न्यु अर्लिन्स, लुइजियाना – जनवरी १, २०२५ को बिहान न्यु अर्लिन्सको फ्रेञ्च क्वार्टरको व्यस्त बर्बन स्ट्रिटमा नयाँ वर्ष मनाइरहेका मानिसहरूको भिडमा एउटा भयानक आतङ्ककारी आक्रमण भएको छ। टेक्ससका ४२ वर्षीय शम्सुद-दिन जब्बारले आईएसआईएसको झण्डा फहराइएको भाडाको फोर्ड एफ-१५० ट्रकलाई भीडमा ठोक्काउँदा १५ जनाको ज्यान गएको र ३५ जना घाइते भएका छन।
भिडियो फुटेजले देखायो त्रासदीको दृश्य
Fox 8 New Orleans द्वारा प्राप्त फुटेजमा जब्बारको ट्रक, टेक्ससको नम्बर प्लेट र आईएसआईएसको झण्डा सहित, क्यानाल स्ट्रिटको ट्राफिकमा बिस्तारै अघि बढ्दै गरेको र बर्बन स्ट्रिटतर्फ तीव्र मोड लिएको देखिन्छ। सुरक्षा क्यामेरामा ट्रकले अवरोध तोडेर भीडमा घुस्ने र पार्किङ क्रेनमा ठोक्किएर रोकिएको दृश्य पनि कैद भएको छ।
ट्रक ठोक्किएपछि जब्बार ट्रकबाट ओर्लेर प्रहरीमाथि गोली प्रहार गर्दा प्रहरीले जवाफी कारबाही गरेपछि जब्बारको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले बताएका छन।
एफबीआईको आधिकारिक वक्तव्य
एफबीआईले यो आक्रमणलाई आतङ्कवादको रूपमा अनुसन्धान गरिरहेको छ। एफबीआई अमेरिकाको प्रमुख संघीय जाँच एजेन्सी हो, जसले राष्ट्रिय सुरक्षा, संघीय कानुन कार्यान्वयन, र आपराधिक अनुसन्धानका कामहरू सम्हाल्छ। एफबिआइले आतंकवाद, साइबर अपराध, भ्रष्टाचार, मानव तस्करी, र अन्य गम्भीर अपराधहरूबारे अनुसन्धान गर्छ।
एफबीआईले विज्ञप्तिमा भनेको छः “आज बिहान ३:१५ बजे (सिएसटी), न्यु अर्लिन्सको बर्बन स्ट्रिटमा एउटा व्यक्ति भाडाको ट्रकलाई भीडमा चलाउँदै १० जनाको ज्यान लियो र दर्जनौँलाई घाइते बनायो। भीडमा ठोक्किएपछि ती व्यक्ति ट्रकबाट ओर्लेर प्रहरीलेमाथि गोली चलाए। प्रहरीले जवाफी कारबाही गर्दा घटनास्थलमै उनको मृत्यु भयो। दुई जना प्रहरी घाइते भई अस्पताल भर्ना भएका छन्। घटनास्थलमा आईएसआईएसको झण्डा फेला परेको छ। साथै, ट्रक र अन्य स्थानमा सम्भावित बमहरू पनि फेला परेका छन्। ती बमहरूको सक्रियता पत्ता लगाउन विशेष टोली खटिएको छ।”
एफबीआईले जब्बारको कुनै संगठनसँग सम्बन्ध रहेको सम्भावनाबारे अनुसन्धान गरिरहेको छ।
समुदायमा शोक र सुरक्षा सतर्कता
यस आक्रमणमा नर्सिङकी विद्यार्थी निकाइरा चियानी डेडोक्स, दुई सन्तानका पिता रेगी हन्टर, व्यापारी टाइगर बेच, र युवा आमा निकोल पेरजलगायतको मृत्यु भएको छ। पीडित परिवार र समुदायमा शोक छाएको छ।
घटनापछि जर्जिया र नोट्र डेम बीचको सगर बाउल खेल, जसलाई आजको दिन खेलिनुपर्ने थियो, सुरक्षाका कारणहरू बताउँदै बिहीबारका लागि सारिएको छ।
राष्ट्रपति जो बाइडन र निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै अनुसन्धानलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। लुइजियानाका गभर्नर जेफ ल्यान्ड्री र न्यु अर्लिन्सका मेयर लाटोया क्यान्ट्रेलले पनि भविष्यमा यस्ता घटना रोक्न कडा सुरक्षा उपायको आश्वासन दिएका छन्।
एफबीआईले थप सूचना भएका व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेको छ। स्थानीय बासिन्दा र पर्यटकलाई सतर्क रहन र कुनै पनि संदिग्ध गतिविधि रिपोर्ट गर्न अपिल गरिएको छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया