spot_img
Sunday, September 22, 2024
73.5 F
Washington DC.
spot_img

नेपाल र अमेरिकाबीचको विश्व कप क्रिकेट लिग २ खेल रोमाञ्चक बराबरीमा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आईसीसी विश्व कप क्रिकेट लिग–दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको छ । नेपालका अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरी भएको हो।

अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा आइतबार बिहान सम्पन्न त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकासँग बराबरी खेलेको हो ।

२ सय ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनायो । यसअघि ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो ।

अमेरिकालाई जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिएको अवस्थामा अन्सारीले पाँच रन खर्चेर बराबरी गराए । बराबरीसँगै नेपाल र अमेरिकाले एक/एक अङ्क बाँडेका छन् । अमेरिकाका स्टिभन टेलरले १ सय १४ रनको शतक प्रहार गरेपछि जितउन्मुख भएको थियो । उनको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । त्यस्तै अमेरिकाका कप्तान मोनाङ्क पटेलले ८५ रनको अर्धशतकीय पारी खेले । नेपालका लागि एक दिवसीयमा डेब्यु खेल खेलेका अन्सारीले ३ विकेट लिए ।

सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए । नेपालका लागि रोहित पौडेलले ६२, आसिफ शेखले ६१ र देव खनालले ५४ रनको अर्धशतकीय पारी खेले । रोहितको एक दिवसीयमा पाँचौँ, देव र आसिफको समान दोस्रो अर्धशतक हो । अमेरिकाका रस्टी थेरनले ४, सौरभ नेत्रवालकार र अली खानले २/२ विकेट लिए । यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

नेपाल १४ खेलमा ६ मा जित, ७ मा हार र एक बराबरीसहित छैटौँ स्थानमा छ । नेपालको १३ अङ्क रहेको छ । त्यस्तै अमेरिका २२ खेलमा १० मा जित, ११ मा हार र एउटा बराबरीसहित २१ अङ्ककासाथ चौथो स्थानमा रहेको छ । ओमान ३४ खेलमा ४२ अङ्ककासाथ शीर्ष स्थानमा कायमै छ । नेपालले तेस्रो खेलमा फेरि ओमानसँग जेठ ३१ गते र अन्तिम खेलमा अमेरिकासँग असार १ गते खेल्ने तालिका रहेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img