पूर्विय वैदिक सनातन धर्म परम्पराका बिभिन्न पौराणिक एबं आध्यात्मिक ग्रन्थहरूमा,खासगरि स्कन्द पुराण र भविष्योत्तर पुराण लगायतमा बर्णन भए बमोजिम राजा हिमालयले आफ्नी पुत्री गौरीको बिबाह भगवान बिष्णुसंग गरिदिने निधो गरे। पिता हिमालयको निर्णयबाट पुत्री गौरी आहतरअसहमत भए पश्चात, साथीहरूले माता गौरीलाई हरेर (सखीहरूको सहयोगमा) बिकट स्थानमा पुर्याए र त्यही गौरी (पार्वती) ले कठोर तपस्या गरिन। उनको तपस्याबाट महादेव प्रशन्न भई , भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथी हस्ता नक्षत्रका दिन स्वयं महादेव प्रकट भई गौरीको तपस्या स्वीकार्दै (विवाह गर्न स्वीकार) आशिर्वाद दिएर तपस्या सफल तुल्याईदिएकाले,हरेक वर्ष भाद्र महिनाको शुक्ल पक्षको तृतीयाका दिन हरितालिका तीज पर्व मनाउदै आएको पाईन्छ । सखीहरू (आलीका) बाट हरेर तपस्या गराई सफल भएकोले तीज पर्वलाई हरितालिका तीज पनि भनिन्छ।
तीज पर्व नेपालमा मात्र नभएर भारतका बिभिन्न स्थानहरू उत्तर प्रदेश, विहार, मध्य प्रदेश, राजस्थान, हरीयाणा, गुजरात लगायतका स्थानहरूमा करोडौ करोड धर्मालम्वीहरूले मनाउदै आएका छन्। तीज पर्बलाई हरियाली तीज, काजरी तीज, केभाडा तीज, अखा तीज, काजल तीज, तीजरी तीज आदि आदि नामबाट मनाईन्छ । कतै कतै बैशाख तथा श्रावण महिनामा पनि मनाउने गरिन्छ।तर समग्रमा तीजको महत्व र मान्यता समान देखिन्छ। हरितालिका तीज नेपाल लगायत भारतका बिभिन्न स्थानहरूमा धुमधामसंग मनाउने गरिन्छ । अहिले आएर संसारका बिभिन्न देशमा नेपाली र भारतिय समुदायले तीज पर्व मनाएको पाईन्छ । खासगरि नेपाली समुदायले बिदेशमा विशेष पर्वको रूपमा मनाउदै आएको देखिन्छ । अर्को शब्दमा भन्नु पर्दा यो पर्व नेपालीहरूको साँस्कृतिक पहिचानको रूपमा बिदेशमा परिचित हुदै गरेको देखिन्छ।
तीज पर्व सामान्य हर्षोल्लासका निमित्त मनाउने चाड मात्र नभएर यसको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व रहेको छ।त्यसो त हाम्रा अधिक चाडहरू यिनै महत्वले ओतप्रोत छन्।सामाजिक सद्भाव, मेलमिलाप एवं समाजका विवीध बिसंगति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्बको रूपमा हजारौं हजार वर्षदेखि यो चाड मनाईदै आएको छ।स्वयं माता पार्वतीले पनि नारी जातीले आफ्नो अनुकूलको योग्य वर छान्न पाउने जन्मसिद्ध नैसर्गिक अधिकारलाई ब्यबहारीक रूपमा स्थापित गराउन तपस्या (सत्याग्रह र शान्ति पूर्ण आन्दोलन) गरेर आफु अनुकूल वर छानि ब्यबहारीक रूपमा समाजमा अधिकार स्थापित गरेको देखिन्छ । यस अर्थमा हामी माता पार्वतीलाई नारी जातीको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने पहिलो महिला अभियन्ताको रूपमा लिन सक्छौं । यो चाडले साँस्कृतिक रितिरीवाज परम्परा एवं गीत संगीत अनि भेषभूषालाई संरक्षण र संबर्द्धन गर्दै आएको छ।हालका दिनहरूमा संसारभर छरिएर रहेका नेपालीहरू मार्फत तीजको माध्यमबाट साँस्कृतिक पहिचान गराउने काम भईरहेको छ।
दरको नाममा देखिएका विकृतिहरू
तीजको दिन निराहार र निर्जला व्रत बस्न अघिल्लो दिनको साँझरराती सात्विक खानेकुरा खाने प्रचलनलाई दरू खाने भनिन्छ। तन मन पवित्र बनाउदै व्रत बस्नु भन्दा अगाडी सात्विक खाना दर खाने चलन आफैमा ब्यबहारीक र बैज्ञानिक छ।तर अचेल महिनौ अगाडीदेखि दर खाने नाममा भोजभतेर चल्न थालेका छन्।सामाजिक सद्भाव तथा मिलनका हिसाबले पूर्ण असान्दर्भिक नभएता पनि ूदरू को नाममा ब्यापक विकृति छाएका छन्। दरको नाममा जाँड, रक्सी, माछा तथा मासु जस्ता तामसी खाना खाने खुवाउने कुप्रथारकुचलन चलेको छ। हुदा हुदा दर खाने केही दिदी बहिनीहरूलेनै हातमा बियरका बोतल तथा वाईनका गिलास लिएर सगौरव फोटो खिचाउदै बडो गौरवका साथ फेसबुकमा राख्ने गरेको देख्न पाईन्छ। त्यसमा पनि दुस्खका साथ भन्नु पर्दा तीजको धार्मिक आध्यात्मिक महत्व बुझेका केही (सबै होईन) केही ब्राह्मण परिवारका तथा ब्राह्मणका नातिनी छोरीहरूनै अग्रपंतिमा आएर विकृतिदूत बनेको देख्दा अत्यन्तै दुस्ख लाग्छ । तुलनात्मक रूपमा तीजको आध्यात्मिक धार्मिक महत्व कम बुझेका र तीज पर्व कमै मनाउने म लगायत मतवाला समुदायका छोरी चेलीहरूबाट के आशा गर्नु र ? तर माता पार्वती तथा भगवान शिवसंग संस्कारगत तथा साँस्कृतिक रूपमा नजिक रहेको जनजाती आदिवासी (मतवाला) समुदायले यस बारेमा बुझ्न अध्यन गर्न आवश्यक छ।अर्को तर्फ तीजको आध्यात्मिक धार्मिक महत्व बुझ्ने समुदायका छोरी चेलीहरूले तीजको महत्व र मर्यादालाई आत्मसात गर्दै सकारात्मक तथा श्रृजनशिल तवरले तीज चाड मनाउनु उपयुक्त हुनेछ।
तीज मनाउने नाममा पहिरन तथा गहना प्रदर्शन प्रतियोगिता द्रुतगतीमा मौलादै आएको छ। अनावश्यक भौतिक तडक भडकले समाजमा अस्वस्थ प्रतिस्पर्धा चलाउनुको साथसाथै,असक्षम नारीहरूका निम्ति आत्मस्वाभिमानमा चोट पुर्याएको पाईन्छ।असहायहरूका निम्ति मौलाउदै गएको यो विकृतिपूर्ण प्रतिस्पर्धाले तीज पर्व नआई दिए हुन्थ्यो भन्ने बनाएको देखिन्छ। तसर्थ जति सकिन्छ सादगी तवरले तीज पर्व मनाऔं।अनावश्यक देखावटी आडम्बरमा खर्च गर्ने पैसा असक्षम अति आवश्यक दिदीबहिनीहरूलाई तीजको उपहार स्वरूप साडी चोली किनेर दिउं। वालगृह, वृद्धाआश्रम तथा गौशालाहरूमा दान गरौं। पढ्ने रहर र प्रतिभा भएका तर आर्थिक अभाव भएका छोरी नानीहरूलाई पढ्न सहयोग गरौं।
दर खाने तथा व्रतालु चेलिहरूले मनोरञ्जनका साथसाथै आपसी सौहार्द, सद्भाव तथा प्रेम भावको बिकास गर्दै, तीजको महिमा तथा ऐतिहासिक पृष्ठभूमीको बारेमा आपसी छलफल विचार विमर्श गर्न जरूरी छ।तीज पर्व मनाउदै धार्मिक तथा सांस्कृतिक कर्तब्य पुरा गर्नुको साथै, सामाजिक तथा मानविय सेवासंग जोड्न आवश्यक छ। अन्यथा मनोरञ्जनका नाममा जानअञ्जानमा गरिने विकृति युक्त कर्महरूले ऐतिहासिक महत्व बोकेको तीज पर्वलाईनै कालान्तरमा बदनाम गराउने छ। अन्तत्वगत्वा तीज पर्वनै विकृति र विसंगतिको पर्वको रूपमा स्थापित हुन गई यसको अस्तित्वमै संकट आउने छ।
आध्यात्मिक रूपमा पनि तीजको निकै ठूलो महिमा छ।श्रद्धा पूर्बक श्रद्धालुहरू ब्रत बस्ने।शिव पार्वतीको आरधना एवं पुजा गर्ने। शिव पार्वतीका मठ मन्दिरहरूमा दर्शन, पुजा तथा नाचगान गर्ने गरिन्छ । यसै गरि पञ्चमीका दिन ब्रत बस्ने, सप्तऋषिका पुजा गर्ने गरिन्छ।यसै प्रकार तीजको तात्विक महत्व पनि त्यतिकै छ। हाम्रो वैदिक षड दर्शनले स्त्रीलाई प्रकृती मानेको छ। यसर्थ तीजको सम्बन्ध प्रकृती तत्व (जड तत्व) संग छ। एक प्रकारले प्रकृतीको सम्मान, महत्व र सामिप्यतालाई यो चाडले आत्मसात् गरेको छ। तात्विक रूपमा प्रकृती र पुरूष (आत्मा) तत्वको मिलनको चाड हो। प्रकृती आत्मा र परमात्मा को संयुक्त स्वरूपलाई नै हाम्रा दर्शनले ब्रह्म भनेका र मानेका छन् । समस्त जड तत्वको समुचित उपयोग, उपदेयता , ज्ञान र संरक्षण जस्ता कुराहरूलाई हाम्रा दर्शनले महत्व दिएको पाईन्छ । यसर्थ यो पर्ब तात्विक दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण छ।
तीजको समग्र महत्वका बारेमा उजागर नहुनु
खासगरिकन मुख्य रूपमा पण्डितज्यूहरूले तीज मनपरेको पति पाउन र पतिको दिर्घायुका निम्ति निराहार तथा निर्जला व्रत बसेर पुजाआजाका साथ मनाउने चाड हो।भनेर भनि दिनुले छोरी जातीको आफ्नो मन परेको वर छान्न पाउने नैसर्गिक जन्मसिद्ध अधिकारको प्रत्याभूतिका निम्ति माता गौरी (पार्वती) द्वारा गरिएको संघर्ष र विजयको उत्सव ओझेल पर्न गयो। यो पर्व गौरवशाली वीजयको वीजय उत्सव र नारी अधिकारको प्रत्याभूति तथा सुनिश्चितताको दिवस पनि हो।भन्ने महत्वपूर्ण कुराहरू जानअञ्जानबस भनिएन र भनिदैन।जसले गर्दा नारी अधिकार,स्वतन्त्रता र गौरवले भरपुर पर्वको वास्तविक महत्व उजागर हुन सकेन।तीजमा व्रत पुजाको साथसाथै असहाय तथा असक्षम दिदीबहिनीहरूलाई दर खुवाउने, सक्दो सहयोग गर्ने र वालगृह, गौशाला तथा वृद्धाआश्रमहरूमा यथासक्य दान सहयोग गर्दा राम्रो हुन्छ। आवश्यक जनलाई सहयोग मिल्छ र वर्तालुलाई पनि धर्म हुन्छ। भन्न कञ्जुस्याई गर्दा सामाजिक सहयोग तथा सद्भाव घटेर गईरहेका छन्। लाखौं लाख तीजका व्रतालुहरू र श्रद्धालुहरूलाई व्रत र पुजाको साथसाथै नारी जागरण, अधिकार, सामाजिक तथा मानविय सेवामा जोड्न र प्रेरित गर्न सके समाज, संस्कृति र सभ्यतालाईनै ठूलो लाभ पुग्ने छ। यिनै कमजोरीहरूका कारण हाम्रो धर्म र संस्कृतिलाई कमजोर बनाउन चाहनेहरूले, पुरूषका निम्ति नारीलाई भोको बसाउने नारी शोषणको चाड भनेर लाञ्छना लगाउनसम्म भ्याएको देखिन्छ। तसर्थ पण्डितज्यूहरूले पुजाआजा र ब्राह्मण दक्षिणाको अलावा आवश्यक जन तथा वालगृह, वृद्धाआश्रम अनि गौशालाहरूमा पनि दान सहयोग गर्दा राम्रो हुनुका साथै धर्म पनि हुन्छ भन्न हिचकिचाउन भएन। साथसाथै तीजको महत्वको अर्को पाटोलाई पनि उजागर गर्न अति आवश्यक छ ।
यि कुराहरूको अलावा हाम्रा वौद्धिक समाज, कलाकार, गीतकार, संगीतकार, पत्रकार, शिक्षक, प्राध्यपक, धार्मिक तथा आध्यात्मिक अगुवा, महिला अगुवा, सामाजिक अगुवा लगायत सम्पूर्ण चेचतनशिल नागरिक समाजले तीजको ओझेल परेको पक्षलाई उजागर गर्दै यसको महता र वैभवतालाई सबैका अगाडी प्रष्ट्याउन आवश्यक छ।
समय परिबर्तनशील र गतीशिल छ।समयको परिबर्तनशिलता र गतीशिलता संगसंगै मानव समाज र सभ्यताहरूको परिबर्तन हुदै आएका छन् । समयको गतीसंगै भएका सकारात्मक एवं श्रृजनशील परिबर्तनहरूले समाज र सभ्यताहरूलाई वैभवता प्रदान गर्दै बिकासको उचाईमा पुर्याएका छन् । समयको बदलिदो प्रबाह संगसंगै नकारात्मक र अश्रृजनशील परिबर्तनहरूले समाज र सभ्यताहरूलाई बदनाम गर्दै बिनाशको बिन्दूसम्म पुर्याएका छन् । तीज पर्ब पनि समयको परिबर्तित चक्र संगसंगै परिबर्तन हुदै आएको छ र समय अनुकूल मूलभूत यथार्थ, मूल्य र मान्यतामा आँच नआउने गरि परिबर्तन हुन आवश्यक छ।हिजो माईती घर, ब्रत, पुजा, पंधेरो, चौंतारो अनि मन्दिरहरूमा सिमीत हुने पर्व आज शहर, बजार, बस्ती, ब्यवसाय, बिद्युतीय सञ्चार माध्यमहरू,सामाजिक सञ्जालहरू लगायत हुदै ब्यापकता लिएको छ।हिजो डम्फु, मादल, थपडी र मुर्चुङ्गामा गाईने तीजका भाकाहरू आज सुब्यबस्थित तवरले आधुनिक बाजागाजामा लयबद्ध भएका छन्। तीज गीतको माध्यमबाट आफ्ना दुस्ख, पिडा, अधिकार र स्वतन्त्रता लय बाध्दै समाजलाई जागरूक गराउने पर्व हरेक क्षेत्र र समुदायको पर्व बन्दै आएको छ। एक प्रकारले तीज पर्बको माध्यमबाट सामाजले सांस्कृतिक एवं सांगितिक उपलब्धि हांसिल गरेको छ भन्दा अतिशयोक्ति नहोला । यि सकारात्मक पक्ष हुन।
तीज पर्व संगै असिमित सौहार्द र सद्भाव तथा सामाजिक एवं मानविय सेवा लुकेको छ
हरेक पर्व महत्व पूर्ण हुन्छन्। तथापी तीज पर्वले मात्रृसंसार (आमा,छोरी अनि दिदीबहिनीहरू) को ममतालाई उजागर गर्छ। व्रतालु तथा श्रद्धालुहरूको आभाबाट ममताको प्रकाश पुञ्जित भईरहेको हुन्छ। उक्त पवित्र निश्चल मानसिक एवं भावनात्मक अवस्थामा धार्मिक तथा आध्यात्मिक समर्पण र कर्मका साथसाथै,सामाजिक एवं मानविय सेवाको भावलाई मिसाउन सकेको खण्डमा लाखौं लाख असहाय तथा अति आवश्यक जनहरूलाई सहयोग र सद्भाव मिल्ने छ।सयौं हजारौं वालगृह, वृद्धाआश्रम तथा गौशालाहरूमा प्रेम र सेवाको सौगात सहयोगको रूपमा पुग्ने छन्। हजारौं हजार व्रतालु तथा श्रद्धालुहरूको हृदयमा तीजको उपलक्षमा एक अति आवश्यक तथा असहाय दिदीबहिनीको सहयोगी बन्छु भन्ने भावना जागृत हुनेछ। एउटी प्रतिभावान तर आर्थिक अभाव सामना गरि रहेकी विद्यार्थी छोरी नानीको सहयात्री बन्ने अठोट जन्मिने छ। सिङ्गो समाजलाई सद्भाव, सौहार्दता, सकारात्मकता र श्रृजनशिलताका भावले एकाकार गर्न बल पुग्ने छ।
तर बिगत केही वर्षहरूदेखि आधुनिकताको नाममा , परिबर्तनको बाहानामा अनि सस्तो लोकप्रीयता तथा सजिलो आय आर्जनको लोभमा तीज जस्तो पबित्र चाडलाई बिकृति, बिसंगति र यौन स्वच्छन्दताको शिकार बनाईदै छ। पोईल जान पाम ……डिस्कोमा तीज…… छोटो लुगा…….आदि आदि हुदै अगाडी बढेको तीज गीतको आधुनिकताको नाममा स्वच्छन्द तथा उच्छृंखल यात्राले यसपालीको तीजमा दरको साटो रक्सी खाईन्छ ……देखियो जामा फाटेर …..सम्मको उचाई छुईराखेको छ। थाहा छैन यो आधुनिकताको स्वच्छन्द तथा उच्छृंखल गतीले कुन उचाई छुने हो ?
यस्ता उच्छृंखल र छाडा गीत, संगीत र अभिनयले तत्काल कोही कसैलाई सस्तो लोकप्रीयता र सहज आर्जन गराए पनि हाम्रो वैभवशाली संस्कार, संस्कृति एवं परम्परा लाई पटक्कै फाईदा पुग्ने छैन। जीवन्त समाज र बैभवशाली सभ्यताका बिनाशका कारक बन्न सक्ने यस्ता गलत कृयाकलापहरू रोक्न सरकारी निकाय, संस्कृति प्रेमीहरू, कलाकारहरू, गीतकारहरू, संगीतकारहरू, रेकर्डीङ्ग कम्पनीहरू , सरोकारवाला संघ संस्थाहरू र सिङ्गो संस्कृति प्रेमी नागरिक समाज लागिपर्न जरूरी छ।अन्यथा वैभवशाली हाम्रा संस्कार, संस्कृति तथा चाड पर्वहरूलाई हाम्रा आउने पुस्ताले भोली ईतिहाँसका पानाहरूमा उच्छृंखलताका फोहोरहरूले पुरिएर नष्ट भएको अवस्थामा पाउन बाध्य हुने छन्।
तसर्थ, सबै मिलेर हाम्रा वैभवशाली चाडबाडहरूको महत्व उजागर गर्दै मनाऔं। संरक्षण, संवर्द्धन र बिकास गरौं।आध्यात्मिक तथा धार्मिक कर्मका साथसाथै चाड पर्वहरूलाई सामाजिक तथा मानविय सेवा र सद्भावको रूपमा पनि मनाऔं। अनि मात्र चाडबाडहरूसंगै हाम्रो सद्भाव, सौहार्द, संस्कृति अनि हाम्रो पन मौलाउने छन् र जीवन्त रहदै अरूका निम्ति पनि उदाहरण बन्ने छन्।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया