युनिभर्सल पिस फेडरेशन अन्तर्गत रहेर विश्वव्यापी कला र सांस्कृतिक सम्बद्धताको क्षेत्रमा सक्रिय नेटवर्क “इन्टरनेशनल एशोसिएशन फर आर्टस् एण्ड कल्चर फर पिस” ले बेलायतमा डा. सङ्गीता ‘स्वेच्छा’लाई आफ्नो नयाँ अध्यक्षको रूपमा नियुक्त गरेको छ।
डा. सङ्गीता ‘स्वेच्छा’ नेपाली साहित्य, कला, र सांस्कृतिक विकासका साथै साहित्यिक लेखन, शैक्षिक अनुसन्धान, र सांस्कृतिक कूटनीतिमा पनि सक्रिय रहँदै आएकी छन्।
डा. स्वेच्छाको नेतृत्वमा युनिभर्सल पिस फेडरेशन युकेले “इन्टरनेशनल एशोसिएशन फर आर्टस् एण्ड कल्चर फर पिस” मार्फत गर्ने अन्तर्राष्ट्रिय कला र सांस्कृतिक सम्बद्धता तथा शान्तिका लागि गर्ने कार्यहरुमा नयाँ आयाम थपिने विश्वास गरिएको छ।
नियुक्तिबारे प्रतिक्रिया दिँदै युनिभर्सल पिस फेडरेशन बेलायतका महासचिव रोबिन मार्शले भने, “डा. श्रेष्ठ जस्तो व्यक्तित्वको नेतृत्वमा यो महत्वपूर्ण पहललाई अघि बढाउन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ र उहाँको नेतृत्वले आउने वर्षमा पुर्याउने सकारात्मक प्रभावलाई हामी उत्सुकताका साथ पर्खिरहेका छौँ।”
नियुक्तिपछि डा. सङ्गीता स्वेच्छाले भनिन्, “कला र संस्कृति शान्तिको माध्यम हो, र म यस भूमिकालाई विश्वभरका कलाकार र सांस्कृतिक अभियन्ताहरूलाई एकत्रित गर्न, शान्तिको सन्देश फैलाउन र विश्वसमुदायलाई सकारात्मक रूपान्तरण गर्न समर्पित गर्नेछु।”
डा. सङ्गीता स्वेच्छा कला र साहित्यका माध्यमबाट शान्तिका सन्देशहरू फैलाउन प्रतिबद्ध छन्। उनको अध्यक्षीय कार्यकालमा “इन्टरनेशनल एशोसिएशन फर आर्टस् एण्ड कल्चर फर पिस” ले कला, साहित्य र सांस्कृतिक अन्तरक्रियाको माध्यमबाट विश्वव्यापी शान्तिका लागि अझ प्रभावकारी भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया