ललितपुर जिल्ला अदालतमा एक सेवाग्राहीलाई अदालत परिसर बाहिर पाइन्ट खोल्न लगाइएको छ । धरानबाट आएका ति सेवाग्राहीलाई अदालत प्रवेश गर्नेक्रममा च्यातिएको पाइन्टमा भित्र पस्न नपाइने भन्दै अदालतको सुरक्षाजाँचमा खटिएका प्रहरीहरुले पाइन्ट खोल्न लगाएर जाडोमा लगाउने भित्री ट्राउजरमा अदालतमा प्रवेश गराएको अधिवक्ता दिनेश राज सत्यालले जानकारी दिएका छन।
सामाजिक संजाल फेसबुकमा घटना विवरणका बारेमा जानकारी दिदै अधिवक्ता दिनेश राज सत्यालले यसप्रकार लेखेका छनः
ललितपुर जिल्ला अदालतको सुरक्षाजाँचमा खटिएका प्रहरीहरुले मेरो साथमा गएका सेवाग्राहीलाई अदालत प्रवेशमा रोक लगाए, उनीहरुको तर्क थियो, च्यातिएको पाइन्ट लगाएर अदालतभित्र प्रवेश गर्न पाइँदैन । यो सूचना हेर्नुहोस् । मैले अनुरोध गरेँ, उहाँ भित्र जान जरुरी छ, उहाँको प्रतिउत्तर फिराउने म्याद सकिनै लागेको छ । हामी आदेशको पालक हौँ, हामी प्रवेश दिन सक्दैनौँ । मैले अदालत प्रशासन प्रमुख स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईलाई भेटेँ । मेरो तर्फबाट दुई हात जोडेर नमस्कार गरेँ, म एउटा अनुरोध गर्न आएको सर, मेरो पक्ष प्रतिउत्तर फिराउन धरान देखि काठमाण्डु आउनु भएको छ । प्रतिउत्तर फिराउने समय पनि लगभग अन्तिम भईसकेको छ । सुरक्षाकर्मीले भित्रको निर्देशन नभई भित्र पठाउन मिल्दैन भन्नुभएको छ । सर बाटो फुकाइदिनु पर्यो बरु तपाई दोस्रोपटक यस्तो पोशाकमा अदालत प्रवेश गर्नेछैन भन्ने कागज गराउनुहोस् ।
उनी मेरो कुरा सुन्दै थिए वा उनको ध्यान अन्यत्रै थियो मलाई थाहा छैन, उनले घर गएर कपडा चेन्ज गरेर आउन सल्लाह दिए । मैले भने श्रीमान् घर धरान हो, घर गएर अर्को कपडा लगाएर आउन त सम्भव नै छैन । त्याहाँ सोफाहरु पनि थिए, शायद हामी सेवाग्राहीकै लागि थिए । तर उनले बसौँ भनेनन् । बरु उल्टै उनले अपमान गर्दै भने- तपाई नेपाली पोशाक यति राम्रो लगाएर आउनु भएको छ । उहाँले चै मर्यादित पोशाक लगाउनु पर्दैन ? कपडा छैन भने के गर्ने मैले प्रति प्रश्न गरेँ – एकजोर मात्र लुगामा धरान देखि काठमाण्डु कोही आउँदैन……। मलाई यो टिप्पणीले अदालतका कर्मचारीहरु वकिललाई शब्दबाट विद्वान भने पनि व्यवहारमा अपमान गर्छन् भन्ने यथार्थताको तुरुन्तै बोध गरायो । मेरो पोशाकसँग सेवाग्राहीको पोशाक किन दाँज्नु परेको ?
दुर्गाप्रसाद भट्टराईले आफ्नु न्यायसेवाको अनुभवमा के सिके होलान् ? उनले अदालतका फाइल भन्दा वाहिरको जीवन चिनेकाछन् ? कि उनीजस्तै लोकसेवाको भारी नबोकेकाहरु सेवामा प्रवेश नगरेकाहरुलाई हामीले जे भने पनि हुन्छ, जे गरे पनि हुन्छ सिकेकाछन् ।
अन्ततः मेरो अनुरोधको केही काम लागेन, जसरी बगरेको अगाडि कुनै पशुको रोदन !!!
मैले सेवाग्राहीलाई सोधेँ “अर्को पाइन्ट किन्न सकिन्छ अहिले ? ” अहिले त किन्न सकिँदैन सेवाग्राहीको उत्तर थियो । म किंकर्तव्य विमुढ थिएँ । भित्र ट्राउजर छ प्रहरी कर्मचारीको प्रश्न थियो । हजुर भित्र ट्राउजर छ पाइन्ट खोल्नुहोस् अनि ट्राउजर लगाएर भित्र जानुहोस् । हे भगवान् अन्तिममा त्यही भयो । भित्री ट्राउजर लगाएर अदालत छिर्दा अमर्यादित पोशाक भएन । के यो सही हो ???
मेरो प्रश्न कानुन व्यवसायीको हक हीतको कुरा गरेर नथाक्ने नेपाल वार एशोसियशन केन्द्रीय कार्यालय, उच्च अदालत वार एशोसियसन पाटन, जिल्ला अदालत वार एशोसियसन, काठमाण्डौ, ललितपुर, भक्तपुर । सर्वोच्च अदालत प्रशासन, उच्च अदालत प्रशासन र जिल्ला अदालत प्रशासन सबैसँग छ ।
कम्तिमा कानुनको पालना गर्ने नाउँमा वनमा दाउर खोज्न जाँदा भालुले कान खाइदिएको नेपाली छोराले दुवै कान देखिने फोटो नभएका कारण नेपाली नागरिकता नपाएको जस्तो कागजी घोडा नबन्नुहोस् ।
सम्भव छ भने दुर्गाप्रसाद भट्टराई जस्ता राष्टसेवक कर्मचारीलाई यथोचित पारितोषिक दिनुहोस् । उहाँजस्तो अधिकारी मेरो वकालत जीवनको करीव १८ वर्षमा मैले पहिलो पटक भेटेको छु ।
हामी हाम्रो अदालत मर्यादित भएको हेर्न चाहन्छौँ । हाम्रा तर्फबाट अदालतको मर्यादामा आँच आउन पनि दिँदैनौँ । अदालत मर्यादित संस्था हो, मर्यादित रहनुपर्छ । अदालतले गल्ती गर्दैन तर अदालत आफैँ काम गर्दैन, अदालतको तर्फबाट हुने कामहरु मानिसद्वारानै सम्पन्न गरिनेहुँदा मानवीय त्रुटिहुनु र मानवीय त्रुटिका कारण अदालतमाथि प्रश्न उठ्नु जायज हुन्छ । अव अदालत प्रशासनको ध्यान अदालतका मुखियाहरुतर्फ जानु आवाश्यक मात्र होइन अत्यावश्यक भइसकेको छ । यदि हामी संवेदनशील हुँदैनौँ भने स्थिति हाम्रो नियन्त्रणमै रहला वा नरहला यसै भन्न सकिन्न ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया