बौद्धकालीन संस्कृतिसँग ऐतिहासिक साइनो जोडिएको कालानमक चामललाई बुद्धको प्रसादका रुपमा ब्रान्डिङ गरेर लाभ लिन सकिने सम्भावनाबारे लुम्बिनीमा बहस सुरुभएको छ ।
लुम्बिनी एग्रो टुरिजम एण्ड रिसर्च सेन्टरले आयोजना गरेको एक कार्यक्रममा कालानमक चामलको उत्पादन, प्रचारप्रसार र बजार व्यवस्थापन गर्नसके लाभदायी हुने राय सहभागीले दिएका छन् ।
कालानमक चामलको प्याकेजिङ र ब्रान्डिङ सम्बन्धी यहाँ गोष्ठीको आयोजना गरिएको थियो । कार्यक्रममा यस अभियानका बिरेन्द्रनाथ पाण्डेले – “स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर कृषि पर्यटनलाई बढावा दिन सकिन्छ भन्दै लुम्बिनीकै स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्न सके किसानलाई बढी लाभ हुने बताउनुभयो ।
“कालानमक चामललाई बुद्धको भोजनको रुपमा प्रयोग भएको मान्यता पनि छ,” लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दीप गुप्ताले भन्नुभयो । आगामी दिनमा १५ लाख तीर्थयात्री को भ्रमण गराउने लुम्बिनी विकास कोष र नेपाल सरकारको कसरत छ । उक्त कदम सराहनीय भएको भन्दै अध्यक्ष गुप्ताले भन्नुभयो– “प्रत्येकलाई एक/एक केजी कालानमक चामल पनि प्रसादको रुपमा बिक्री गर्ने योजना ल्याउन सके बौद्धधामको प्रचारप्रसार र एग्रो टुरिजमको सपना साकार हुनेछ ।”
लगानी अनुसार कालानमकले गुणात्मक प्रतिफल दिन नसक्दा किसानले यसको खेती छाड्न थालेका छन्, कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी एग्रो टुरिजम एण्ड रिसर्च सेन्टरका प्रमुख प्रचारक चन्द्रप्रकाश पाठकले भन्नुभयो– “बुद्धकालीन यो चामलको स्वाद प्रसादका रुपमा लुम्बिनी भ्रमणमा आउने बढीभन्दा बढी पर्यटकलाई सुजाता खीर पकाएर चखाउनसकेयसको संरक्षणसँगै किसानले आर्थिक लाभ लिन सक्नेमा दुईमत छैन ।”
विगत पाँच वर्षदेखि बुद्धकालिन तथा लुम्बिनीको रैथाने कालानमक चामलको प्रचारप्रसार, संरक्षण र बजारीकरण गर्दै आउनुभएका पाठकले भन्नुभयो, “कालानमक चामलमा पोटासियम, प्रोटिन, फाइबर, भिटामिन बी, आइरन र एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ ।” कालानमकको उत्पादकत्व कम तर बजारमूल्य बढी छ । अन्य धान प्रतिहेक्टर ४ मेट्रिक टन उत्पादन हुँदा कालानमक २ दशमलब १ मेट्रिक टन मात्रै उत्पादन हुन्छ ।
पाठकले भन्नुभयो, “अन्य चामलको भन्दा यो तीन गुणा बढी मूल्यमा बिक्री हुन्छ । अहिले यसको बजार मूल्य प्रति केजी एक सय ६० देखि एक सय ८० रुपैयाँ छ ।” तत्कालीन कपिलवस्तु राज्यमा कालानमक धानको प्रसस्त खेती हुने गरेको थियो, जुन जलमार्गबाट भारतका अन्य राज्यसम्म पुग्ने गरेको उहाँले बताउनुभयो । “संस्कृतमा ओदन भनेको भात हो, शुद्ध ओदन (शुद्धभात) उत्पादन गर्ने भएकोले राजाको नाम शुद्धोदन भएको हो,” उहाँले जोड्नुभयो
कृषि वैज्ञानिक जन्मेजय त्रिपाठी र गंगाराम कोहारलेयसको गुणस्तर नियन्त्रण तर्फ पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई ब्रान्डिङ गर्ने विषयको कानुनी प्रकृया तर्फ पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।” कृषि अनुसन्धान परिषद् नार्कको वैज्ञानिक पदमा रही काम गरिसकेका त्रिपाठीले कालानमक धानलाई बुद्धकालीन मानेर नार्कले चार वर्ष अघिनै नेपालमै उत्पादन गरेको शुद्धोदन कालानमक नामक धानको बिउ रोप्न किसानहरूलाई सुझाव दिनुभएको छ ।
बौद्धकालीन इतिहाससँग जोडिएको यो धानलाई लुम्बिनी क्षेत्रको इतिहाससँग जोडेर प्रचार गर्न लुम्बिनी सांस्कृतिक नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र चौधरीले सुझाव दिनुभयो ।सारस पाउने यहाँको सिमसार क्षेत्रमा यसको बढी उत्पादन हुने भएकाले सारस समेतको महत्वलाई बुझ्दै कालानमकलाईअहिले विशेष महत्व दिन थालिएको उहाँले बताउनुभयो ।
नेपालको कालानमक धान प्रति यहाँ मात्रै नभएर विश्वका बौद्ध धर्म मान्ने देशका विशिष्ट व्यक्ति समेतले चासो दिनथालेपछि यसको संरक्षणमा लाग्नैपर्ने बताउँदै कृषि शाखा प्रमुख चौधरीले भन्नुभयो, “लुम्बिनी क्षेत्रमा एग्रो टुरिजमलाई बढावा नदिएसम्म विकास सम्भव छैन ।” यसको उत्पादन क्षेत्र बढाउदै गुणस्तरीयता तर्फ ध्यान दिनुपर्ने उहाँले सुझाउनुभयो ।
“कालानमकलाइ रैथाने उत्पादनका रुपमा मात्र अघि बढाउनुभन्दा पर्यटनलाई जोडेर अघि बढाउदा राम्रो हुनेछ ।” लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराइले भन्नुभयो, “यसको ब्रान्डिङका विषयमा सहकार्यात्मक सहयोग गर्न लुम्बिनी विकास कोष सदैव तयार छ ।’
कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिव प्रसाद अर्यालले लुम्बिनी क्षेत्रको महत्व र संस्कृतिसँग जोडिएकोले कालानमकको उत्पादन र बजारीकरण सम्बन्धी कार्यक्रमलाई ज्ञान केन्द्रले प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले कालानमक धानलाई प्रवर्द्धन गर्न बजारीकरण आवश्यक रहेको बताउनुभयो ।
पछिल्लो समयमा कालानमक चामलको प्याकेजिङ र ब्रान्डिङ गरिरहेको लुम्बिनी एग्रो टुरिजम एण्ड रिसर्च सेन्टरले यो वर्ष एक हेक्टर क्षेत्रफलमा कालानमक धान खेती गरेको संस्थाका अध्यक्ष पूर्णिमादेवी पाठकले बताउनुभयो ।
यो वर्ष लुम्बिनीमा मात्र कुल दश हेक्टर बढी क्षेत्रफलमा कालानमक धान लगाइएको छ । त्यसैगरी रूपन्देही जिल्लाभरि करिब ५० हेक्टर बढी क्षेत्रफलमा कालानमक धानको खेती सुरुभएको पाठकले जानकारी दिनुभएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया