कोलम्बस, ओहायो – ९ जनवरी २०२५ – संयुक्त राज्य अमेरिकाको दक्षिणी ओहायो जिल्ला अदालतले अमेरिकेयर हेल्थकेयर सर्भिसेज, LLC र यसका मालिक डिल्ली अधिकारीलाई फेयर लेबर स्ट्याण्डर्ड्स एक्ट (FLSA) उल्लङ्घन गरेबापत दोषी ठहर गरेको छ। डिल्ली अधिकारीको कम्पनी अमेरिकेयरले घर हेरचाहता लागि नियुक्त गरेका कर्मचारीलाई उचित ओभरटाइम काम गरेबापतको तलब नदिएको र कर्मचारीहरूको सही रेकर्ड राख्न असफल भएको अदालतको आदेशमा उल्लेख गरिएको छ।
अदालतको निर्णय
अमेरिकेयरले कोलम्बस, क्लिभल्याण्ड, सिन्सिनाटी र अकनमा सेवा संचालन गर्दै आएको छ । अमेरिकेयरले आफ्ना कर्मचारीलाई ४० घण्टाभन्दा बढी काम गरेका बेला ओभरटाइम दरमा तलब नदिएको पाइएको छ। अमेरिकेयरले साधारण समय दरमा तलब दिएर FLSA को ओभरटाइम प्रावधानको उल्लङ्घन गरेको आदेशमा उल्लेख गरिएको छ ।
अदालतले श्रम विभाग (DOL) को पक्षमा समरी जजमेन्ट जारी गर्दै दिएको आदेशमा उल्लेख गरिएको छ:
• अमेरिकेयरका कर्मचारीहरू FLSA अनुसारका कर्मचारी हुन, स्वतन्त्र ठेकेदार होइनन्।
• अमेरिकेयरले दावी गरेको अपवाद/छुट अस्वीकार गरिएको छ, किनकि तेस्रो पक्षका नियूक्तिकर्ता (third-party employers) ओभरटाइमको अपवाद/छुट लागू हुँदैन।
• रेकर्ड राख्ने विधिको उल्लङ्घन भएको पाइएको छ, जसमा ओभरटाइम तलबका रेकर्ड राखिएको छैन।
अदालतद्वारा लगभग १५ मिलियन डलर तिर्न आदेश
अदालतले अमेरिकेयर र डिल्ली अधिकारीलाई तलबको रूपमा निम्नलिखित रकम तिर्न आदेश दिएको छ:
• अक्टोबर २०१९ देखि अप्रिल २०२४ सम्मको ओभरटाइमको लागि $७,४७८,८२०.७९।
• थप $७,४७८,८२०.७९ बराबरको लिक्विडेटेड ड्यामेजेस, जसबाट दुवै तलब र लिक्विडेटेड ड्यामेजेसको रकम दोब्बर हुन्छ।
अदालतको यस आदेशले करिव $१५ मिलियन डलर तिर्नु पर्ने हुन्छ। FLSA अन्तर्गत लिक्विडेटेड ड्यामेजेसले कर्मचारीलाई तलब भुक्तानी ढिलो भएको कारण क्षतिपूर्ति प्रदान गर्न र नियमहरू उल्लङ्घन गर्ने नियोक्ता कम्पनीहरूलाई दण्डित गर्न काम गर्दछ।
अदालतका अन्य आदेशहरू
वास्तविक क्षतिपूर्ति निर्धारण गर्नका लागि:
• अमेरिकेयरले १५ अप्रिल २०२४ देखि सुरु भएको समय र पे रोल रेकर्ड १४ दिन भित्र श्रम विभागलाई उपलब्ध गराउनुपर्ने।
• यदि रेकर्डले जारी उल्लङ्घन पुष्टि गरेमा, श्रम विभागले १४ दिन भित्र थप क्षतिपूर्तिको प्रस्ताव सहित नोटिस र आदेश दायर गर्नुपर्ने।
• अमेरिकेयरले श्रम विभागको नोटिस प्राप्त गरेपछि १४ दिन भित्र जवाफ दिन सक्ने।
अन्य अदालतका निर्णयहरू:
• श्रम विभाग (DOL) को जॉन लिङ्कोस्कीको डिपोजिसन (ECF नं. १०१) दर्ता गर्नको लागि माग खारेज गरिएको छ।
• जनवरी १४, २०२५ का लागि तय गरिएको सेटलमेन्ट कन्फरेन्स रद्द गरिएको छ (ECF नं. १००)।
• मुद्वा खुला छ।
अदालतको आदेशको पूर्णपाठ- यहा पढनुहोस
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया