spot_img
Saturday, September 21, 2024
68.9 F
Washington DC.
spot_img

कति छ ताप सिके अर्थात चन्द्रकान्त राउतको?

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सप्तरीको महदेवा गाउँमा जन्मेका सिके अर्थात चन्द्रकान्त राउतलाई उनका समर्थकहरूले नामको अगाडि डाक्टर नलगाएर सम्बोधन गरेमा नमिठो मान्ने गर्छन । कुनै समयमा मधेसलाई सार्वभौम र स्वतन्त्र राष्ट्र घोषणाको मागसहित आन्दोलन गरेका राउतले पछिल्लो समयमा प्रदेश २ को राजनीतिमा आफ्ना गतिबिधिले धेरैको ध्यान आफुतिर पार्न सफल छन् । अघिल्लो मधेश आन्दोलनको राप उत्कर्षमा रहेको बेला ‘सार्वभौम र स्वतन्त्र मधेश राष्ट्र’ सम्बन्धी उनको माग सबभन्दा बढी क्रान्तिकारी र ‘मधेश नारा’को सर्वाधिक नयाँ संस्करण थियो ।

डा सिके राउत

राउतले आफ्नो पृथक्तावादी अभियान परित्याग गरेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारसँग वार्ता गरेर मुलधारको राजनीतितिर आए ।यसलाई केपी शर्मा ओलीसमक्ष आत्मसमर्पण गरेको भनेर केही समर्थकले सिके राउतको साथ परित्याग गरे । केही पुराना र केही नयाँ समर्थकहरूले अहिले राउत नेतृत्वको जनमत पार्टीलाई नयाँ सोंचसहितको बैकल्पिक शक्ति दावी गरिरहेका छन् ।

उनीहरूको  कथनमा राउत निकै क्षमता र दुरगामी सोंच भएका नेता हुन्। तर पार्टीको हर्कत भने सस्तो लोकप्रियताका लागि उग्रगतिबिधि केन्द्रित देखिएको छ । राउतको राजनीतिमा एउटा उदय हुने सम्भावना कमजोर वा बलियो भन्दा पनि स्थीति ठ्याक्कै २०६२/०६३ को जनआन्दोलनपछिका उपेन्द्र यादवजस्तो छ । यादव र राउत नेतृत्वको राजनीतिक शक्तिको उदय सम्भावनालाई चुनौति दिदै भयो । राजनीतिक संयोगको रुपमा यसपछाडि २०६३ र २०६४ को मधेश आन्दोलनको शक्ति जबरर्जस्त रुपले काम गर्यो । अहिले करिब त्यस्तै चमत्कारको आपेक्षा राउत नेतृत्वको पार्टीको गतिबिधिका पछाडि निहित देखिन्छ । त्यस्तो कुनै आन्दोलनको उदयको पृष्ठभुमि अहिले कायम छ त ? भन्ने पहिलो सवाल हो भने दोस्रो अहम् सवाल आफ्ना समर्थकका आशा र दावि अनुरूपको नेतृत्व क्षमता राउतले देखाउन सक्लान ?

अमेरिकामा रहँदा राउत त्यहाँ गैरआवासीय मधेशी संघका संस्थापक अध्यक्ष भए । उक्त संघले मधेस आन्दोलनको समयमा नैतिक रुपमा समर्थन र बिभिन्न सहयोग गरेको थियो । संगठनकर्ताको अनुभव हेर्दा यसको राम्रै पृष्ठभूमि देखिन्छ। २०७२ सालमा नयाँ संबिधानको मस्यौदासँगै सुरु भएको मधेश ताका वीरगन्जमा आन्दोलनकारीहरू नाका घरेर बसिहेको बेला पृथक मधेश राष्ट्रका अभियानकर्ताहरूले गाउँगाउँमा रात्रिकालीन बैठक र संगठनको इकाई निर्माणजस्ता गतिबिधि चलाईरहेको थियो । रणनीतिक रुपमा त्यतिबेला सफल रहेको उक्त प्रयोगले आशा र नाराहरू बाँडेको थियो । आम मधेसीजनको समग्र आन्दोलनको मुल तत्व वा आत्मा, ‘सार्वभौम नेपाल देशभित्र मधेसी पहिचानलाई सम्मनजनक रुपमा समाहित वा मुलप्रवाहकिरण गर्नु’ थियो “बेग्लै स्वतन्त्र राष्ट्र” आम मधेसीजनको माग वा चाहना कहिल्यै रहेन । मुल मधेश आन्दोलनको ध्येय नेपालीपनभित्र मधेसी तत्वको समावेशीकरण नै हो । यस्तोमा रणनीतिक रुपमा एक समय सफल रहेको राउतको प्रयोग र नारा यथार्थको धरातलमा मधेशीजनको चाहनासँग मेल नखाएको बुझेपछि नै आफ्नो पृथक मधेश राष्ट्रको आन्दोलनको सुरक्षित अवतरणमा राउतलाई हतार भएको थियो ।

राउतले आफ्नो पृथक्तावादी अभियान परित्याग गर्ने जानकारी २०७५ फागुन २४ नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै गराएको तत्कालीन पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारमाध्यमलाई जनाएका थिए । सरकारले गरेको वार्ता सफल भएकोले राउत नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र संविधानलाई स्वीकार्दै पृथक्तावादी अभियान परित्याग गर्न सहमत भएको जानकारी सार्वजनिक भयो । यहाँदेखी “युटर्न” भएका राउत अहिले जनमत पार्टीको लागि जनमत बढाउन चाहिरहेका छन् ।

अस्थिर ब्यक्तित्वका राउतको लागि यो जनमत पार्टीको धरातलले स्थिरता देला कि पुनः केही समयपछि उनी नयाँ जुक्तिसहित देखिनेछन् भन्ने जिज्ञासा पनि भेंटिन्छ । कुनै बेला “बैराग”मा लागेको भन्ने गेरुवा वस्त्र लगाएको आफ्नो तस्विरसहितको पुस्तक नै उनले प्रकाशित गरेका थिए । त्यसको केही समयपछि को अवतार थियो पृथकतावादी नारासहितको “स्वतन्त्र मधेश गठबन्धन” भनेर उनले एउटा अभियान लिएर देखा परे । पहिलोचोटी २८ भदौ २०७१ मा राउतलाई मोरङको रंगेलीबाट पक्रेर “राज्य विप्लव”को मुद्दा चलाइएको थियो । रौतहटबाट पक्राउ पारेका राउतउपर राज्यविरुद्ध सङ्गठित अपराध गरेको अभियोगमा मुद्दा चलाइएको थियो । राउत अनेक पटक पक्राउ पर्दै र छुट्दै आएका थिए । राउतको सो अभियानले मधेसी जनाधिकार फोरम नेपालबाट टुक्रिदै, नाम फेरिदै बनेका बिग्रेका पार्टी, नेपाल सद्भावना पार्टीको लिगेसीबाट फड्को मार्दै बनेका बिग्रेका पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी लगायतकालाई चुनौति दिदै आएको थियो ।

अघिल्लो स्थानीय तह निर्वाचनताका “कोठली से बाहर मतदान” नारा चलाएका राउतको तर्क थियो नेपालको संबिधान नमान्ने । अहिले भने राउत संबिधानको ब्यवस्था अनुसार एउटा राजनीतिक दल नै गठन गरेर सडकमा छन् । एउटा युटर्न यहाँनिर देखिन्छ । यसै बाटोमा राउतको यात्राले निरन्तरता पाउनेमा संसय राख्नेहरू पनि भेंटिन्छन् । राउतमा सम्भावना देख्नेहरूको पनि कमी छैन । मधेश आन्दालनको जगमा उदाएका दलहरू स्थानीय तहमा, प्रदेशमा र संघीय सरकारमा हुँदा गरेका गतिबिधिले आम जनमानसमा एक किसिमको बितृष्णा छ । उनीहरूले आपेक्षा अनुसार काम गर्न सकेनन । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा मओवादीजस्ता दलमाथि उहिले नै बिश्वास छोडिसकेका र मधेश आन्दोलनको जगमा उदाएका दलहरू उपर अब भरोसा गर्न नसक्ने एक खाले वर्ग छ मधेशमा।

राउतको लागि यसले गर्दा “स्पेस” बनेको देखिन्छ । उनले यस अवस्थालाई कसरी उपयोग गर्छन भन्ने कुरा राउतको क्षमतामा भर पर्छ । सरकारसँगको सम्झौतापछि, २०७५ चैत ५ गते सिरहाको लहानमा भएको दुई दिने बैठकबाट जनमत पार्टी घोषणा गरिएको थियो । ३५ सदस्यीय रहेको सो जनमत पार्टीबाट कैलाश महतोसहितका केन्द्रीय कार्य समितिका ८ सदस्य पछि बाहिरिएका थिए । संगठन बढाउन थालेको नयाँ पार्टीमा यस प्रकारले बिग्रहले कही न कही नेतृत्वको शैली र क्षमतामा नै प्रश्न उठाउँछ। राउतलाई पश्चिमा राष्ट्रहरूले नेपालमा प्रयोग गरेको आरोप लाग्दै आए पनि खासमा उनी नेकपा एमाले र सो पार्टीभित्र पनि अध्यक्ष केपी शर्मा ओलीसँग नजिक रहेको चर्चा अहिले छ । नेकपा एमालेको मधेस प्रदेशमा आगामी चुनावी साझेदारको रुपमा जनमत पार्टीलाई हेरिएको छ । काठमाडौंमा बसेर मधेसवादी चिन्तक वा मधेसी बौधिक वर्गको रुपमा आफुलाई चिनाउन सफल भएका केही ब्यक्तिहरू अहिले राउतलाई बैकल्पिक शक्ति भनेर चिनाउनमा हतार गरिरहेका छन् । जबकी एउटा नेता भएकोले राउत बैकल्पिक शक्ति हुन भने त्यो उनको राजनीतिक विचार, कार्यसूची, शैली र कार्यक्रमहरूबाट प्रष्टिनु पर्छ । “स्वतन्त्र मधेश”का गतिबिधि सञ्चालन गर्दै आएका सीके राउत मूलधारमा आउने सम्भावना पहिलादेखि थियो । अहिले भने उनले पार्टी नै दर्ता गराईसकेका छन् । सप्तरीमा जन्मिएका राउतको पूरा नाम चन्द्रकान्त राउत हो । क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका राउत सन् २०११ मा अमेरिकाबाट स्वदेश फर्केर स्वतन्त्र मधेशको अभियान सुरु गरेका थिए । बिश्वास गर्नेहरूको त्यो बिश्वास कायम राख्न र अरुको बिश्वास जित्दै जानु राउतको लागि चुनौति नै छ ।  

-आर त्रिपाठी

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img