेत विभाजन नगर्नका लागि बारम्बार सबै पुराणहरूमा, उपनिषद्हरूमा खबरदारी गरिएको पाइन्छ।
हामीसँग २८सौँ वेदव्यासकृत जय नामको महाकाव्य,जसलाई अहिले हामी महाभारत भन्ने गरेका छौँ, त्यसको रचनापछि नै अठार पुराण, अठार उपपुराण, चारै वेद तथा उपनिषद्हरूको पुनर्संरचना र सरलीकरण गरियो। ती सबै पुराण तथा उपपुराणहरूलाई वेद र उपनिषद्को व्याख्याका लागि तयार गरिएको मानिन्छ। कतिपय पुराणहरूमा कुनैलाई पुराण तथा उपपुराण पनि भनिएको पाइन्छ।
हामीले भारत भन्ने देशको नाम सुनेका छौँ जुन हाम्रो दक्षिण,पश्चिम तथा पूर्व सीमामा अवस्थित छ। हाम्रो भूखण्डलाई भारत वर्ष, हिमवत्खण्ड पनि भनिन्छ। यो भारत भन्ने नाम प्राचीन राजा भरतको नामबाट राखिएको मानिन्छ। महाभारतमा बारम्बारमा हे भारत भनेर खास गरी अर्जुनलाई श्रीकृष्णले भनेको देखिन्छ, तिनै भरतको वंशमा रहेका र भारत भन्ने देशका बासिन्दा हुनाले भारत भनिएको हुनुपर्छ र आजसम्म त्यो प्राचीन सीमाका आधारमा रचिएको राज्यको नाम भारत छँदै छ। तिनै भारतका बारेमा कतै उनी राजा दुष्यन्तका शकुन्तला रानीमार्फत जन्मिएका राजकुमारको रूपमा पाइन्छ भने कतै राजा ऋषभदेव र इन्द्रकी छोरी जयन्तीका पुत्र भरत भन्ने पाइन्छ। आखिर कुरुकुलका चक्रवर्ती राजाका रूपमा, पुरुषार्थी राजाका रूपमा भरत थिए भन्ने यहाँ बुझौँ। तिनै भरतको कथामा आधारित जडभरतको कथा यहाँ प्रासङ्गिक हुन आएको छ।
को हुन् त जडभरत ? तिनै राजा भरतको तेस्रो पुनर्जन्मका रूपमा जन्मेका ब्राह्मण पुत्र भरतलाई जड अर्थात् केही पनि वास्ता नभएका, कसैको वास्ता नगर्ने र कसैसँग कुनै अपेक्षा नभएका, बौलाहा जस्ता मगन मस्त, लट्ठक ब्राह्मण कुमारका रूपमा बढेका एक जना ब्रह्म ज्ञानीको कथाको रूपमा श्रीमद्भागवत्, नारद पुराण र विष्णु पुराणको बयानमा पाइन्छ।
कसैले महाराज भरतका पिता ऋषभदेवलाई जैन मतका आदि पुरुष तीर्थङ्करको रूपमा र उनका छोरा भरतको रूपमा लिएको पाइन्छ, जसको नामबाट देशको नाम नै भारत बन्न गएको त आजसम्म पनि त्यो देशको नाम भारत छँदै छ। तर उनै पुरुषार्थी राजा भरत जब वृद्धावस्थामा पदार्पण गरे, उनी आफ्नो छोरालाई राज्य सुम्पेर शालिग्राम प्रदेशमा वासुदेवको ध्यान गर्दै, श्रीकृष्णमा आफूलाई समर्पित गर्दै तपस्यारत रहे। आउने जानेहरूलाई ज्ञान मार्ग देखाउँदै रहे। उनी धर्म र सत्यप्रति यति आसक्त भए कि सांसारिक अरू मोहप्रति उनको विमोह भएको थियो। सम्पूर्ण इन्द्रियहरूलाई आफ्नो वशमा राखेर शालिग्राम क्षेत्रमा एक प्रकारले तपस्यारत रहे। विष्णु पुराणमा महामुनि पराशरले मुनिवर मैत्रेयलाई यसरी भरतको गुणगान गरेका छन्, जसमा मुनिवर मैत्रेयको यस्तो प्रश्न थियो—हे महाऋषि पराशरजी, त्यस्ता भगवद्भक्त भरत महाराज किन भरतकै जीवनकालपछि मोक्ष पाएनन् र कहिले हरिण त कहिले ब्राह्मणको जुनीमा जन्मेर मात्र मोक्ष प्राप्त गरे।
