spot_img
Thursday, May 2, 2024
89.3 F
Washington DC.
spot_img

पुरेत आयात गर्न बाध्य हामी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

हिन्दु बाहुल्यता भएकोले पनि देशै भरी पूजा–पाठ र पर्वहरूको महत्त्व त्यतिकै रहने गरेको छ।  बिहे–व्रतबन्ध होस वा श्राद्ध कर्मकाण्ड सबै पूजा पाठ सम्पन्न गर्न आम भाषामा पुरेत, पुजारी, बाजे, गुरुलगायत भाषामा सम्बोधन गरिने पुरोहितको आवश्यकता हुने गरेको छ।  जन्म कुण्डली बनाउने देखि ग्रह दोष निवारण गरी जीवनशैलीलाई उत्कृष्ट बनाउन ज्योतिष विज्ञान प्रति ठुलाबडाहरूको त्यतिकै आकर्षण बढ्दै गएको छ।  ज्योतिष पण्डित अथवा पूजापाठ गराउने पुरोहित पेसाको माग दिन प्रतिदिन बढ्दै गए पनि माग अनुसारको पुरोहित पाउन तराईमा गाह्रो हुने गरेको छ।

संस्कृत भाषाको अध्ययन–अध्यापन कमीले तराईका आकलझुकल परिवारको युवाहरू अध्ययनको लागि भारत जाने गरेका छन्। खास गरेर दसैँ तिहार जस्ता पर्वहरूमा पुरोहितका माग बढी भएकोले गर्दा भारतीय पुरोहित आयात गरेर पूजापाठ गराउने बाध्यता बढ्दै गएको छ।
श्रावणी पूजा होस वा दसैँको दश दिन तराईका  सहर, बजारमा पुरोहित पेसाका बाजेहरूलाई भ्याई नभ्याई हुने गरेको छ।  दसैँको आगमनसँगै घटस्थापना देखि दशमीसम्म तराईमा हुने नवरात्र पूजा लगायतको समयमा पुरोहितहरूको माग त्यतिकै हुने गरेको छ।  दुर्गा मन्दिरमा पूजा पाठ गराउने देखि टिकोटालो लगाउन पुरोहितहरूको खोजी हुन्छन्। घर घरमा जमरा रोपण तथा कलश स्थापना र सहर बजारका चौक चौकमा हुने  दुर्गा माताको मूर्ति पूजा गराउन पुरोहितको खोजी गर्दै जजमानहरू भारतीय सहरमा पुग्ने गरेका छन्।
यति मात्र होइन चुनाव लड्ने नेताहरूले आफ्ना दलको घोषणापत्र र जनताको मत भन्दा पनि बढी विश्वास भारतीय पुरोहितले गरेको पूजा जपमा गरेको पनि देखिन्छ। काशी वा मथुराबाट पुरोहित आयात गरेर विजय प्राप्तिका लागि बङ्गलामुखी मन्त्रका जप पूजा गराउनेदेखि  कतिपय नेताले चुनाव जित्न काला जादु समेतको प्रयोग गर्ने  गरेको चलन बढ्दै गएको छ।
काठमाडौँ उपत्यका र अधिकांश पहाडी जिल्लामा दसैँको रौनक हुँदा तराई/मधेसतिर ‘दशहरा’ले उल्लास थप्छ।  धार्मिक र सामाजिक मान्यतामा आधारित तराई/मधेसको संस्कृति यसैको अङ्ग हो।  दशहराको पहिलो दिनदेखि नवौँ दिनसम्म  दुर्गा माताको उपासना गर्दै मनाइने व्रतलाई भने नवरात्रि भनिन्छ।  हरेक दिन हुने पूजामा दुर्गा मन्त्रको पाठ हुन्छ।  दशहराको सातौँ दिनसम्म मधेसका अधिकांश घर परिवारमा मांसाहार वर्जित हुन्छ।
श्रावण महिनाको  रुद्री पूजा होस् वा त्यस लगतै  पितृ श्राद्ध  जजमानलाई पुरोहितको आवश्यकता हुने गरेको छ।  दसैँ लगतै हुने दीपावलीको धनतेरसमा पनि व्यापारी व्यवसायीले लक्ष्मी पूजा गराउन पण्डित पुरोहित नै चाहिन्छ।  ‘भैया दुज’सम्म चल्ने पाँच दिने तिहार अर्थात् सोहरैया पर्व सकिएको ६ दिन पछि छठ पर्छ। यसमा पनि सूर्यलाई अर्घ अर्पण पण्डितकै मन्त्रबाट गराउन तराईको चलन रहेको छ।
धार्मिक मान्यता अनुसार सबै पूजा पाठ संस्कृत भाषाबाट गराउने चलन रहेको छ।  संस्कृतको अर्थ नै संस्कार गरिएको, संशोधित, अलङ्कृत भन्ने हुन्छ।  त्यसैलाई परिष्कृत गरिएकोले देव भाषालाई संस्कृत भनिएको हो।   यस भाषामा वेद, वेदाङ्ग, स्मृति, पुराण, आयुर्वेद, इतिहास, नीति शास्त्र, दर्शन, ज्योतिष, योग, तन्त्र, प्रशासन, कृषि, पशुपालन, वाणिज्य, यन्त्र, स्थापत्य, मूर्तिकला, चित्रकला, सङ्गीत इत्यादिको विशाल भण्डार उपलब्ध छ।
यसको  व्यवहारिक उपयोगिताले गर्दा संस्कृतमा कर्मकाण्ड वा ज्योतिष पढेका विद्वानहरूको माग बढ्दै गएको छ।  पुरोहितको आवश्यकता बढ्दै गए पनि मुलुकमा संस्कृत भाषाको अध्ययन अध्यापनका लागि खासै व्यवस्थापन देखिएको छैन।  यसका कारण तराइका सहरमा सीमावर्ती भारतीय सहरहरूबाट पण्डित बोलाएर पूजा गराउने चलन बढ्दै गएको छ।  कपडा, भाडा, वर्तन र दक्षिणा सहितको दानले गर्दा पुरोहित पेसामा उच्च आमदानी हुने गरेको नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपाध्यक्ष डाक्टर मदन चौबे बताउनु हुन्छ।  उहाँ भन्नुहुन्छ, ‘ज्योतिष भनेको नै विज्ञान हो, सूर्यबाट निस्किने प्रकाशले जीवनचक्रलाई प्रभावित गर्दछ,ग्रहदोष वा पूजापाठले जीवनलाई उत्कृष्ट बनाउँछ। ’ पुरोहित वा कर्मकाण्ड गराउने पण्डितको व्यापक माग आवश्यकता भएकोले यो पेसामा आम्दानी पनि राम्रो रहेको चौबेको भनाइ छ।
नेपालमा लिच्छवि कालसम्म संस्कृत भाषाको अत्यधिक प्रचलन रहेको पाइन्छ।  लिच्छवि कालका सबै अभिलेखहरू संस्कृतमै लेखिएका छन्।  राणा कालमा खास भाषाको प्रभावसँगै संस्कृत निकै कमजोर बन्न पुग्यो।  यद्यपि राणाहरूले ठाउँ–ठाउँमा संस्कृत विद्यालयहरू खोलेका थिए।
तर, यसले कर्मकाण्ड बाहेक खासै उपलब्धि दिलाउन सकेन।  २८ सालमा नयाँ शिक्षा योजना लागू भएपछि सरकारका तर्फबाट संस्कृत शिक्षाका लागि कुनै महत्त्व दिइएन जसले गर्दा कुनै–कुनै विद्यालयमा ऐच्छिक विषयको रूपमा र गुरुकुलहरूमा मात्र यो सीमित भयो र झन्–झन् ओझेलमा पर्‍यो।  २०४३ सालमा संस्कृत विश्वविद्यालयको स्थापना त भयो।  तर, यसले पनि संस्कृतको ज्ञान पक्षलाई उजागर गर्न सकेन।
माओवादी जनयुद्ध सुरु भए यता त झन् संस्कृत विद्यालयहरूमा नियोजित आक्रमण गरी त्यसलाई ध्वस्त बनाउने काम नै सुरु भयो।  श्रीमद्भागवत सप्ताह लगाउन कथा वाचन गर्ने पण्डितहरूको हत्यादेखि सामुदायिक विद्यालयहरूमा संस्कृत भाषाको निषेध र निजी विद्यालयमा अङ्ग्रेजीको अनिवार्यताले सनातन धर्म संस्कृतिलाई समाप्त पारेको हिन्दुवादी नेता सन्तोषनन्द माहाराजको भनाइ छ।  कम्युनिस्टहरूको गलत नीति र पाश्चात्य आक्रमणको कारण हिन्दु धर्ममाथि आक्रमण गर्नको लागि नै नेपाललाई धर्म निरपेक्ष राज्य बनाइएको उहाँको आरोप छ। उहाँको भनाइमा,‘नेपाली संस्कृति माथि ठुलो षडयन्त्र भएको छ, यहाँका नक्कली कम्युनिस्टहरूले विदेशीको पैसा खाएर सबै समाप्त पादै छन्। ’

आवरण तस्बिरः भारतीय पुरोहितको गोडा पखाल्दै नेपाली जजमान्

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अमेरिकी सिनेटद्वारा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मेयोर्कासलाई सफाइ , महाभियोगलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार

बुधबार, अप्रिल १७, २०२४ को एक ऐतिहासिक सत्रमा, अमेरिकी सिनेटले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासको महाभियोगलाई खारेज गर्दै आरोपहरूलाई...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img