spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

पर्यटक लोभ्याउने म्याग्दीको रूप्से झरना

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको दाना भन्ने स्थानमा अवस्थित एक मनमोहक झरना हो रूप्से झरना । रूप्से  झरनालाई रूप्से छहराको नामले पनि चिनिन्छ । बेनी-जोमसोम सडक खण्डमा पर्ने यो झरना अवलोकन गर्न दैनिक रूपमा हजारौँको स‌ङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् ।

म्याग्दीको सदरमुकाम बेनी नगरपालिकादेखि ३० किलोमिटर उत्तर पूर्वमा पर्ने रुप्से झरना ७५ मिटर अग्लो छ। वि.सं. १९७५ सालमा ७५ पैसाको हुलाक टिकटमा यो झरनाको फोटो टाँसिएको थियो, जुन टिकट अहिले प्रचलनमा छैन।

साथीहरुसँग मुुस्ताङ घुुम्न निस्किएका बेनीका गोपाल पौडेलको दस जनाको समूह  करिब एक घण्टा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमै भुल्यो ।

बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से झरनाको सुन्दरताले मुुस्ताङ हिँड्नुभएकी बेनीकी कमलकुुमारी पुर्जालाई पनि लोभ्यायो । “अग्लो पहाडबाट खस्ने झरनालाई पृष्ठभूमि बनाएर तस्बिर, भिडियो नखिची मुस्ताङ छिर्नै मन लागेन्,” उहाँले भन्नुभयो, “तह तह को पहाडबाट खसेको झरनाको सुन्दरताले मोहनी लगायो ।”

पौडेल र पुर्जामात्र होइन, मुस्ताङ भ्रमणमा आउने सबै पर्यटकले रुप्से झरनामा घण्टौँ समय बिताउँछन् । रुप्से झरनामा बिहानदेखि साँझसम्म अवलोकन गर्ने, तस्बिर र भिडियो खिचाउने पर्यटकको भीड लाग्ने गरेको  वडासदस्य लालबहादुर पुनले बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार रुप्से झरनालाई समेटेको बेनी–जोमसोम सडक भएर औसत दैनिक तीन सय गाडी र मोटरसाइकल आवतजावत गर्दछन् । असोज, कात्तिक, चैत र वैशाख महिनामा यो सडक भएर आवतजावत गर्ने पर्यटकको सङ्ख्या दैनिक एक हजार जनाभन्दा बढी हुने गरेको छ ।

मोटरसाइकल, निजी तथा भाडाका जिप चढेर मुस्ताङ आउने–जाने पर्यटक यस झरनामा गाडी रोकेर  पनि केहीबेर प्रकृतिमा रमाउँछन् पुग्छन्  । झरनाको नजिकै संसारकै गहिरो अन्धगल्छी पनि छ । धौलागिरि र अन्नपूर्ण हिमालको बीच भएर बग्ने कालीगण्डकीले बनाएको अन्धगल्छीको खोँचलाई विश्वकै गहिरो मानिएको छ ।

तीन वर्षअघिको बाढी र पहिराले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाधार बगाएको थियो । बाढीले क्षति गरेर झरना र अन्धगल्छी वरपरको सुन्दरतामा असर गरे पनि पर्यटक भने घटेका छैनन् । झरनाको नजिकै हालै बेलिब्रिज निर्माण गरिएको छ । पहिरो पन्छाएर सडक फराकिलो बनाएपछि जिप तथा  मोटरसाइकल पार्किङ गर्न सहज भएको छ । ठूला गाडीमा आउने पर्यटकलाई अटाउन व्यवस्थित पार्किङको आवश्यकता छ ।

रुप्से झरना र अन्धगल्छी पर्यटकीय महत्वको भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन सकेका छैनन् । व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय, चिया तथा खाजा पसल सञ्चालन गरेर त्यसबाट रोजगारी सिर्जना गर्न र स्थानीय तहको आयस्रोत वृद्धि गर्न सक्ने सम्भावना छ ।

झरना र गल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग, तस्बिर, भिडियो खिच्ने सुरक्षित ठाउँ बनाउनुुपर्ने काठमाडौँबाट आएकी रविना थापाले बताउनुभयो ।

विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि  अहिले उक्त टिकट प्रचलनमा छैन । झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा स्थानीयवासीले बोका बलि चढाउने गर्छन् ।

झरनालाई धार्मिक गन्तव्य पनि बनाउन सकिने सम्भावना छ । अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुुमार पुुनले सङ्घीय सरकारबाट चालु आर्थिक वर्षका  लागि प्राप्त रु ८० लाख अनुुदानबाट रुप्से झरना र अन्धगल्छीलाई व्यवस्थित गर्न पूूर्वाधार निर्माण गर्न लागिएको बताउनुुभयो ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img