अलि सिर्जनात्मक राजनीति खोजेको हो ! १७ हजारप्रति त्यत्तिकै पीड़ाबोध हो भने त “न्यूनतम साझा कार्यक्रम” समेत नबनाई, निर्वाचन जितेको केही दिनमैं उहाँकै नेतृत्वमा मन्त्री बन्न जानु हुँदैनथ्यो !
निष्ठा र आदर्श भएको व्यक्तिलाई कुनै पनि बहानामा, कुनै पनि व्याख्यामा र कुनै पनि आवरणमा एउटा “हत्यारा”सँग शपथ लिएर मन्त्री बन्न नमिल्नुपर्ने हो । जनताको ‘म्यान्डेट’ पनि सरकारमा गई हाल्ने र मन्त्री बनिहाल्ने जस्तो थिएन ।
जे गलत हुन्छ, त्यो गलत नै हुन्छ । आफूसँग जोड़िँदा सही र नजोडिँदा गलत हुँदैन । यस्तो काम त ओली र देउबाको हो । आफूसँग मिल्दा देशी-विदेशी षड्यन्त्र चिर्दै ऐतिहासिक एकता हुने, सिङ्गो पार्टीको पाइलट बन्न योग्य हुने, लोकतान्त्रिक गठबन्धन बन्ने, प्रचण्ड डाइनामिक नेता हुने अनि आफूसँग अलग हुने बित्तिकै भ्रष्ट र हत्यारा हुने त पुराना दलको झुत्रे व्याख्या हो ।
कांग्रेस र एमालेका लागि १७ हजार एउटा सङ्ख्यामात्रै हो । त्यसमा पीड़ा, भावना, लज्जा केही पनि छैन । तिनको कुरूप र भुत्ते हतियार हो यो सङ्ख्या !
तपाईंहरू त सुसंस्कृत र वैकल्पिक राजनीति गर्ने भनेर आउनुभएको हो । संसदमा पसेको पहिलो दिन किन १७ हजारबारे बोल्नुभएन ? बरु जो भए पनि हुन्छ, तर हिंसात्मक इतिहास भएका प्रचण्डलाई हुँदैन भनेर किन एक शब्द पनि बोल्नुभएन ? किन दुई दुई पल्ट भोट हाल्नुभयो ? किन प्रधानमन्त्री बनाउनुभयो ? किन उहाँको नेतृत्व स्वीकार गर्नुभयो ? किन बिटुलिनुभयो ?
सरकारबाट हट्नेबित्तिकै सबैलाई याद हुने यो १७ हजार के हो ? कस्तो राजनीति हो ?
राजनीतिसँग कुनै सम्बन्ध नभएका दुई आमनागरिकको अत्यन्त दुःखद मृत्युलाई १७ हजारसँग जोडेर राजनीतीकरण गर्नु आफैमा अप्रिय हुनुपर्ने हो !
के १७ हजार नजोडी, अनाहकमा जीवन गुमाउने यी दुई नागरिकका लागि स्वतन्त्र रूपमा लड्न सकिन्न र ? के यो बालकुमारीमा उभिएर बोकिएको पोस्टर र विरोधले १७ हजारलाई न्याय दिलाउँछ ? तिनका पक्षमा लड्छ ? आँखाअगाडिको हत्या र मृत्युलाई यसरी राजनीति मिसिएको इतिहाससँग जोडेर झन कमजोर बन्दैन र ? के नागरिकको मृत्यु सङ्ख्या मात्रै हो र ?
तपाईंहरू पनि अरू जस्तै बन्न पर्छ र ?
नारायण गाउॅले
समसामायीक विषयमा सटिकरूपले कलम चलाउनु हुने नारायण गाउॅले स्वतन्त्र लेखक हुनुहुन्छ।