spot_img
Sunday, September 22, 2024
72.1 F
Washington DC.
spot_img

आज मातातीर्थ औँसी-आमाको मुख हेर्ने दिन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । हिन्दू धर्मावलम्बीहरुका लागि आजको दिन विशेष रहेको छ । आमा शब्द आफैँमा यति धेरै  महत्वपूर्ण छ कि, हामीले त्यसको महिमा र वर्णन गरेरै सक्दैनौँ ।

घर परिवारमा आमासँगै रहेका र आवश्यकता परिपूर्ति गर्न देश विदेशमा आमासँग टाडा रहेर आमाको न्यानो मायाको न्यास्रो लाग्नेहरुलाई आमाको महत्व धेरै हुन्छ ।

अझ भन्नुपर्दा आफू सानु छँदा आमा स्वर्गलोक हुनेहरुलाई भने वास्तवमै आमाको अभाव सधैभरि खट्कि रहन्छ । हाम्रो घर,परिवार र समाजमा कतिपयले आमाको मुख वा आमाको मायाको अनुभव गर्नै नपाई आमा स्वर्गवास हुनु भएको छ ।

कसैलाई आमाको अनुहार अलिअलि थाहा छ तरपनि अहिले आमाको तस्वीर हेरेर चित्त बुझाउन बाध्य हुनुपरेको छ ।

हो हरेक वर्षको बैशाख कृष्णपक्षको औंशीमा आमाको मुख हेर्ने चलन रहेको छ, आजको यस दिनलाई मातातीर्थ औंशी, मातृऔंशी एवं मातृ दिवस पनि भन्ने गरिन्छ ।

आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।

हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व मनाइन्छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड दिएर सम्झने गर्छन् । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी शास्त्रमा उल्लेख गरिएको छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

विवाह गरेरे आफ्नो घर गएका छोरीहरु पनि आमाको मुख हेर्न टाडा टाडाबाट भेट्न आउछन् । आमालाई भेट्न नपाउनेहरुले फोनबाट वा सामाजिक सञ्जालमार्फत आमालाई सम्झिने गर्दछन् ।

पौराणिक कालदेखि नै मनाउँदै आएको आमाको मुख हेर्ने दिन आमाले गरेका महान् कष्ट र पूर्णकामहरुको सम्झना गरिन्छ ।

आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्दछन् । आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् ।

मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दथ्यो, तर यस वर्ष भने कोरोना महामारीको संकटका कारण मेला लाग्ने छैन ।

तीर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्दछन् । जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अनाचक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरु अचम्मित भए ।

गोठालाले पुन अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु क्रमशः हराउँदै गए । ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए । उक्त दिन बैशाख कृष्णपक्ष औंशी थियो । यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए ।

गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरे । हरेक वर्ष उक्त औंशीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगेर चढाउन थाले ।

पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो । यसरी हरेक बर्ष आमा नहुनेहरुले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठामीठा खाद्यपदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धास्वरुप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरिएको छ।

मातातीर्थ औंशीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ ।

आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । देवीको प्रतिरुप, ममताकी खानी र वालापनामा हाम्रा हरेक इच्छा, आकांक्षा पूरा गरिदिने कल्पवृक्ष सरी यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी–कोटी नमन छ ।

मातृ देवो भवः

(सामाग्री : ज्यो. दुर्गा भण्डारी )

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img