अनि पराशरले भने—हे मैत्रेय, वास्तवमा महाराज भरतले छोरालाई राज्य जिम्मा लगाएर हिँडेपछि सम्पूर्ण भक्तिमा आफूलाई समर्पण गरेका थिए, उनले सङ्ग्रह गर्ने भनेको नै पूजाका लागि फूल, फल र यज्ञका लागि समिधा मात्र थियो। भरतको सम्पूर्ण भाव अहिंसा र इन्द्रिय संयममा केन्द्रित थियो। हे यज्ञेश, हे गोविन्द, हे माधव, हे अनन्त, हे अच्युत, हे केशव, हे कृष्ण, हे विष्णु, हे वासुदेव, हे हृषीकेश तपाईँलाई नमस्कार छ भन्दै दिनरात बिताउँथे। केबल भगवद्नामको मात्र जाप गरेर बस्थे। सम्पूर्ण राज्यको पनि कुनै वास्ता गरेका थिएनन्। यही क्रममा एक दिन योगी राजा भरत सबेरैको स्नानका लागि नदीमा गएका थिए। त्यही बेलामा अचानक एक बच्चा पाउन लागेकी गर्भिणी हरिण पनि नदीमा पानी पिउन आएकी थिई। त्यही मौकामा सिंहको गर्जन सुनी, ज्यान बचाउनका लागि त्यो नदीमा उफ्रेर पारि जाने कोसिस गरी, तत्काल बच्चा उफ्रेकै बेलामा जन्मियो, सन्तुलन बिग्रेपछि त्यही नदीमा बज्रेर तत्कालै मरी, बच्चा सालनालसहित बग्दै बग्दै महाराजा भरतसमक्ष आइपुग्यो। भरतले स्नेहवश त्यो भर्खर जन्मेको हरिणसावकलाई नदी बाहिर ल्याए, आफ्नो पर्णकुटीमा लिएर आए र उसको देखभाल गर्न थाले। जन्मँदै आमा गुमाएको बच्चाप्रति राजाको अचानक मोह जाग्यो। सानो हरिणको यति धेरै वास्ता गर्न थाले कि उसले खायो खाएन, उसले साना साना सिङले राजालाई कोट्याएर काउकुती लगाएपछि मात्र राजाको मनमा शान्ति प्राप्त हुन थाल्यो। जन्मँदै आमा गुमाएको हरिणप्रति यति धेरै आशक्ति बढ्यो कि एक दिन राजा काल कलवित हुँदा पनि त्यही हरिणको भावी जीवनका बारेमा, उसको सुरक्षाका बारेमा मात्र चिन्ता गर्दागर्दै हरि हरि भन्दै उनको इहलीला समाप्त भयो। सम्पूर्ण राज्यप्रति विमोहित राजा, योग सिद्धि गरेर योगराज भएका त्रिकालदर्शी बनेका राजा भरतमा अचानक हरिणप्रतिको मोहका कारणले उनको अर्को योनि हरिणको रूपमा अवतरित भयो यो संसारमा तर राजालाई आफ्नो पुरानो जुनीको बारेमा सबै ज्ञान रह्यो। पहिलेको ज्ञान पनि उनका सङ्गृहीत रह्यो तर हरिणको योनिमा उनले गर्न सक्ने केही थिएन, बरु अघिल्लो जुनीमा जुन आशक्ति आफूमा आएको थियो, त्यसप्रति पश्चात्ताप गरेर बस्थे, मृगको जुनीमा रहेका राजा घाँसपातको सेवनले प्राप्त जीवन चलाएका थिए। आफैँमा हरिणको जुनीबाट कहिले मोक्ष पाइएला भनेर काल पर्खेर बसेका थिए। एक दिन हरिणको जुनीबाट मुक्त भए र एक जना वैदिक ब्राह्मणका घरमा जन्म लिन पुगे।
राजा भरत हरिणप्रति आशक्तिले हरिणको जुनीमा जन्मिए, हरिणको जुनीमा पश्चात्ताप भएकाले फेरि ब्राह्मणको कुलमा जन्मिए र पुरानो ज्ञानका कारणले उनी निस्फिक्री जीवन बिताउन थाले। उनका पुरानो, राजा भरतको योनिको सबै कुरा याद थियो र भगवद्भक्तिप्रति उनको भाव यथावत् रहेकै थियो। तर उनले यो संसारमा के पो गर्नु छ र भन्दै बौलाहा जस्तो, धम्मरधुस, खाना खाने बलियो भरतको रूपमा उनको पहिचान बन्यो र सबैले जडभरत भनेर भन्न थाले। तर उनलाई केही मतलब थिएन, किनभने उनी आफैँमा सिद्ध पुरुषको अवतार बनेका थिए। अरूका आँखामा एउटा भुत्ते, काम मात्र गर्न सक्ने बलियो, खान दिए हुने तर खान पनि शाकाहारी फलफूल खाने, दिनहुँ नुहाउने तर कसैसँग केही पनि अपेक्षा नगर्ने बालक अनि युवाको रूपमा विकसित हुँदै गएका थिए। तिनै ब्राह्मण कुमार नै जडभरतको रूपमा थिए, कसैसँग केही भन्दैनथे, कसैसँग केही माग्दैनथे, जे दियो त्यही खान्थे, लगाएको काम गर्थे। यस्तै रीतले उनको जीवन चलेको थियो। उनको भित्र मोक्षको मात्र चाह हुन्थ्यो तर बाहिर अरूका आँखामा उनी मुर्ख, भुत्ते, केही काम नजान्ने तर बलियो कामदारको रूपमा गणना गरिएको थियो।
पराशरजीको विचारमा जति मानिसले अपमान पाउँछ, त्यति नै उसको सिद्धित्व बढ्ने सम्भावना हुन्छ किनभने उसलाई अरू कसैसँग वास्ता हुने छैन। त्यो ब्राह्मण कुमारमा भित्रभित्र सिद्धि प्राप्त भइरहेको थियो तर बाहिर त्यस्तो देखिँदैनथ्यो। एक दिन रात्रिको समयमा पृषतराजका सेनाले नर बलिका लागि तिनै बेफिक्री कुमारलाई पक्रेर देवीको मन्दिरमा बली दिन लगेका थिए। जब देवीले सिद्ध ब्राह्मण कुमारलाई बली दिनका लागि ल्याएको देखेर उल्टै ती सैनिकहरूलाई नै मारेर मिल्काइन् र जडभरतलाई ससम्मान फिर्ता पठाइन्। उनी त्यस्तै बेकारमा यत्रतत्र घुमिरहेका थिए। मानिसहरूलाई लाग्थ्यो कि यो एक प्रकारले दीन हीनप्राणी हो, यसका कोही पनि छैनन् र सित्तैमा बलको काम लगाउनका लागि एकदम प्रयोगमा ल्याउन मिल्ने हुन्छ।
एक दिन सौवीर नरेश महामुनि कपिलका आश्रममा आफ्ना केही जिज्ञासाहरू लिएर जाँदै थिए पालकीमा चढेर। पालकी बोक्ने बलियो मानिस चाहियो किनभने टाढा टाढाबाट पालकी बोकेर ल्याउने मानिसहरू थाक्न थालेका थिए। महामुनि कपिलको आश्रममा सौवीर राज, कसरी यो दुःखमय संसारबाट पार पाउने भन्ने विषयमा उपदेश लिन जान लागेका थिए। पालकी बोक्ने मानिस खोज्दै गर्दा एक जना बलियो मानिस भेटे उनका अङ्गरक्षकहरूले। अनि जडभरतलाई पनि चार जना पालकी बोक्नेमध्ये एक जनामा बोक्न लगाए। उनले तत्कालै पालकी बोक्न त थाले तर अरूको लयमा हिँड्ने भन्दा बिस्तारै हिँडेर पालकी चलाउँदै थिए। त्यसो गर्नुको कारण थियो, ब्राह्मण कुमारका चरणबाट कुनै कीरा फट्याङ्ग्रा, कमिला नकुल्चियोस्, हिंसा नहोस्। लयमा हिँड्नु पर्ने चारै जना पालकी बोक्नेहरूले, तर जडभरतको हिँडाइले तल वितल परेको थियो र पालकी कहिले कतै पल्टेला जस्तो त कहिले कता लड्ला जस्तो भएको हुनाले राजाले पालकी बोक्नेहरूलाई गाली गर्दै भने —कसले हो यस्तो गरेको ? छिटो छिटो महामुनि कपिल ऋषिको आश्रममा पुग्नु छ मलाई। अनि अरू पालकी बोक्नेहरूले भने—महाराज, यो भुत्ते मोटेले लयमा नहिँडेर तल वितल परेको हो। अनि राजाले भने —हे मोटे, तँ त भर्खरै मात्र बोक्न थालेको होस्, थाकिस् कि क्या हो ? त्यति टाढाबाट आउनेहरूले त बोकेर हिँडेका छन् सन्तुलन मिलाएर भने तैँले किन यसो गरेको ?
अनि जडभरतले भने—को मोटे ? को राजा ? कुन पालकी ? को थाक्यो ? न मैले कुनै पालकी बोकेको छु, न कसैलाई मैले पालकीमा राखेर हिँडेको छु, न म थाकेको छु, न मलाई परिश्रम परेको छ।
सौवीर नरेशले भने—अहिले तैँले मेरो पालकी बोकेको छस्, तैँले राम्ररी नचलाएको मेरो पालकी ढलपल गरेको हो र बेलामा कपिल मुनिको आश्रममा पुग्न नसकेको हो। तैँले पालकी आफ्नो काँधमा बोकेको छस्, म त्यो पालकीको माथि बसेको छु र तँ मभन्दा तल छस्। अहिले पनि तेरो काँधमा म चढेको पालकी तेरो काँधमा छँदै छ। यसरी वजन रहेको पालकी बोक्दा परिश्रम त परेको होला नै।
अनि जडभरतले भन्न थाले— राजा, अब मेरो कुरा सुन, सबैभन्दा तल पृथ्वी छ, पृथ्वीमा मेरा दुई चरणहरू छन्, ती चरणहरूले थेगेको मेरा जाँघहरू छन्, त्यसमाथि मेरो कम्मर छ, कम्मरमाथि मेरो पेट छ, त्यसमाथि मेरो छाती छ, काँध छ, हात छन्, अनि काँधमाथि यो पालकी राखिएको छ। अनि ममाथि कसरी पालकीको भार रह्यो र ? अनि तिमी राजा कहाँ छौँ ? मैले त तिमीमा पनि मासु, रगत, हाड र सास फेर्ने एउटा जीव मात्र देख्दै छु। यदि सास रहेन भने तिमी पनि के हुन्छौ ? लास हुन्छौ। तिम्रो पहिचान के हुन्छ ? अनि मोह, लोभ, अहङ्कार सबै अविद्याका मोहले जेलिएको छ। आत्मा त शुद्ध, अक्षर, शान्त, निर्गुण र प्रकृतिभन्दा धेरै टाढा टाढा रहेको छ। आत्मा त सबै प्राणीमा व्याप्त छ। आत्माको न त वृद्धि हुन्छ, न त ह्रास हुन्छ, अनि कसरी के आधारमा मलाई तिमीले मोटे भन्यौ, तल र माथिको कुरा गर्यौँ ? भार वहन गरेको कुरा गर्यौ ? यो पालकी बनेको तत्त्वले नै हाम्रो शरीर बनेको छ भन्ने कुरा तिमीले बुझ्नु जरुरी छ किनभने पालकी पनि काठको मात्र जोडनले बनेको हो तर यसको नाम पालकी भनिएको हो।
राजा छक्क परे र पालकीबाट झरेर जडभरतलाई दण्डवत् गरेर भन्न थाले—तपाईँ त स्वयं कपिल मुनिले मेरो परीक्षा लिनका लागि आउनु भएको जस्तो लाग्यो। अब भन्नुहोस्, तपाईँ को हो ? कुन कारणले यो छद्मरुपमा आउनु भएको हो ? तपाईँले मेरै पालकीको भार वहन गर्नुको कारण पनि के हो ?
त्यसपछि जडभरतले भन्न थाले—हे राजन, यो संसारमा सबै आफ्ना आफ्ना कर्मको फल भोग्न आउँछन्। जबसम्म कर्मफलको भोग गर्नु छ, त्यस बेलासम्म यो संसारमा भोग गर्ने हुन्। धर्मअधर्मजनित सुखदुख खप्नका लागि यो पृथ्वीमा जो कोही पनि अवतरित हुने गर्छ। जुनसुकै अवस्थाको आधार भनेको धर्म र अधर्मको कारणले मात्र हो।
राजाको म को हुँ भन्ने कुराको उत्तर यही मात्र भन्न सक्छु कि आफूसँग भएका सबै अङ्ग प्रत्यङ्गको समष्टिरुपमा आत्माको पहिचान भए पनि त्यसको फरक फरक अङ्गको आफ्नै पहिचान हुन्छ अनि राजा आफैँ आफैँलाई चिन तिमी के हौ ? नाक हौ कि, मुख हौ कि, चरण हौ कि हात हौ कि या आत्माविहीन कुनै मुढो हौ ? अनि अहम् भनेको आत्मा मात्र रहेछ भन्ने बुझ हे राजा।
यो कथा नारद पुराणमा सनतनन्दनले नारदलाई यही प्रसङ्गमार्फत जीवनको परिचय दिएका छन् भने विष्णु पुराणमा मैत्रेय मुनिलाई महाऋषि पराशरले आत्माको अद्वितीय स्वरूपका बारेमा जानकारी दिनका लागि जडभरतको उदाहरण दिँदै जडभरतको कथा भनेका छन्।
जडभरतको कथाले के कुराको सन्देश दिएको छ भने, तपस्याका लागि गण्डकी प्रदेश नै पहिले देखि नै तपो भूमिका रूपमा प्रयुक्त रहेको पाइन्छ किनभने शालिग्राम भूमि नै यहाँ व्यक्त गरिएको छ। अर्को कुरा मोक्ष प्राप्ति भनेको सहज छैन, ज्ञानको तृष्णाले तृप्ति नपाउन्जेलसम्म जुनीमाथि जुनी हुने रहेछ। यस कथाले पूर्वजन्म,पुनर्जन्म र आशक्तिको भुमरीमा जहिले पनि जुनसुकै अवस्थामा पनि मानिस पर्न सक्छ भन्ने उदाहरण दिएको छ। योगीराज भइसकेको भरत महाराजमा पनि हरिणप्रतिको आशक्तिले हरिणकै जुनीमा फेरि जन्म हुनु र जुनी फरक हुँदा पनि स्मरण रहन सक्ने मनोविज्ञानलाई स्पष्ट पारेको छ। हाम्रा पुराणहरू कति प्रामाणिक छन् भन्ने कुराको अनुसन्धान जरुरी छ र कति अनुसन्धान पनि हुँदै छन् र आश्चर्य जनकरुपमा कति कुरा प्रमाणित हुँदै गएका छन्। विद्या—अविद्या, परा र अपरा विद्याको बारेमा आज विश्वभर बहसको विषय बनेको छ। त्यसै गरी आत्माको अस्तित्व सधैँ एकटंकार रहन्छ भन्ने मान्यता नै सनातन धर्मको सिद्धान्त हो। अहिले प्रत्येक धर्म र संस्कृतिमा जन्म, पूर्वजन्म र पुनर्जन्मका बारेमा आफ्नै मान्यता पाइन्छन् र आत्माको अतृप्त तृष्णाको अवस्थाको पूर्णता नहुन्ज्यालसम्म आत्माको अस्तित्व रहिरहन्छ भन्ने मान्यतालाई चुनौती दिन सकिन्न।
आवरणः कर्नाटकको श्रवणबेलगोला, चन्द्रगिरि नामक पहाडमा रहेको जडभरतको प्रतिमा। तस्बिर सौजन्यःwikipedi
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया