spot_img
Friday, September 20, 2024
74.5 F
Washington DC.
spot_img

हामी भेड़ा हौं, थियौं र शायद रहिरहनेछौं !

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया
लेखकः नारायण गाउंले

अक्सफोर्ड र स्टान्फोर्ड जस्ता प्रतिष्ठित विश्वविद्यालयबाट पढेका र गोल्डम्यान स्याकजस्ता विश्वकै ठूला ब्याङ्किङ् संस्थामा काम गरेका ऋषि सुनाक राजनीतिमा जोडिन चाहेपछि बेलायतको ठूलो र पुरानो दल कन्जरभेटिभले उनलाई सजिलै टिकट दियो । जिते जितिहालोस् न त भनेर दिइएको टिकट थिएन । उनको निर्वाचन क्षेत्र कन्जरभेटिभ पार्टीकै पूर्व-प्रमुखले चुनाब जित्दै आएको र सबैभन्दा सुरक्षित क्षेत्र थियो । पार्टीले उनको अनुहार र उमेर हेरेन, कति वर्ष झोला बोकेको भन्ने हेरेन । योग्यता हेर्यो र उनी पार्टीमा जोडिनुलाई नै गौरव मान्यो ।

ईयुबाट अलग्गिने निर्णयपछि बेलायतको अर्थतन्त्र कमजोर र अस्थिर बनेको थियो । धेरै दिग्गज नेताहरूलाई पाखा लगाउँदै युवा अर्थशास्त्री ऋषि बेलायतका अर्थमन्त्री बनाइए । लगत्तै कोभिड़ महामारी आयो । उनको योग्यता काम लाग्यो । हजारौं व्यापारव्यवसाय र लाखौँ रोजगारी डुब्नबाट बचे । पार्टी र उनको लोकप्रियता बढ्यो । उनको दक्षता, भिजन र कार्यनीतिहरूलाई यति मन पराइयो कि राजनीति सुरु गरेको १० वर्ष नहुँदै उनी पार्टी प्रमुखका दाबेदार बने । केही दिनअघि झिनो मतले उनी पार्टीप्रमुख र प्रधानमन्त्री हुनबाट त चुके तर यहाँसम्म उनलाई ल्याइपुऱ्याएको उनको योग्यताले नै थियो र अन्ततः आज उनी बेलायतको प्रधानमन्त्री चुनिने अवस्थामा आइपुगे ।

बेलायतलाई ऋषिको जति खाँचो थियो, नेपाललाई कैयौं गुना बढ़ी योग्य, विज्ञ र अनुभवी शासकको खाँचो छ । ग्लोबलाइजेसन र चर्को प्रतिष्पर्धाको यो युगमा लगानी भित्ऱ्याउन होस् या द्वि/बहुपक्षीय व्यापार प्रबर्धन होस्, दीर्घकालीन महत्त्वका अन्तर्राष्ट्रिय या द्विद्वेशीय सम्झौताहरू हुन् या भूराजनैतिक रणनीति निर्माण होस्, देशलाई सक्षम, शिक्षित र विज्ञ शासकको अत्यन्त खाँचो छ । बनिसकेको देशलाई औसत भए पुग्ला, हामीलाई विश्वस्तरको नेतृत्व आवश्यक छ ।

अमुक एउटा व्यक्ति सबै समस्याको एउटै उत्तर हुन त पक्कै सक्दैन तर स्वर्णिम वाग्ले जत्तिको विश्व अर्थतन्त्र बुझेको, त्यससँग नजिक रहेर काम गरेको, विश्वका ठूला देश, संस्था र प्रतिनिधिसँग प्रत्यक्ष संवाद र नेगोशिएट गर्ने प्रमाणित दक्षता भएको व्यक्ति नेपाली राजनीतिमा आउनु एउटा सुखद मोड़ हुन सक्थ्यो । अन्य योग्य व्यक्तिहरूका लागि यो प्रेरक उदाहरण बन्न सक्थ्यो र केही नयाँ सुरुवात हुन्थ्यो ।

हामीमा योग्यता र विज्ञताको पहिचान र कदर गर्ने अभ्यास छैन र हो, नत्र अन्तर्राष्ट्रिय आँखा र आँकडाबाट हेर्दा स्वर्णिम वाग्ले ऋषि सुनाकभन्दा एक कदम अगाडि होलान्, कम देखिन्नन् । उनले सुनाकजस्तै विश्वप्रसिद्ध विश्वविद्यालयबाट पढेका छन्, अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानमा संलग्न छन् र विश्वकै उच्च संस्थाहरूमा जिम्मेवारी निर्वाह गर्दै छन् । खुशीको कुरा, उनले आफ्नै देशको राजनीतिमा रुचि देखाएका छन् । अलि सभ्य देशमा भएको भए पार्टीले उनलाई ससम्मान अघि बढाउने थिए । कम्तिमा भारतजस्तो देशमा पनि कांग्रेसले चीन र अमेरिकामा राजदूत बनाएर पठाएका करियर डिप्लोम्याट एस जयशङ्करलाई विजेपीका नरेन्द्र मोदीले परराष्ट्रमन्त्री बनाएको ताजा उदाहरण छ । एउटा विज्ञ परराष्ट्रमन्त्री हुँदा अहिले भारतले चीन-रूस र अमेरिका जस्ता शक्ति राष्ट्रहरूसँगको सम्बन्धलाई अचम्मको सन्तुलन दिएको मात्रै छैन, क्रमशः आफ्नो महत्त्व स्थापित गर्दै लगेको छ । हिजो महत्त्वपूर्ण विश्वसम्मेलनहरूमा ब्याक-बेन्चमा देखिने भारत आज अगाडिको लाइनमा देखिन्छ ।

हामीले राजा फालेर ‘लोकतन्त्र’ ल्याएको भन्ने सुन्यौं । तर पार्टीका सम्बन्धित कमिटीले सिफारिस नै नगरेका व्यक्तिले टिकट पाए । सर्वसम्मत सिफारिस भएका भीम रावलहरूले टिकट पाएनन् । सङ्गीन अपराधमा जेलमा रहेका आफ़ताब आलमलाई सम्मान गर्दै उनका छोरालाई उनको टिकट दिइयो तर सिफारिस भएर आएका स्वर्णिम वाग्लेहरूले टिकट पाएनन् ।

स्वर्णिम वाग्ले जस्ता योग्य र सक्षमहरूलाई टिकट दिए आफ्नै श्रीमतीको राजनैतिक यात्रा असुरक्षित हुन्छ भन्ने निकृष्ट मानसिकता बोकेका शेरबहादुर देउबाहरूलाई जिताउन हामी लागेकै छौँ । बारम्बार असफल साबित भएका र सिँढी उक्लिन र ऱ्याल पुच्छ पनि अरूको सहायता चाहिने अवस्थाका हाम्रा आदर्श नेता छन् !

हामी भेड़ा हौं, थियौं र शायद रहिरहनेछौं ।

अहिलेलाई भगवत् गीता छोएर शपथ खाएका बेलायती सांसद ऋषि शुनाकलाई प्रधानमन्त्री जस्तो महत्त्वपूर्ण जिम्मेबारीका लागि बधाई र शुभकामना भनौं ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img