संयुक्त संघर्ष समितिका कमान्डर तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं फरार भएका छन्। राजसंस्था पुनर्स्थापनाको माग राख्दै भएको आन्दोलनका क्रममा शुक्रवार दिउँसो काठमाडौँको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन भएको थियो भने दुई जनाको ज्यान गएको थियो। सो घटनापछि प्रसाईं फरार भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीले उनको खोजी कार्य तीव्र पारेको बताइएको छ।
प्रदर्शनका क्रममा स्थिति तनावपूर्ण बनेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सोही आन्दोलनमा संलग्न अन्य प्रमुख नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको राप्रपाका प्रवक्ताले पुष्टि गरेका छन्।
यसैगरी, ‘संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदी भने आफ्नै घरमा प्रहरीको नजरबन्दमा रहेको जानकारी प्राप्त भएको छ। राजावादी समूहले आयोजना गरेको यो आन्दोलनले काठमाडौँको सुरक्षा व्यवस्थामा थप चुनौती खडा गरेको छ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरेको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। आन्दोलनकारीहरूले राजसंस्थाको पुनर्स्थापना र गणतन्त्रको खारेजीको माग राख्दै आएका छन्। यता, सरकारले भने शान्ति–सुरक्षा कायम राख्न कुनै पनि अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्ने बताएको छ। सरकारले शनिवार विहान सम्मकालागी तिनकुने क्षेत्रमा कर्फ्यू लगाएको छ।
स्थानीयवासी र प्रत्यक्षदर्शीका अनुसार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा ठूलो संख्यामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। घटनाको थप विवरण आउन बाँकी छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया