काठमाडौँको सम्बद्ध बस्तीको छेउमा छ थापाथलीको सुकुमबासी बस्ती। यो कतिका लागि सहरको सौन्दर्यमा धब्बा हो, कतिका लागि कमाइ खाने भाँडो तर वास्तविक सुकुमबासीका लागि जीवन मरणको आधार। कस्तो छ यो बस्ती? कस्ता मान्छे बस्छन् यहाँ? बागमती नदीको किनारमा जस्ताले छाएका, बाँसले वरपर बारिएका बस्ती देखिन्छ। अरूले सुकुमबासी बस्ती भने पनि यहाँ भीत्र बस्नेले यसको नाम पौरखी बस्ती राखेका छन्।
लेखक: रूपेश आचार्य
महानगरपालिकाका प्रमुख बालेन्द्र साहले समेत डोजर लगाएर जाँदा समेत असफल रहेको बस्ती हटाउन र स्थानान्तरण गर्न नसकेको सुकुमबासी बस्तीका मानिसहरू भने अझै पनि सुविधायुक्त स्थानको स्थानान्तरण आशामा छन्।
सुकुमबासी बस्ती हटाउन भने निकै प्रयास हरू पनि गरिए तर ती असफल भए। बस्ती त हटाउने तर त्यहाँका बासिन्दाहरूका लागि उपयोग हुने स्थानको पहिचान गर्न नसकेका कारण पनि त्यहाँ बाट सुकुमबासीहरू हट्न मानेको छैनन्।
सुकुमबासी बस्ती छेउका सबै बाटो हिलाम्मे छ। वरपर वन, बुट्यान र झाडी रहेकाले सर्पलगायतको त्रास पनि त्यत्तिकै छ। नदीको किनारा टहरा भएका कारण बर्खामा नदीको बहाव उच्च हुँदा घर भित्र पानीको बहाव पस्ने त्रास त्यतिकै उच्च छन्। अव्यवस्थित अवस्थाका कच्ची झुपडीहरू ठुला पानी पर्दा ओतको सहारा बनाउने सामान नहुने र हावाहुरी चल्दाचाहिँ परिवारको सदस्यले टहरा समाएर बस्न पर्ने अवस्था का छन्।
कमाई के त?
सुकुमबासीका लागि जीविकोपार्जनको मुख्य सहारा नै मजदुरी हो। यहाँका अधिकांश बासिन्दा दैनिक ज्यालामा सडक वा घर निर्माणमा भारी बोक्ने काम गर्छन। कोही बाटोमा बसेर मकै पोल्ने त कोही जुत्ता पालीस गर्ने जस्ता काम गर्ने स्वावलम्बी व्यवसायी पनि छन्। “पहिले जस्तो कलकारखाना र उद्योगहरू नचलेकाले नियमित काम पाइदैँन र काम नभएको बेला भोकै समेत सुत्न पर्छ”, एक सुकुमबासीले बताए।
शौचालय
१३६ घरधुरी रहेको बस्तीमा पालका टुक्राले छाएको र वरपर बारिएका केही अव्यवस्थित शौचालय छ। हरेक घरमा शौचालय नभएका कारण सामूहिक शौचालयको प्रयोग गर्दै आएका छन्। सामान्यत ५ देखि १० घर सम्मका मानिसले उपयोग हुने स्थान चुनेर शौचालयको रूप दिन्छन् र प्रयोग गर्दछन्। महिला पुरुषका लागि छुट्टा छुट्टै शौचालय नभएका कारण महिलाहरूको लागि निकै कठिन हुने गरेको गुनासो छ। अव्यवस्थित बस्तीका अव्यवस्थित शौचालय घर नजिकै हुँदा त्यसको दुर्गन्ध का कारण निकै बालबालिका बिरामी हुने गरेको पनि सुकुमबासीको भनाई छ।
पानीको राम्रै छ सुविधा
काठमाडौँको प्राय स्थानमा पानीको हाहाकार हुँदा मानिसहरू पानीको लागि घण्टौँ लाइन बसेर पनि पानी नपाउँदा निराश देखिन्छन्। तर सुकुमबासी बस्तीमा भने २४ घण्टै पानी को व्यवस्था छ। सुन्दा अचम्म लग्ला सुकुमबासी बस्तीमा समेत सुविधा सम्पन्न पानी भनेर तर यो सत्य हो। सुकुमबासी बस्तीका केही ठाउँहरू मा पाँच हजार लिटरका काला ड्रम र दुई हजारदेखि तीन हजार लिटरका ड्रमको व्यवस्था गरिएको छ। साथै केही स्थानका दुरी कायम गरेर निरन्तर प्रयोग गर्न मिल्ने गरी ट्युबलेको पनि व्यवस्था छ। यो बस्तीमा सरसफाइ, लुगा धुने र भाँडा माझ्ने लगायतका काममा प्रयोग हुन्छ। कुनै संस्थाको सहयोगमा निर्माण गरिएको तर नाम थाहा नभएको सुकुमबासीको भनाइ छ। खानेपानीका लागि भने जारको पानी नै प्रयोग गर्दै आइरहेको उहाँहरूको भनाइछ।
मिटरसहितको बत्ती
सुकुमबासी बस्तीमा मानिसको लालपुर्जा नहुँदा पनि विद्युत् वितरण गरिएको छ। विद्युत् वितरणका लागि आवश्यक त्यस्ता सम्पत्ति नहुँदाको हकमा नेपाली नागरिकले धरौटी राखी विद्युतीय सुविधा लिन मिल्ने व्यवस्था भएको नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्र काठमाडौँका प्रशासकीय अधिकृत रमिला कोइरालाले जानकारी दिनुभयो। कोइराला भन्नुहुन्छ ‘कुनै पनि व्यक्तिको जग्गा जमिन वा सम्पत्ति नभएकाको हकमा धरौटी राखेर विद्युत् वितरण गर्न सकिन्छ। हामीले सुकुमबासी बस्तीका प्रतिघरका लागि प्रति विद्युत् मिटरको लागि रु दश हजार रुपैयाँ धरौटी राखेर विद्युत् वितरण गरिन्छ।
अरूका भरमा शिक्षा
पौरखी बस्तीका सहसचिव गोपाल केसीका अनुसार एक देखि १० सम्म पढ्न लायक भएकाका दुई सय भन्दा बढी बालबालिका छन्। सबै स्कुल गएका छैनन्। सुकुमबासी बस्तीका करिब एक सय बालबालिका भने श्री गुह्येश्वरी बाल शिक्षा मा.वि मा पढ्दै आएको विद्यालयकी प्रधानाध्यापक निता पोख्रेलले जानकारी दिनुभयो।
‘चिल्ड्रेन नेपाल, महिला उमङ्ग, चेन्ज एक्सन नेपाल जस्ता संस्था हरूले निमुखा वर्गहरूका लागि सहयोग गर्दै आएका छन् ‘, निता भन्नुहुन्छ ‘हामीले परीक्षा शुल्क पनि केहीका हकमा माफ गरिदिएका छैँ। तर सबैलाई भने निः शुल्क भने गर्न सकिएको छैन र अझै सहयोग प्राप्त भए सकभर बच्चाहरूको आवश्यक अनुसार निःशुल्क सेवा प्रदान गर्न गरिनेछ।’ केसीको भनाईमा यहाँका केही नीजि स्कुलमा पनि जान्छन्।
स्वास्थ्य
टहराको केही मिटर दुरीमा बागमतीका कामरण केही बालबालिका तथा वृद्धलाई नकारात्मक असर परिरहेको देखिन्छ। केही संस्थाले कहिले काहीँ स्वास्थ्य शिविर राख्ने गरेको छन् तर जटिल स्वास्थ्य समस्या परेका बिरामीहरूका लागि खाली आश्वासन दिने तर सेवा नदिने पनि गरेको त्यहाँ बासिन्दा बताउँछन्। कोही ठूलै बिरामी भयो भनेचाहिँ बस्तीका हरेका घरबाट सकेको सहयोग चन्दा उठाएर उपचार गर्ने गरेको एक युवकले बताए।
वृद्ध सुकुमबासी
१३ सय हाराहारीको सङ्ख्यामा रहेका सुकुमबासी बस्तीमा करिब ६० देखि ७० जना वृद्धहरू छन्। साधारण युवा युवतीको लागि जीवनयापन तथा गुजारा चले तापनि बुढाबुढीका लागि यहाँ दिन कटाउन कठिन छ। वृद्धहरूको परिवारमा ज्याला मजदुर गरेर छाक टार्दिने व्यक्ति भए त ठिकै हो। कोही नहुने बेसहाराहरूको लागि भने हातमुख जोड्न कठिन अवस्था छ। कोही आँखा नदेख्ने त कोही दिर्घ रोगीहरू पनि त्यस बस्तीमा छन्।
सुकुमबासी बस्तीमा पसल
सुकुमबासी बस्तीमा ६ वटा किराना पसलहरू छन्। जसमा दैनिक उपभोग गरिने सामानहरू राखिएको छ। पसलमा पानीका जार, चाउचाउ, चुरोट , खैनी , लगायतका सामाग्रीहरू देख्न सकिन्छ। यसै गरी कपडा सिलाउनका लागि दुई वटा पसल पनि राखिएको छ।
तथ्याङ्कको समस्या
सुकुमबासीमा १३६ घरधुरी र १ हजार ३ सय मानिसहबसोबास गर्दछन् भनिए तापनि सो भन्दा बढी रहेको काठमाडौँ महानगरपालिकाका वडा–११ अध्यक्ष हिरालाल तन्डुकारले बताउनुभयो। वडाध्यक्ष हिरालाल तन्डुकारले भन्नुभयो, “वडाका तर्फबाट हामीले घर नं सहित टहरामा टाँसी दिएका थियौँ तर अहिले सो सङ्ख्या भन्दा बढेको छ। हामीलाई जानकारी नदिई त्यसरी बस्न मिल्दैन भन्दा हाम्रा कुरा सुन्दैनन्। उनीहरूको अलगै समिति रहेछ। आफ्नो मनलागि मानिसहरू राखेका छन्। जानकारी गराइ पाउँ भन्दा उल्टै हप्काउछन।” त्यस ठाउँमा विद्युत् जडान गर्ने समयमा पनि आफूसँग स्वकृती नलिई हालेको उहाँले वताउनुभयो।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया