spot_img
Thursday, May 9, 2024
63.3 F
Washington DC.
spot_img

झाँक्रीजी, एक वर्ष विदेशी रेस्टुरेन्टमा काम गर्ने नेपालीले देशमा पैसा पठाएनन् भने देश टाट पल्टिन्छ!

सम्बन्धित समाचार

नारायण गाउॅले
नारायण गाउॅले
समसामायीक विषयमा सटिकरूपले कलम चलाउनु हुने नारायण गाउॅले स्वतन्त्र लेखक हुनुहुन्छ।

पूर्व मन्त्री तथा नेकपा समाजबादीका सचिव राम कुमारी झाँक्रीले गैर आवासिय नेपालीहरुको कार्यक्रममा प्रश्नहरुको जवाव दिदै गर्दा अनियन्त्रित हुदै आक्रोस पोख्नु भयो। विदेशमा श्रम गर्ने नेपालीलाई श्रमकै आधारमा अपमानजनक भाषाशैलीमा सम्बोधन गर्नु साह्रै असभ्य र अनैतिक भएको भन्दै सामाजिक संजालमा ब्यापक रुपमा उनको आलोचना भएको छ। यसै प्रसङ्गमा, आज हामीले नारायण गाउँलेजीको विचार साभार गरेका छौ।

झाँक्रीजीलाई थाहा छ, एक वर्ष विदेशी रेस्टुरेन्टमा काम गर्ने नेपालीले देशमा पैसा पठाएनन् भने देश टाट पल्टिन्छ। सोझो भाषामा देश टाट पल्टिने भनेको देशसँग वैदेशिक मुद्राको सञ्चय सकिनु या ज्यादै कम हुनु हो ! औषधि, खाद्य, पेट्रोल, यातायात, इन्टरनेटजस्ता आयातदेखि वैदेशिक ऋणको ब्याज तिर्न विदेशी मुद्रा चाहिन्छ।

यतिबेला देशसँग १० अर्ब डलर जति सञ्चय छ ! त्यसले एक वर्ष पनि धान्दैन । संयोग के छ भने देशमा भित्रिने रेमिटेन्स पनि त्यति नै छ। भारतलगायतका मुलुकबाट अनौपचारिक रूपमा भित्रिने वैदेशिक मुद्राको अंश पनि ठूलै रहेको मानिन्छ।

झाँक्रीजी र हामी मिलेर बनाएको देशको अर्थतन्त्र चिन्तालाग्दो छ । वैदेशिक मुद्रा कमाउने मुख्य स्रोत व्यापार र वैदेशिक लगानी हुनुपर्ने हो । तर व्यापारबाट कमाउनु त परको कुरा, देशले बर्सेनि १५ खर्ब रुपियाँ घाटा बेहोर्छ । अमेरिकाबाहेक प्रायः सबै व्यापारिक देशसँग हाम्रो व्यापारघाटा छ। त्यो १५ खर्ब कहाँबाट ल्याएर देश जोगाउने भन्ने चिन्ता कसैलाई छैन । भारतदेखि अमेरिकाका रेस्टुरेन्टसम्म रातदिन खटेर काम गर्नेले धानिदिएको हुनाले नै हामीलाई यत्रो घाटाबारे ज्ञान, चिन्ता र तदारुकता नभएको हो । कसैले विदेशमा पसिना बगाइदिएकोले गर्दा नै तिनलाई ‘ठूलो कुरो नगर्नुस्’ भन्दै आफै ठूलो कुरो गर्न पाइएको हो ।
झाँक्रीजी अलि रुखो र कड़ा भए पनि भ्रष्ट हुनुहुन्छ जस्तो लाग्दैन । र, विदेशमा श्रम बेच्ने नेपालीले पनि देशलाई सके मद्दत गरेको छ, नसके पनि भ्रष्टाचार गरेको छैन, कमिशन खाएको छैन, महँगा गाड़ीदेखि मोबाइलसम्म बोकेर व्यापारघाटा बढाएको छैन । त्यस्तो श्रमिकलाई श्रमकै आधारमा अपमानजनक भाषाशैलीमा सम्बोधन गर्नु साह्रै असभ्य र अनैतिक हुन्छ।

के बिर्सिनुभएन भने चालीस लाखको हाराहारीमा रहेको यो सङ्ख्या देशमा आउने पर्यटक सङ्ख्याभन्दा बढ़ी हो । रेमिटेन्सको अलावा पनि नेपाल आउँदा तिनको खर्च औसत पर्यटकजस्तै हुन्छ।

भाषाशैली र केही आधारभूत विषयबाहेक झाँक्रीजीका सबै तर्क गलत पनि छैनन् । उहाँलाई प्रश्न सोध्नेहरूको भाषाशैली र प्रस्तुति आफैमा असभ्य र भड्काऊ देखिन्छ । त्यसले पनि उहाँलाई मर्यादा नाघ्न सहयोग गरेको होला । तर प्रश्न सोध्ने व्यक्ति सामान्य नागरिक र उत्तर दिने व्यक्ति ‘नेता’ भएकाले झाँक्रीजी अलि संयमित देखिनुपर्ने थियो ।

रेस्टुरेन्टमा काम गर्नेले मात्रै देशलाई दिएको भन्ने होइन । देशले पनि सकेको दिएकै छ । भोलि देश समृद्ध र सुरक्षित बन्दै जाँदा थप उदार पनि बन्ने नै छ ! देशले राजनैतिक अधिकारबिनाको गैरआवासीय नागरिकताको व्यवस्था गरेको छ । हो, यो एउटा परिचयपत्र जस्तै हो । तर प्रश्नकर्ताले भनेजस्तो कागजको खोस्टो होइन । देशले दिने परिचयपत्रलाई आदर गर्न नसक्ने र खोस्टो देख्नेलाई किन नागरिकता चाहियो र ? भोट हाल्ने या चुनाबमा लड्ने अधिकार बाहेक अरू सबै हक भएको त्यो नागरिकता परिचयपत्रभन्दा अलि माथिल्लो विषय हो । परिचयपत्र एउटा मन्त्रालयको परिपत्रले खोस्न सकिएला, अहिलेको हक नागरिक हक हो, संवैधानिक हक हो । फेरि राजनीति गर्छु भन्नेलाई देशले रोकेको छैन ।

रवि लामिछाने फर्किनुभएको छ, तपाईं पनि फर्किनुहोस्। सकियो त !

हिजो वंशजको आधारमा नेपाली नागरिक रहेको र आज विदेशी नागरिकता लिएकाहरूले एक पुस्ताका लागि उक्त नागरिकता कायम भए हुन्थ्यो भन्ने चाहना राख्नु गलत पनि होइन । तिनलाई झाँक्रीजीले जस्तै गाली गर्न पर्दैन । तर, देशको वर्तमान संविधान, भूराजनैतिक अवस्था र विद्यमान् कानुनहरूले त्यसलाई असम्भव बनाएका छन् । राजनैतिक हकसहितको दोहोरो नागरिकता देशलाई जरूरी छैन । तर देश अनुदार पनि छैन । कति देशमा गुमेको नागरिकता हासिल गर्न फलामको चिउरा चपाउनु पर्छ, तर नेपालमा विदेशी नागरिकता छोडेको दिन पुरानै हैसियतको नागरिकता कायम हुन्छ । यसमा देशलाई धन्यवाद दिऊँ !
२०-३० वर्ष हामी सबै मिलेर देश बनाउनुपर्ने छ । झगड़ा गरेर, टुक्रिएर, दोषारोपण गरेर होइन । व्यापारघाटा र रेमिटेन्स बिर्सिनुहोस्, देशसँग विकास खर्चका लागि एक रुपियाँ राजश्व नबच्ने अवस्था छ । कति वर्ष त तलबभत्ताका लागि ऋण लिइएको छ । एक मीटर बाटो पिच गर्न पनि ऋण लिन पर्ने छ । देशमा सुको विकास भएको छैन तर अहिल्यै ऋणको साँवा-ब्याजका लागि विकास-खर्च भन्दा धेरै छुट्याउनुपर्ने अवस्था छ । ब्याज तिर्न ऋण लिनुपरेपछि कहाँ पुगिएला ? यो स्थिति ५-१० वर्षमा बदलिन्न ।

त्यसैले सबै संयमित, तथ्यपरक र परिपूरक बनौं । देश रह्यो भने बल्ल आवासीय या गैरआवासीय नागरिक भइने हो । भावुक भएर म नेता भएँ भने एअरपोर्टमा बाहिर जाने युवालाई रोक्छु भन्ने भाषण नगरौं ! मलेशियामा काम गर्नेलाई फर्काउँछु नभनौं । सकिन्छ भने देशमैं भएका जनशक्तिलाई उचित श्रम र रोजगार सिर्जना गरौँ। बाहिर बस्नेले पनि मूलतः सहयोग गर्ने आफ्नै परिवारलाई हो । संयोगले देश र अर्थतन्त्र अति गरिब र अस्वस्थ भएकाले परिवारलाई गरिएको सहयोग पनि ‘लाइफलाइन’ जस्तै बनेको हो । मैले नै धानेको छु भन्दै बदलामा मैले के पाउने भन्ने जस्तो व्यापार नगरौं।
भनिन्छ, ढुङ्गालाई माटाको भर ! माटोलाई ढुङ्गाको भर !

हेर्नुहोस झाँक्रीजीको मन्तब्य भिडियो

लेखक
नारायण गाउॅले

समसामायीक विषयमा सटिकरूपले कलम चलाउनु हुने नारायण गाउॅले स्वतन्त्र लेखक हुनुहुन्छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img