म्यान्मार सेनाले दुईवर्ष अगाडि आंशिकरूपमा रहेको प्रजातन्त्र खोसेर ‘सैन्य शासन’ लागू गर्याे। सत्ता हत्याएपछि सैन्य ‘कू’ यता म्यान्मारमा मानवअधिकार विरुद्धका घटना व्यापक रूपमा बढेका छन् । सत्तासीन सेनाले २६ सयभन्दा बढी निर्दोष सर्वसाधारणको ज्यान लिइसकेको छ । विद्यालयदेखि जन्मस्थलसम्मका ‘नागरिक–हत्या’ भइरहेको छ।
सेनाले प्रजातन्त्रवादीलाई सैन्य जेलमा थुनेको छ । राजनेताहरूलाई नजरबन्दमा राखेको छ । नेत्री आङ सान सुकीलाई अनेकौँ झुटा आरोप लगाउँदै ३३ वर्षको जेल सजाय सुनाएको छ । उनीप्रति आस्था राख्ने देश तथा विदेशका लाखौँ मानिसहरूले सिघ्र रिहाइको कामना गर्दै आएका छन् । तर, सैन्य तानाशाह गहिरो निन्द्रामा छ । अतिवादी सेनाले नागरिकलाई युद्धमैदानमा उत्रिन बाध्य पारेको छ। कलिला केटाकेटीहरू सुन्दर भविष्यबारे चिन्तित छन्।
के छैन म्यान्मार अर्थात् पुरानो बर्मामा? सबथोक छ । तर शान्ति र स्वतन्त्रता छैन। बर्माको ग्रामीण शहरीक्षेत्रका बासिन्दाहरूको जीवन उज्यालो छैन । उनीहरू दुईवर्ष देखि कहालीलाग्दो कुहिरोभित्र हराइरहेका छन् । म्यान्माली नागरिक वर्षौदेखि अन्धकारमा बाँचिरहेका छन् । टोल–टोलमा सेनाको आतंक छ । मनमनमा त्राशैत्राश छ । वयोवृद्ध, बालक अकाल मृत्युवरण गर्न बाध्य छन् ।सरकारले हरसमय बन्दुक ताकिरहेको छ । युवाहरू गोली पर्खेर बसेका छन् । शासकले बस्तीहरूमा बमबारुद्ध बर्साइरहेको छ ।
म्यान्मारका हरेक क्षेत्र र बस्तीहरूमा सेनाको बर्बर आतंक छ । बन्दुक बोकी घरघरमा छिरेर सेनाका जवानहरूले निर्दोष म्यान्मालीलाई यो वा त्यो नाममा आतङ्कित पार्छन् । यो समय म्यान्मालीहरूका लागि निकै चुनौतीपूर्ण र कठिन रह्यो। तनाब उस्तै छ । सैन्य आतंक झन्झन् बढेको बढेकै छ ।
स्वतन्त्रताको पक्षमा वकालत गर्दा हजारौँ प्रजातन्त्रवादीहरू सेनाको आतङ्कमा पिल्सिएका छन् । सयौँ मारिएका छन् । हजारौँहजार अंगभंग छन् । प्रजातन्त्रको पक्षमा बोल्दा युवायुवती कुटिएका छन् । पिटिएका छन् । तर पनि कू–को विरोधमा प्रर्दशन उस्तै छ । लाखौँ परिवारहरू विस्थापित भएका छन् । भारत, थाइल्याण्ड र कतिपय नेपालसम्मै पुगेका छन् ।
सैन्य कू यता लाखौँ बर्मेलीहरू सरकारी सेनाविरुद्ध युद्ध मैदानमा उत्रिएका छन्। उनीहरू देशमा पूर्ण प्रजातन्त्र र स्वतन्त्रता चाहन्छन्। प्रदर्शनका क्रममा एक दर्जन नेपालीभाषीले पनि ज्यान गुमाएका छन्। मारिनेमा एक दर्जन नेपालीभाषी छन्। गोर्खालीसहित रैथानेहरू पनि सेनाको आतंकबाहिर छैनन्। म्यान्मारमा सैन्य अत्याचार बढ्दो छ ।
यो आन्दोलनको अग्रपंक्तिमा वीर गोर्खाली अर्थात् नेपालीभाषी पनि छन्। उनीहरू दिनरात नभनी युद्ध मैदानमा खटिएका छन् । केआईए भनेर चिनिने कचिन स्वतन्त्र सेना म्यान्माको सबैभन्दा ठूलो सशस्त्र विद्रोही समूह हो । केआईएभित्र एउटा गोर्खा बटालियन छ । त्यहाँ झण्डै एक हजारभन्दा बढी नेपालीभाषी विद्रोही सेना छन्। लगभग ६६ वर्षदेखि केआईएले कचिन प्रान्तमा राज गर्दै आएको छ । कुनै समय म्यान्माको दोस्रो नेपाल भनेर चिनिने मिनिचामा पनि जातीय विद्रोहीको ज्यादै प्रभाव छ ।
सेनाविरुद्ध प्रदर्शन गर्दागर्दै सातजना नेपालीभाषीले ज्यान गुमाइसकेका छन्। मण्डले नगरका विद्यार्थी नेता रमेश सुवेदी (२५), टमु नगरका नेपाली दम्पती किशन गौतम (४०) र हरिमाया गौतम (३०) सेनाको गोलीबाट मारिए । मुसेनगरमा सोधपुछका लागि सेनाको हिरासतमा लगिएका सानाभाइ विश्वकर्मा (४३) को लास खाल्डोमुनि भेटियो। त्यस्तै, टमू नगरका राजु आचार्य (२७) र यांगौका (२२ ) वर्षीय एक युवक र माण्डलेका अर्का एक नेपालीभाषी सेनाको गोलीबाट हिँड्दाहिँड्दै बाटोमै ढले। यस्ता धेरै घटनाहरू छन्, जसले कैयौं नागरिक गुमाएको छ । आन्दोलनको क्रममा निभेका गोर्खालीसहित म्यान्माली शहीदहरूप्रति सलाम छ ।
हामी म्यान्मालीहरू दशकौंदेखि स्वतन्त्रता प्राप्तिको लागि पिल्सिरहेका छौँ। एकातिर विश्व महामारी कोरोना आतंक छ । अर्कोतर्फ सैन्य कू को बर्बता । म्यान्माका लागि यी दुबै कुरा थेगिसक्नु छैन । म्यान्माको अँध्यारो नै अँध्यारो दौड कायमै छ । यहाँको सैन्य जुन्ता प्रशासनको अत्याचारले सबैभन्दा बढी म्यान्माको युवा पुस्ता पेलिएका छन् । भविस्यमाथि बन्दूकका छर्राहरू छन् । सबैभन्दा मूख्य कुरो हाम्रो मानसि हुनुको आधारमा प्राप्त हुने आधारभूत स्वतन्त्रता नै छैन ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया