spot_img
Saturday, September 21, 2024
81.2 F
Washington DC.
spot_img

रातो किताब पाएर दङ्ग मिठूः प्याउली र पूर्णमायाका अधूरा सपना 

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया
लेखक: प्रतिमा सिलवाल

त्यो रातो किताब फगत किताब मात्रै होइन मालिक भएको प्रमाण पनि हो। जमिनको मालिक, राज्यले पहिचान गरेको भूमिपति।

उता सभा चलिरहँदा उनीहरू त्यहि रातो किताब पाउने भएकोले उज्यालिएका थिए। आजै (बुधबार) देखि उनीहरुको पनि स्तरोन्नती हुँदै थियो सुकुम्बासीबाट भूमिपतिमा।

हातमा रातो किताब नपर्दै मीठू कामी मञ्चको देब्रेतिरको ‘सुकुम्बासी‘ टहरोको पिँढीमा बसेर भन्दै हुनुहुन्थ्यो, ‘सकुम्बासी र जग्गावाला हुनुमा कति हो कति फरक रैछ।‘

मीठूका दम्पत्ती जग्गाधनी हुनुको अनुभुति आज लिन अगाडि २० वर्षयता ‍सुकुम्बासी पीडा भोग्नु भएको थियो।

पूर्वी चितवन पदमपुर माइती भएकी मीठू जमिनवालाकी छोरी। बुबासँग आफ्नो जमिनको रातो कागज भएकोले बाल्यकालमा कहिल्यै अपहेलना महसुस गर्नु परेन।

बिहे चाहिँ सुकुम्बासीसँग भयो। नारायणगढ आँपटारी सडक छेवैको जंगलमा सानो झुप्रो बनाएर बस्नुहुन्थ्यो-रनबहादुर कामी। त्यही घरमा भित्रिनुभयो-मीठू।

मिठू र रनबहादुर कामी

बिहेको मिति त यकिन छैन मीठूलाई। तर, रनबहादुरको सिन्दुर लगाएलगत्तै मीठू पनि हुनुभयो-सुकुम्बासी। सकुम्बासी भएपछि जमिनवालाहरू र राज्यका विभिन्न निकायमा रहेकाले आफू र आफ्ना परिवारलाई पटक पटक गरेको विभेद पूरै सम्झना छ मिठूलाई।

‘सुकुम्बासीसँग परिस् भनेर आफ्नै दाइले नै घर बिगारिदिन खोजे, लालपूर्जा लिने पर्खाइमा रहनुभएकी मीठू भन्नुहुन्छ, ‘बसाइको ठेगान छैन। सरकारले कतिबेला उठाइदिन्छ। यस्ता सुकुम्बासीसँग नबस पदमपुर नै हिँड् एउटा छाप्रो उतै बनाइदिउँला भने।‘

माइतीमा पनि एउटै कोखबाट जन्म लिएरका दाजुभाइ दिदीबहिनीले गर्ने फरक व्यवहारको पनि मिठूलाई अनुभूती भयो। मिठूकै शब्दमा ‘सत‘ नछोडी रनबहादुरसँगै बस्नुभयो।

‘कतिदिन भात खाइन्, कति दिन भोकै बिते। अब त आफ्नै जमिनमा मर्न पाउने भएँ‘ जिन्दगीको धोको जमिनको धनी बनेको रातो किताब हातमा परेसँगै पूरा भएको छ।

०००

स्थानीय तहमा चुनावी सरगर्मी बढेसँगै गएको १३ दिनमा पुष्पकमल दाहाल प्रचण्ड तीन पटक चितवन आइसक्नुभएको छ। यसैपनि प्रचण्डकी छोरी रेणु भरतपुर महानगरको प्रमुख हुनुहुन्छ।

आउँदो स्थानीयमा पुनः मेयरको उम्मेदवार छोरीलाई बनाउने र चितवनकै क्षेत्र नम्बर ३ मा आफू संसदीय निर्वाचनको उम्मेदवार भएकोले  पनि प्रचण्डको ध्यान चितवनमै केन्द्रित छ।

सुकुम्बासी त अझ भोटबैंक हुन्। उनीहरुको रातो किताबसँग जिन्दगी जोडिएको छ। आत्मसम्मान जोडिएको छ। अझ समग्रमा भन्दा जिउनुको सम्पूर्ण मकसद जोडिएको हुन्छ।

लालपूर्जा बाँड्दै प्रचण्ड

तिनै सुकुम्बासी मध्ये चितवनको भरतपुर महानगरपालिकामा मात्रै कूल दश हजार सात सय ७७ घरधुरी सुकुम्बासी छन्। तिमध्ये भूमिहीन दलित १ हजार ९ सय ६९, भूमिहीन सुकुम्बासी ३ हजार ७ सय ९३ र अव्यवस्थित बसोबास पाँच हजार पाँच जना रहेका छन्।

तिमध्ये जम्मा ४६ जना भूमिहीन दलिताई जमिनको लालपूर्जा बाँड्न विभागीय मन्त्री शशी श्रेष्ठ, राष्टिय भूमी आयोगका अध्यक्ष सहितको जम्बो टोली लिएर प्रचण्ड चितवन आउनुभयो।

भरतपुर महानगरको वडा नम्बर २ मा मात्रै ९८ जना भूमिहीन दलितको संख्या छ। तर, प्रचण्डले सबै भूमिहीन दलितलाई जमिनको लालपूर्जा दिनुभएन।

तिनै लालपूर्जा नपाउनेको सूचीमा भरतपुर ११, जीपलाइन टोलकी प्याउली परियार पनि प्रचण्डले लालपूर्जा बाँडेको हेर्न पुग्नुभएको थियो। प्रचण्डले भाषण गरिरहँदा ताली बजाउनेको लाइनमा हुनुहुन्थ्यो। तर, प्याउलीको भागमा लालपूर्जा परेको छैन।

प्याउलीलाई भाषण चाहिँ मिठो लाग्यो। ‘सबैलाई लालपूर्जा दिने भनेका छन्। हुन त हामी पनि यहाँका जस्तै दलित नै हौँ, ‘  प्याउली भन्नुहुन्छ, ‘लालपूर्जा बाँडेको यस्तो हुँदो रैछ भनेर हेर्न आको। हाम्रो हातमा पनि चाँडै आउँछ होला जमिनको लालपूर्जा।‘

एकछापे बस्ती 

लालपूर्जा भोटको बलियो कार्ड पनि हो। अझ प्रचण्डले लालपूर्जा बाँडेका भरतपुर महानगरपालिका वडा नम्बर २ को देवकोटा टोलका सुकुम्बासी बस्ती त नेकपा माओवादी केन्द्रको एकछापे बस्ती हो।

मीठूका दम्पत्तीले हिसाबै गरेर सुनाएको भोटको विवरणले पनि एकछापे बस्ती भन्ने पुष्टि गर्छ। मीठू र नबहादुरले हिसाब गरेर भन्नुभयो, ‘हामी बुढाबुढी, दुई छोरा, दुई जना बुहारीले ६ जना भयौँ, अनि दुई जना नातिहरू ‍गर्दा ८ भोट त हाम्रो घरको एकछापे हो।‘

पूर्णमाया दर्जी

पूर्णमाया दर्जी पनि प्रचण्डको हातबाट लालपूर्जा पाउने मध्येकी एक हुनुहुन्छ। ५५ वर्षकी पूर्णमायाको फूलेको कपालसँगै सुकुम्बासी हुनुको व्याथा परिपक्व भइसकेको छ।

बाल्यकालमा परिवारसँगै आँपटारी आइपुगेको पूर्णमायाको परिवारले कहिले बस्ती उठाउने समस्या झेल्यो त कहिले जंगलमा पनि सुकुम्बासी भएकोले दाउरा खोज्न पनि नपाइने सास्ती भोग्यो।

सुकुम्बासी हुनुको आत्मग्लानी अनि जमिन पाउँछौ भन्ने आश्वासनकाबीच वर्षौँ सुकुम्बासी भएरै गुजारियो जिन्दगी। कहिले सरकारी अधिकार आउँछन् र बस्ती नै उठाउला भन्ने दकस सँधै मनमा रहिरह्यो।

त्यसैले पनि यसअघिको संसदीय चुनाबमा सबैजना भोट दिन गए। पूर्णमायालाई भोट हाल्न जान रहरै जागेन।  लालपूर्जा लिन कुरिरहेकी पूर्णमायाले भन्नुभयो, ‘आफ्नै जमिन पाइयो यो पाली चाहिँ भोट दिन जान्छु।‘

सबै भूमिहीनलाई भूमिपति बनाउँछौँ

४६ जना दलित भूमिहीनलाई जमिनको लालपूर्जा बाँडिसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारको तारिफ गर्दै भन्नुभयो, ‘गठबन्धन सरकार बनिसकेपछि सबै सुकुम्बासीको समस्या समाधान गर्छौँ।‘

प्रचण्डले नेपालमै पहिलोपटक स्याटालाइट इमेजबाट नक्साड्कन गरि लालपूर्जा वितरण गरिएको दाबी गर्दै देशभरी लालपूर्जा वितरण अभियान तीब्र बनाउने समेत दाबी गर्नुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img