नेपालीहरुको महान पर्व दशैँ भित्रिएको छ। घर रङ्गाउने , आफन्तहरुको आगमन, मासुको ब्यबस्था अनि सेकुवा, भुटन तथा पक्कु बनाउने चटारोले भ्याई नभ्याई भएको छ। दिनहु मासु चिउराका परिकार पचाउन समेत गारो हुन्छ। अत : पाचनक्रियामा समेत सहयोगी हुने र तीन दिन मै घर भित्र सिङ्की र गुन्द्रुक बनाउन सकिने विधि लगायत सिङ्कीको अचार सहितको परिकार हामीले पाठकहरु समक्ष लिएर आएका छौ।
गुन्द्रुक र सिङ्की (सिन्की) नेपाली रैथाने परिकार हुन् । गुन्द्रुक पातदार तरकारीबाट बनाइन्छ भने सिङ्की मूलाको जराबाट बनाइन्छ।
परम्परागत रुपमा गुन्द्रुक र सिङ्की बनाउनको लागि मूलाको जरा र रायो वा तोरीको सागलाई पत्र मिलाएर ( साग- मूला-साग -मूला ) खनिएको खाडलमा राखी थिचिन्छ। खाडललाई आगोले पोलेर किटाणुमूक्त तथा सुख्खा पारिएको हुन्छ। सफा खुट्टाले थिचिएको मूला र सागमाथी केराको वा सालको पात, ढुङ्गा, काठ र अन्तमा माटोको आवरणले ढाकिन्छ। एक महिनापछि ढाकिएका सामाग्रीहरु हटाइ तयार भएको गुन्द्रुक र सिङ्किलाई घाममा सुकाएर केही वर्ष वा सोभन्दा बढी समयसम्म भण्डारण गरिन्छ।
समय तथा स्थान बदलिएको छ। नेपालीहरु विश्वभर छरिएका छन् तर आफ्नो रैथाने स्वाद भने बिर्सेका छैनन्। यसै प्रसङ्गमा बाहिरको तापक्रम पनि झरेर हल्का चिसो हुन थालेको छ। जाडो मौषममा घर भित्र नै गुन्द्रुक र सिङ्कि बनाउने विधिलाई यहाँ प्रस्तुत गरिएको छ।
सामाग्रीहरु:
- बन्दाकोपी: १ वटा (यसले अमिलो बनाउन सहयोग गर्दछ)
- रायोको साग: २ पाउण्ड
- सिंगो मूला : ४ पाउण्ड
तयारी :
१- मूलालाई चार कुने आकारमा मसिनो गरि काटने
२- रायोको साग र बन्दालाई मसिनो गरि काटने
३. घर भित्रको ७० डिग्री फरेनहाइट्को तापक्रममा फिजाएर १२ घन्टा सुकाउने (वा बाहिर घाम लागेको भए घाममा सुकाउने)
बनाउने विधि :
१- एउटा सफा बट्टामा पत्र मिलाएर पहिले साग अनि मूला राख्ने र बेस्सरी खादने।
२. पून अर्को पत्र मिलाएर साग र मूला हाली खादाने , सामाग्री रहुन्जेल यो क्रम जारी राख्ने ।
३- त्यसपछि खादिएको बट्टालाई घरको कुकिङ्ग ओभन भित्र राख्ने, ओभन नचलाउनु होला , अर्थात पकाए झैँ कुनै तापक्रम नदिनु होला।
४- प्रतेक दिन खादिएको बट्टालाई थिच्दै निस्केको पानी फाल्नु होला।
५- करिव चार दिन सम्म थिच्ने र पानी फाल्ने क्रम जारी राख्नु होला।
६- पाचौ दिन पछि अमिलो भएको हुन्छ र बट्टालाइ बाहिर निकालेर साग र मूलालाई छुट्याउनु होला।
ड्राइ गर्ने विधि :
१- बाहिर घाम छ भने गुन्द्रुक र सिङ्की दुवैलाइ ओभानो हुने गरि सुकाउनु होला।
२- बाहिर घाम छैन र चिसो छ भने घर भित्र सुकाउने विधिको प्रयोग गर्नु होला। यसका लागि फुड डिहाइड्रेटरको बिधि प्रयोग गरि सुकाउन सकिने छ।
३- गुन्द्रुक सिङ्की ड्राइ बनाई संचित गर्ने हो भने फुड डिहाइड्रेटरमा ३-४ घन्टा राखी ड्राइ गर्नु पर्नेछ।
४- मूलाको आलो सिङ्कीको अचार बनाएर राख्ने हो भने मूलालाई हल्का पानी सुक्ने गरि करिब १ घन्टा ड्राइ गर्ने।
आलो सिङ्कीको अचार बनाउने बिधि :
१- आलो सिङ्की (१ घन्टा ड्राइ गरेको)
२ – पिसेको तोरी – १ चम्चा
३ – जीरा धनिया पाउडर – २ चम्चा
४- खुर्सानीको धुलो – स्वाद अनुसार
५- टिमुर – १ चम्चा
६- बेसार – १ चम्चा
७- नून – स्वाद अनुसार
८ – तोरीको तेल – २ चम्चा
आलो सिङ्कीमा माथिका सबै सामाग्रीहरु मिसाउने र नून , पिरो , मरमसला लागेको ठिक भएमा एउटा शिशाको भाडो (बयम ) मा राखी एक बर्ष सम्म खान सकिने छ।
यसरी बनाएको अचार सुख्खा भएन वा गिलो भएमा फ्रिजमा राख्नु पर्दछ। तर, प्रायस सिंन्कीको अचार सुख्खा बनाइने भएकोले फ्रिजमा राख्न आवस्यक हुदैन!
ड्राइ गरीएको गुन्द्रुकलाई फोटोमा देखाइ झै जीपलक वा हावा नपस्ने कुनै बट्टामा राख्न सकिनेछ।