spot_img
Tuesday, September 24, 2024
62 F
Washington DC.
spot_img

भारतबाट अबैध रूपमा यसरी भित्रिन्छ नेपाली मुद्रा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाली मुद्रा भारतबाट अबैध रूपमा नेपाल भित्रिन्छ भन्दा आश्चर्य लाग्न सक्छ तर यो सत्य हो। यतिबेला देशमा आर्थिक तरलता बढेर गएको छ। बैंकहरूले ऋण प्रवाहमा आनाकानी गरिरहेका छन् तर रूपन्देहीको सीमाबाट अबैध रूपमा नेपाली रूपैयाँ भारतीय बजारबाट भित्रिरहेको तथ्य सार्वजनिक भएको छ।

सोमबार दिउँसो भारतबाट नेपाल ल्याउँदै गरेको ७२ लाख ८० हजार रूपैयाँ भारतीय प्रहरीले सुनौलीमा बरामद गरेको छ।

भारतको सुनौली चेकपोस्टमा नियमित चेकजाँचको क्रममा उक्त रकमसहित भैरहवाका सुभाष परियार पनि पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ। परियारले चलाइरहेको बा १९ च ३३७५ नम्बरको कारमा चालकको सीटमुनी प्लास्टिकभित्र बाँधेर राखेको ७२ लाख ८० हजार रूपैयाँ बरामद भएको हो।

परियारले भारतीय व्यापारीलाई सुन बेचेको र सुन बापतको रकम ल्याउँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनले कानुन विपरीत सुन बेचेको तथ्य खुलेको छ।  परियारको आफ्नै दाजुभाइ नाता पर्ने सोनी सुनचादी पसल गल्लामन्डी भैरहवामा केही वर्ष अगाडि राजस्व अनुसन्धानले छापा मारी ९९ लाख रूपैयाँ बरामद गरेको थियो। नेपाली मुद्रा यतिबेला भारतीय बजारमा लुकाइछिपाइ लगेर राख्न थालिएको यो घटनाले पुष्टि गरेको छ।

केही अर्थविद् र केही दलीय नेताहरूले नेपाल श्रीलंकाको बाटोतिर अगाडि बढेको भन्दै हल्ला गरेपछि केही मानिसले नेपाली रकम भारततर्फ लगेर लुकाउन थालेका छन्। यसरी भारतमा राखिएको रकम बेला बेला अबैध रूपमा नेपाल भित्रिने गरेको हो। रूपन्देहीमा यसअघि पनि नेपाल प्रहरीले सीमा क्षेत्रबाट भारतबाटै ल्याउँदै गरेको अवस्थामा लाखौं रकम बरामद गरेको छ। करिब एक महिना अगाडि रूपन्देही प्रहरीले साढे २४ लाख रकमसहित बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुक्खानगर बस्ने वर्ष २८ को सन्दिप शाक्यलाई पक्राउ गरेको थियो।

शाक्यले बोकेको कालो रङको झोलाबाट नेपाली  रूपैयाँ २४ लाख ५० हजार रकम फेला पारेको थियो। उक्त रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देहीमा पठाइएको थियो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७/७८ मा एक भारतीय र ४ जना नेपाली नागरिकलाई ७२ लाख ४० हजार रुपियाँ सहित प्रक्राउ गरिएको थियो।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा ११ लाख ६ हजार  भारतीय रकमसहित एक नेपाली र दुई भारतीय नागरिकलाई पक्राउ गरी रकम राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको थियो।

आर्थिक वर्ष २०७९/८० को तथ्याङक अनुसार नेपाली रकम ३७ लाख र भारतीय रकम  ६ लाख ५० हजार सहित ११ जना पक्राउ परेका छन्।  जसमध्ये छ जना भारतीय हुन् भने पाँच जना नेपाली रहेका छन्। यो तीन वर्षको अवधिमा प्रहरीले सीमावर्ती क्षेत्रबाट मात्रै  १ करोड ९४ लाख नेपाली मुद्रा र २८ लाख ९६ हजार भारतीय रूपैयाँ बरामद गरेको छ।

प्रहरीले बरामद गरेको स्रोत नखुलेको रकम नेपाल सरकारको धरौटी खातामा जम्मा गर्दछ भने  राजस्व छली र हुण्डी कारोबारको रकम  राजस्व अनुसन्धान विभागमामा पठाउने गर्दछ।

नेपालमा यतिबेला नगद रकमको अभाव  छ। उद्योगी व्यवसायीहरूले पनि आर्थिक अभाव झेलिरहेको बताइरहेका छन्। च्याम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सदस्य खिमबहादुर खत्रीका अनुसार कर्जा दुरूपयोगले नै यतिबेला बजारमा पैसाको अभाव देखिएको हो। उनले भने ‘उद्योग धन्दाको लागि बैंकबाट ऋण लिएर जग्गा जमिनमा हालेपछि के हुन्छ ? यतिबेला जग्गा जमिन कारोबार ठप्प छ त्यसैको असर हो अरू केही होइन।’

यसरी मार्केटमा पैसा अभाव भइरहेको बेला भारतबाट लाखौं नगद रकम नेपालमा भित्रिनु पनि रहस्यमय भएको खत्री बताउँछन्।

श्रोत: नरेश के.सी./आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img