काठमाडौँ, नेपाल — लेखक तथा सर्जक डा. शिव शंकर बस्यालले नेपाली चलचित्र “पूर्णबहादुरको सारङ्गी” र आफ्नै उपन्यास “सङ्ग्रामपुर” बीच उल्लेखनीय समानताहरू रहेको बताउँदै एउटा फेसबुक पोस्टमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। बस्यालका अनुसार, चलचित्र र उपन्यासको कथावस्तुमा मिल्दोजुल्दो बिम्ब र घटनाक्रम देखिन्छ, जसले उनलाई गम्भीर प्रश्नहरू उठाउन बाध्य बनाएको छ।
बस्यालले आफ्नो पोस्टमा भनेका छन्, “बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो। सुरुमा ट्रेलर हेर्दा परिचित परिवेशजस्तो लाग्यो। पछि सङ्ग्रामपुर उपन्यास पढेका एकजना भाइले चलचित्र हेरेपछि कथामा मिल्दोजुल्दो देखेको बताए। त्यसपछि मैले बिरामी अवस्थामै हल पुगेर चलचित्र हेरेँ र सङ्ग्रामपुरसँग मिलाउने प्रयास गरें।”
उल्लेखनीय समानताहरू
बस्यालले चलचित्र र आफ्नो उपन्यासमा समान देखिएका केही प्रमुख घटनाक्रमहरूको सूचीसमेत दिएका छन्। उदाहरणका लागि:
१ पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूलपात्र हुन्। जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर !
२ पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रुपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ।
३ छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रुपमान सङ मिल्दा छन्।
३ आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समिरले निरन्तर सोधिरहने प्रसङ मिल्दो छ ।
४ जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन, समिर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन ।
५ पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समिर जस्तै टप विद्यार्थी हुनु।
६ त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समिरकै शैलीमा दौडिदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।
७ संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।
८ बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समिरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।
९ रुपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु।
यी बाहेक सूक्ष्म ढङ्गले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइन्छ। पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ, आफ्नो तिब्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छायाचित्रसँग मिल्छन्।
केही प्रसङ्गहरू बिल्कुल विपरीत रुपमा प्रयोग गरिएका छन्। पुर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व छ , सङ्ग्रामपुर उपन्यासमा रूपमान भरिया । सङ्ग्रामपुर उपन्यासमा बाबु छोराको प्रेमसहित समिर सहरबाट फर्केपछि क्रान्तिकारी काममा लाग्छ। पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ।
माथिका मूल बुँदाहरू नै पूर्णबहादुरको सारङ्गीको मूल कथा हो।
डा. बस्यालले यी बुँदाहरूलाई ‘संयोग मात्र नभई नियोजित’ भएको ठहर गरेका छन्। उनका अनुसार, “एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्तिविरोधी कार्यमा लगाउने प्रपञ्च” गरिएको छ।” यसबारेमा आफ्नो कुनै व्यक्तिगत लाभ नभएको उल्लेख गर्दै उनले भने, “एउटा स्रष्टाको हैसियतले बोल्नु मेरो नैतिक दायित्व हो।”
समाजमा उत्पन्न प्रतिक्रियाहरू
बस्यालको पोस्टले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। धेरैले कथावस्तुमा समानता देख्नुलाई ‘प्रेरणा’ हो कि ‘प्रतिलिपि’ भन्ने प्रश्न उठाएका छन्। बस्यालले भने आफ्नो अन्तिम आशा शुभकामनासहित प्रस्तुत गरेका छन्— “मन जितिरहेको यो चलचित्रले अरु मान्छेहरुको मन जितिरहोस । मेरो यही शुभकामना!।”
डा. बस्यालको यो अभिव्यक्ति साहित्य र चलचित्रबीचको सम्बन्ध, सृजनात्मक प्रेरणा, र सर्जकको श्रमको सम्मानबारे नयाँ बहसको जन्मदातासमेत भएको छ। अब पूर्णबहादुरको सारङ्गी निर्माण टिमले यस विषयमा के प्रतिक्रिया दिनेछ भन्ने पनि चासोको विषय बनेको छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया