उत्तर कोरियाले पनडुब्बीबाट जापानको सागरमा दुईवटा ‘स्ट्र्याटेजिक क्रुज मिसाइल’ (णनीतिक क्रुज मिसाइल) प्रहार गरेको छ ।
दक्षिण कोरिया र अमेरिकाका सेनाले पछिल्लो पाँच वर्षयताकै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेका छन् । यस सैन्य अभ्यासको विरोधमा उत्तर कोरियाले पनडुब्बीबाट दुईवटा रणनीतिक क्रुज मिसाइल प्रहार गरेको जनाएको छ । किम जोङ उनले सैन्य अभ्यास सुरु हुनु केही घण्टा अघि यो मिसाइल प्रक्षेपण गरेका थिए । उत्तर कोरियाको सरकारी मिडियाले सोमबार क्षेप्यास्त्र प्रक्षेपणको पुष्टि गरेको छ। क्षेप्यास्त्र प्रक्षेपणले अमेरिका र दक्षिण कोरियालाई जवाफ दिने उत्तर कोरियाको दृढ संकल्प देखाएको आधिकारिक मिडियाले जनाएको छ।
उत्तर कोरियाले पनडुब्बीबाट प्रक्षेपण गरेको उक्त क्रूज मिसाइल दुई घण्टा हावामा रहेको र देशको पश्चिमी तटतर्फ १५०० किलोमिटरसम्म पुगेको जनाएको छ।
उत्तर कोरियाले आइतबार गरेको क्षेप्यास्त्र परीक्षणले अमेरिका–दक्षिण कोरियाबीच ११ दिने सैन्य अभ्यासका क्रममा आफ्नो हतियार परीक्षण गतिविधिलाई निरन्तरता दिने संकेत गरेको छ । गत हप्ता, उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना सेनाहरूलाई आफ्ना प्रतिद्वन्द्वीहरूको “युद्धको तयारी र रणनीति” लाई सामना गर्न तयार रहन आदेश दिएका थिए । केसिएनए समाचार एजेन्सीले उत्तर कोरियाको लक्ष्य आणविक हतियारसहितको क्षेप्यास्त्र परीक्षण गर्ने भएको पनि बताएको छ ।
दक्षिण कोरियाले उत्तर कोरियाको लगातारको आणविक धम्कीका कारण कोरियाली प्रायद्वीपमा ठूलो संकट उत्पन्न भएको भन्दै यो अभ्यास गरिरहेको जनाएको छ ।
उता उत्तर कोरियाले सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा वर्णन गरेको छ। यससँगै आफ्नो आत्मरक्षाका लागि आणविक हतियार आवश्यक भएको तर्क गरेको छ । अमेरिका र दक्षिण कोरियाका सेनाले सोमबार बिहानैदेखि ‘फ्रीडम शील्ड’ अभ्यास सुरु गरेका छन् । २०१८ पछि पहिलो पटक दुवै देशले यति ठूलो अभ्यास गर्दैछन्।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया