यो प्रेम, प्रतिक्षा र प्रार्थनाको शक्तिसँग सम्बन्धित एक मार्मिक र हृदयस्पर्शी कथा हो- अजम्वरी माया। लामो अनिश्चिततापछि प्रियजनसँग पुनः जोडिनुको भावनात्मक यात्रालाई यसले सुन्दर रूपमा चित्रण गर्छ। प्रार्थनाको उत्तर प्राप्त गर्न सही समयको महत्त्वलाई झल्काउँदै, यो कथा अन्ततः भ्यालेन्टाइन डेको दिन हृदयस्पर्शी पुनर्मिलनमा पुग्छ।
यो सामग्री थिर कोइरालाले आफ्नो फेसबुक पेजमा साझा गरेका हुन्, उनले व्यक्तिगत र गहिरो अनुभवलाई प्रस्तुत गरेका छन। उनले वर्षगाठका दिन आफ्नी प्रिया लोकप्रिय गायिका अन्जु पन्तलाई सम्झदै आफूहरूको पुनर्मिलनको कथा यसरी प्रस्तुत गरेका छन :
“झन्डै एक वर्ष भइसकेको थियो, नियमित सम्पर्क नभएको। पछिल्लो अपडेटबारे खासै जानकारी थिएन।
फेब्रुअरी १४, २०२०, बिहानै परिचित नम्बरबाट फोन आयो। सामान्य अभिवादनपछि सिधा प्रश्न आयो—
“अझै प्रार्थना गर्दै हुनुहुन्छ कि छोड्नुभयो?”
म एकछिन रोकिएँ। विषय बुझिहालेँ। जवाफ दिएँ—
“छैन गरेको, मैले त छोडिसकेको छु त्यो विषयमा प्रार्थना गर्न।”
उता प्रतिप्रश्न आयो—
“अब प्रार्थनाको उत्तर आउने बेलामा चाहिँ किन छोड्नु भयो त? हरेस खानुभयो कि के हो?”
म झस्किएँ। पत्थरजस्तो मन पग्लियो। एकछिन चुपचाप बसें। मनमनै सोच्न थालेँ— के भनौँ खै?
त्यसपछि फेरि प्रश्न आयो—
“किन चुप लाग्नु भयो त? आज के छ तपाईँको? भेट्न मिल्छ? म भैँसेपाटीमा बस्छु आजभोलि।”
अनौठो संयोग! त्यो बेला म पनि भैँसेपाटीमै बस्थेँ।
मैले भनेँ— “आज त म धेरै नै व्यस्त छु, पाँचवटा मिटिङ छन्। मिल्यो भने भरे मेसेज गर्छु।”
फोन वार्तालाप त सकियो, तर मनमा भुइँचालो आएझैँ भयो।
भेटौँ कि नभेटौँ?
फेरि दुख्ने हो कि घाउ?
के साँच्चै प्रार्थनाको उत्तर आउनै लागेको हो त?
कि आज अप्रिल फूल हो?
होइन, आज त फेब्रुअरी १४ हो— भ्यालेन्टाइन डे।
मनका सबै दुविधा हटाएर मेसेज गरेँ— “I am coming.”
हातमा गुलाब र एउटा सानो उपहारको प्याकेट बोकेर भेट्न गएँ।
दुई पटक मैले दिएको गुलाब स्वीकार गरेर मेरो प्रेम प्रस्ताव अस्वीकार भइसकेको थियो।
मन ढुक्क भइसकेको थिएन।
मन टुटिसकेको थियो।
आशा मरिसकेको थियो।
तर मनमा त्यो एउटै आवाज गुन्जिरह्यो—
“अब प्रार्थनाको उत्तर आउने बेलामा किन छोड्नु भो?”
जे होला, होला!
अब एकपटक फेरि कोशिस गर्छु भन्ने पक्षमा थिइनँ।
निश्चित नभएसम्म फेरि केही नभन्ने नै निधो गरेँ।
मोटरको ड्राइभर सिटमा म थिएँ, अर्को सिटमा उनी।
मेरो अन्तरमनमा आत्मविश्वास जाग्यो।
मनले भन्यो— यसपटक फेल हुँदैनस्!
मैले भनेँ— “I love you.”
जवाफमा दुबै हात अघि बढे।
न्यानो अंगालोका साथ—
“I love you too.”
त्यसपछि हामी दुवैजना निकै बेर रोयौँ।
थाहा छैन, त्यो आँसु खुसीको थियो कि पश्चात्तापको।
प्रेमले पर्खिन जान्नुपर्छ
यहीँबाट सुरु भयो हाम्रो वास्तविक प्रेम र सहयात्रा।
साँच्चै हो— प्रार्थनाको उत्तर आउन सही समय पर्खनै पर्छ।
त्यो दिनको जवाफ Yes नभएको भए,
आज जीवन अर्कै मोडमा पुगिसकेको हुन्थ्यो होला।
मेरो प्रिय,
मनदेखि धन्यवाद— जवाफमा Yes भनेकोमा।
त्यसपछिका सबै परिस्थितिहरूमा— सहज वा जटिल दुबै अवस्थाहरूमा Yes भनिदिएकोमा।
आज पाँच वर्ष पूरा भएछ।
अलिकति पनि माया घटेको छैन, झन् बढिरहेको छ।
अझै धेरै माया गरिरहनेछु।
Happy Feb 14th, My Sweetheart.
Love you. ❤️🌹”
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया